Skip

News Portal

  • कहाँ पुर्‍याइन्छन् दिनहुँ १० बालबालिका ?

    कर्नालीसंचार संवाददाता२४ चैत्र
    १८३८ पटक
    २४ चैत्र

    काठमाडौं। गत साता महोत्तरीको भंगहा नगरपालिका–८ धर्मपुरका ७ बालिका/किशोरी हराएको भोलिपल्ट सीमावर्ती भारतीय बजार सीतामढीमा फेला परे । तर यसरी हराएका सबै बालबालिका फेला पर्दैनन् ।

    हराएका बालबालिकाको खोजतलासमा सक्रिय सरकारी निकाय राष्ट्रिय बालअधिकार परिषद्का अनुसार गत साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामा मात्रै २ हजार ३ सय ८८ बालबालिका हराएका छन् । तीमध्ये १ हजार १ सय ६९ बालबालिका अझै हराइरहेका छन् । यो तथ्यांकअनुसार दिनहुँ औसतमा झन्डै दस जना बालबालिका हराउँछन्, जसमध्ये करिब आधा फेला पर्दैनन् ।

    महोत्तरीको भंगहाका बालबालिका त संयोगले भेटिए तर प्रदेश २ बाटै साउनयताको ८ महिनामा ५ सय ३३ बालिकासहित ६ सय १२ बालबालिका हराएका छन् । परिषद्का अनुसार ७ प्रदेशमा सबैभन्दा धेरै बालबालिका हराउनेमा प्रदेश २ अगाडि छ, जहाँ अन्य प्रदेशको तुलनामा सबैभन्दा धेरै (८७ प्रतिशत) बालिका मात्रै छन् । हराएकामध्ये २ सय २१ बालिका भेटिए पनि ३ सय १२ को अत्तोपत्तो छैन ।

    प्रदेशगत तथ्यांक केलाउँदा प्रदेश २ पछि सबैभन्दा धेरै बालबालिका वाग्मती प्रदेशबाट हराएको देखिन्छ । वाग्मतीबाट ४ सय ५२ बालबालिका हराएका छन् भने प्रदेश १ बाट २ सय ९९, गण्डकीबाट ३ सय १०, लुम्बिनीबाट २ सय ८६, सुदूरपश्चिमबाट २ सय ३ र कर्णालीबाट १ सय २६ बालबालिका हराएका छन् ।

    सोमबार बालबालिका खोजतलास केन्द्रमा पुग्दा प्रशासन शाखाका कर्मचारी हराएका बालबालिकाको खोजीमा नेपाल टेलिभिजनमार्फत विज्ञापन गर्ने सूचनाको तयारीमा जुटेका थिए ।

    केन्द्रले मंगलबार बिहान नेपाल टेलिभिजनमार्फत बालबालिका हराएको सूचना प्रसारण गरिदिनका लागि हराएका १५ र ९ वर्षका बालक तथा १४ वर्षकी बालिकाको सूचना पठाउँदै थियो । जनकराज सापकाेटाले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्