भैरहवा । किसानको न्युनतम बचतको ग्यारेन्टी नगरे सम्म नेपालको कृषि ठिक ठाउँमा नआउने कृषिमन्त्री घनश्याम भुसालले बताएका छन् ।
मन्त्री भुसालले कृषीमा लागि सकेपछि किसानले आफु र आफ्नो परिवारले खान, बच्चा बच्ची पढाउन, स्वास्थ्य उपचार गर्न र कहिले काही मेला पर्व गर्न सक्ने गरि राज्यले किसानको संरक्षण गर्न सक्नुपर्ने जानकारी दिए ।
सिद्धार्थ जेसिजले शुक्रवार भैरहवामा आयोजना गरेको जेसिज सप्ताह पुरस्कार वितरण तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री भुसालले ५ जना व्यक्ति भएको किसानको परिवारको घरमा कम्तीमा ३२ हजार रुपैया प्रति महिना बचत हुने गरि राज्यले कृषीको योजना बनाउनु पर्ने बताए ।
मन्त्री भुसालका अनुसार आफु मन्त्री भएर आएपछि नेपालमा किसानको यथार्थ तथ्याङ निकालेर कृषकको न्युनतम बचत ग्यारेन्टी गर्ने गरि ब्यवस्था निर्माण गर्न मन्त्रालय लागिरहेको छ ।
मन्त्री भुसालले ३५ बर्ष पछि पहिलो पटक नेपालमा कृषी गणना हुने समेत जानकारी दिए । २१ हजार गणक देशभर पुगेर नेपालमा किसानको संख्या, कृषि बाली हुने क्षेत्र लगायत कृषी क्षेत्रको तथ्याङ संकलन गरिने भुसालले बताए ।
मन्त्री भुसालले कार्यक्रममा बोल्दै भैरहवामा ३५(४० अर्ब लगानी गरेर अन्तराष्ट्रिय बिमानस्थल संचालन भएपछि यस क्षेत्रको जनताको विकास अपरिहार्य रहेको बताए ।
बिमानस्थलको उपयोग भैरहवा क्षेत्रले गर्न सके मात्र यसले सार्थकता पाउने भुसालले जानकारी दिए । मन्त्री भुसालका अनुसार गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल बाट खाडीमा श्रमिक पठाउने मात्र काम नभएर यहाँको उत्पादन पठाउने तर्फ सोच्न सबैलाई आग्रह गरे ।
भुसालका अनुसार रुपन्देही लगायतका क्षेत्रमा तरकारी उत्पादनको संभावना राम्रो रहेकोले यहाँ उत्पादन भएको तरकारी बिमानस्थल मार्फत खाडी पठाउने योजना मन्त्रालयको रहेको छ ।
सिद्धार्थ जेसिज वर्ष २०२०/२१ को अध्यक्ष मंगल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ठ अतिथी संविधानसभा सदस्य आदित्य नारायण कसौधन, सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारी, जेसिआइ नेपाल बर्ष २०२०/२१ का राष्ट्रिय उपाध्यक्ष राकेश गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा जेसिज सप्ताहमा आयोजना भएका बिभिन्न कार्यक्रममा सहभागिता तथा बिजेता हरुलाई पुरस्कार बितरण तथा सम्मान गरिएको थियो ।
Discussion about this post