Skip

News Portal

  • चिया दिवश र बिश्व इतिहास

    कर्नालीसंचार संवाददाता१५ बैशाख
    १८१ पटक
    १५ बैशाख

    काठमाडौ । चियाको उत्पत्ति कसरी भयो भन्नेबारे केही किंवदन्तीहरू पाइन्छन् । ५ हजार वर्षअगाडि चीनका एक सम्राट शेन नुंग जो जडीबुटीबारे पनि राम्रो ज्ञान राख्दथे । एक दिन जंगलमा उनका नोकरचाकरले पिउने पानी उमालिरहँदा नजिकैको रुखबाट केही पातहरू पानीमा झर्छन् । उनले पातसहित पानी उमाल्न अह्राए । त्यसरी उमालिएको पानि पिउँदा मजाको स्वाद आयो । त्यसपछि त्यही पात मिसाएर तातोपानी पिउन थालेको इतिहास छ ।
    कालान्तरमा गएर त्यही नै चिया बन्न पुग्यो ।

    भारतबाट बुद्ध धर्म प्रचार गर्न चीन पुगेका बोधीधर्मले ध्यानमा बस्दा वा प्रार्थना गर्दा प्राय: जागा बस्नुपर्ने हुँदा चपाइने गरेको पातलाई नै उमालेर पिउने चलन चल्यो । त्यसैलाई पछि चिया भन्न थालियो । चिया पकाउन प्रयोग गरिने भाँडाकुँडाहरू हान राजवंश (२०६ बि.सी. –२२० ए.डी.) ताका नै प्रयोग गरेको देखिए तापनि यसको व्यवस्थित प्रयोग भने ट्याङ्ग राजवंश (९०६ ए.डी.) ताका भएको देखिन्छ ।
    चियाबारे विश्वमा हजारौँ पुस्तकहरू लेखिएका छन् । विद्यालयका पाठ्यपुस्तकहरूमा पनि यसबारे विभिन्न प्रकारका कथाहरू समावेश गरिएको छ । सबैभन्दा पहिला सन् ७६०/६२ को हाराहारीमा एक चाइनिज लेखक लु युले पूरै पुस्तक चियाबारे लेखेका थिए । ChÚa  Zing अर्थात् The Classic of Tea पुस्तकको मूल ग्रन्थ हराएर पछि मिङ वंशको पालामा पुनर्लेखन भएको थियो । यो पुस्तकमा चियाको उत्पत्ति, रोप्ने टिप्नेदेखि पिउँदासम्म प्रयोग गर्ने १५ भाँडाकुँडाहरू, बनाउने, पिउने तरिका, पाइने स्थान, इतिहास सबैको सविस्तार व्याख्या गरिएको छ ।
    कप अफ टी, टी विथ मुसोलिनी, टि एन्ड बिस्केट, द टेस्ट अफ टी, द टाइगर हु केम टु टीजस्ता अति चलेका सहित सयौँ सङ्ख्यामा फिल्महरूको नामकरण गरिएको पाइन्छ ।
    चीनमा जन्मेको चिया युरोपमा हुर्के-बढेको देखिन्छ । पोर्चुगिज साम्राज्य इस्टइन्डिया पुगेको थियो । त्यहाँबाट फर्किंदा धेरैले चियाको पात पनि ल्याएको इतिहास भेटिन्छ । पहिलोपटक ठूलो मात्रामा जहाजबाटै सन् १६०६ मा जाभा महाद्वीप हुँदै हल्यान्डमा चीनबाट चिया ल्याएको थियो । त्यसपछि जर्मनीमा चियाको चर्चा बढ्न थाल्यो । अति महँगो भएकाले यो उपल्लो धनाढ्य परिवारले मात्र प्रयोग गर्न सकिने पेय पदार्थ बन्यो ।
    लन्डनमा पहिलोपटक सन् १६५२ मा कफी हाउस खुल्यो जहाँ चिया पनि बेचिन्छ भनेर सन् १६५८ सेप्टेम्बरमा एक स्थानीय पत्रिका Mercurius Politicus मा यसरी