नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलका प्रमुख सचेतक देव गुरुङ विभाजित नेकपाको पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहका नेता हुन्। नेकपा नेताहरूको राजनीतिक लडाईं अहिले कानुनी लडाइँमा पुगेको छ। दाहाल-नेपाल समूहका तर्फबाट प्रतिनिधि सभा पुनर्स्थापनाका लागि गुरुङकै नेतृत्वमा सर्वोच्चमा रिट दायर भएको छ।
नेकपा एकीकृत हुँदा पार्टीको अन्तर्संघर्ष बढाउने एउटा विषय थियो- मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)। एमसिसीलाई संसद्बाट पारित गर्न नहुने पक्षमा उनले जोडदार लबिङ गरेका थिए। अहिले नेकपा दुई समूहमा विभाजित हुनु र प्रतिनिधि सभा विघटन हुनुको मूल कारण यसैलाई ठान्छन् उनी। गुरुङसँग गरेको कुराकानीको सारसंक्षेप:
नेकपाभित्रको र्संघर्ष कानुनी लडाईंमा पुग्यो। कानुनी लडाईं तपाईंहरुमध्ये एक पक्षले जित्ला, तर नेपालका कम्युनिस्टहरूले अब राजनीतिक लडाइँ हारेका हुन् भन्न मिल्छ?
कम्युनिस्टले हारेको रुपमा परिभाषित गर्न मिल्दैन। कम्युनिस्ट आन्दोलन वैचारिक आन्दोलन हो। यो विचार अहिलेसम्म विश्वमा विकास भएका विचारमध्ये सबैभन्दा पछिल्लो समय विकास भएको मार्क्सवादी विचार हो। यो विचार नै सबैभन्दा वैज्ञानिक विचार हो। वैज्ञानिक विचार हार्दैन। खाली त्यसलाई अंगीकार गरेर अगाडि बढ्ने आन्दोलनकर्मीमा कसैले बाटो छाड्न सक्छ, खुट्टा कमाउन सक्छ र बाटो बिराउन सक्छ। विचार सार्वभौम र वैज्ञानिक छ। समाज विकासको गतिलाई यसले ठिक ढंगले पक्रेको छ।
तपाईंहरूले कम्युनिस्टको सत्ता भएपछि देश समृद्ध बनाउँछौं, जनता सुखी हुन्छन् भन्ने सपना बाँड्नुभएको थियो। त्यो सपना त टुट्यो नि!
रातारात कायापलट भइहाल्ने भन्दा पनि यसलाई विकासक्रमका दृष्टिले हेर्नुपर्छ। हजारौं वर्षदेखि सामन्तवाद, सयौं वर्ष पहिले पुँजीवादको विकास भयो। पुँजीवादको प्रभुत्व पनि यथावत छ। विश्व साम्राज्यवादको स्तरमा पुँजीवाद छ। समाजवादी विचारको विकास भएको डेढ दुई सय वर्ष भएको छैन। सिंगो इतिहासमा त्यति धेरै लामो समय बितेको अवस्था होइन। यो नितान्त नवीनतम र नयाँ विचार हो। पुँजीवादको सयौं र हजारौं वर्षमा सामन्तवाद छ।
अहिले डेढ दुई सय वर्षको इतिहासमा विश्वको ठूलो हिस्सा यो विचारले प्रभावित हुँदै आइरहेको छ। यसकारणले अहिले नै ‘फाइट टू फिनिस’ भएर विश्वव्यापी प्रभाव जमाइसक्छ भन्ने होइन, ढिलो चाँडो यो विचार स्थापित हुन्छ। अन्ततोगत्वा समाजको विकासको आधारभूमि श्रमजीवी जनता हो। श्रमजीवी जनताकै राज्य कायम हुन्छन् भन्नेमा हामी विश्वस्त छौं। अहिले विकासको गतिको नियम पनि त्यही हो।
अहिले जनताको आँखामा दुईटा नेकपा छन्, सजिलो गरी भन्दा नेकपा सत्ताधारी र नेकपा सडकधारी। तपाईंहरू केपी ओलीलाई प्रतिगामी भन्दै हुनुहुन्छ भने ओलीले जनयुद्धलाई ‘कुहिएको फर्सी’ भन्ने संज्ञा दिनुभएको छ। यस्ता टिप्पणीले नेपालको कम्युनिस्ट आन्दोलन कहाँ पुर्याउँला?
पहिलो कुरा व्यक्ति–व्यक्तिले के आरोप-प्रत्यारोप गरे, शैली र प्रस्तुतितर्फ लाग्न जरुरी छैन। मुख्यतः कतातिर जाने भन्ने नै महत्वपूर्ण कुरा हो। अहिलेको दिशा भनेको पश्चगमन र अग्रमनको दिशा हो। पश्चगमन सामन्तवादी मूल्यमान्यता अनुसार जाने हो। जसको नेतृत्व विगतमा राजा, राणा र पञ्चले गरे। अर्को अग्रमनको दिशा समाजवादको हो। दुईटा दिशाको बीचमा गणतन्त्र स्थापना भएको छ। यो पुँजीवादी प्रणाली नै हो तर सहमतिको आधारमा लोकतान्त्रिक गणतन्त्र स्थापित भएको हो। यसलाई अर्को शब्दमा यथास्थितिको प्रणाली भनौं। यो समेत जोड्दा तीनवटा दिशा सिर्जना भएको छ।
कम्युनिस्ट आन्दोलन मार्क्सवादी फिलोसपीलाई मान्दै समाजवादी बाटोतर्फ अघि बढ्नुपर्ने हो। समाजवादको दिशामा अघि बढ्नुपर्ने बेला प्रधानमन्त्री केपी शर्मा ओली घोर पश्चगामी र प्रतिगामी दिशामा लाग्नुभयो। पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभयो। प्रतिनिधिसभा विघटन गर्नुको तात्पर्य भनेको संविधानको मुटुमा प्रहार गर्नु हो।
प्रतिनिधि सभा विघटन गर्दा संविधानका अधिकांश धारा र उपधारा तथा ऐन-कानुन निष्क्रिय हुन्छन्। संविधान संघीय लोकतान्त्रिक गणतान्त्रिक हो। गणतन्त्रात्मक संविधानलाई क्षयीकरण गर्ने जुन प्रकारको दिशा लिनुभयो, त्यसले पुग्ने ठाउँ भनेको प्रतिगमन र पश्चगमन नै हो।
सडकमा जसरी राजावादीहरु हिन्दू राष्ट्रको कुरा उठाइरहेका छन्, धर्म निरपेक्षता, संघीय गणतन्त्र आदिका विषयमा कुरा उठाइरहेका छन्। उनीहरु पुरानै संवैधानिक राजतन्त्रात्मक प्रणालीतर्फतर्फ जसरी लाने प्रयास भइरहेको छ। प्रधानमन्त्री ओली पनि त्यतैतिर देशलाई लैजान लाग्नुभयो। यो बाटो पश्चगामी बाटो हो। विचारको आधारमा हेर्ने हो। को व्यक्ति कता लाग्छ? भनेर अनुहार हेर्ने बेला होइन यो।
अहिलेको समयमा समाजवादको दिशामा अघि बढ्नुपर्छ भनेर तीन वर्षअघि पार्टी एकता गरियो। अहिले दलाल पुँजीवादको एकाधिकार छ। यो एकाधिकार पुँजीवादले साम्राज्यवादतर्फ लैजान्छ। त्यसकारण यो प्रणालीलाई मौलिक रुपमा आमूल परिवर्तन गरेर राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्दै, समाजवादउन्मुख अर्थतन्त्रको जग तयार गर्नुपर्छ भनिएको थियो। समाजवादको बाटो त त्यो हो। उहाँले त्यो दिशामा लैजान सक्नुभएन। एकाधिकार दलाल पुँजीवादलाई संरक्षण र पक्षपोषण गर्नुभयो। त्यसले राजनीतिक प्रणालीमा हान्छ। समाजवादतर्फ पनि जान नदिने, यथास्थिति संघीय गणतन्त्रमा पनि टिक्न नदिने र जाने कता भने पश्चगामीतर्फ लैजाने।
एकाधिकार पुँजीवाद सर्वसत्तावाद हो। विश्वव्यापी प्रभुत्व कायम राख्ने साम्राज्यवादी फिलोसपी हो। त्यसले कुनै पनि लोकतान्त्रिक अधिकारलाई स्थापित गर्न दिँदैन। नेपाल पनि त्यो दिशातर्फ गइरहेको छ।
# nepal live
Discussion about this post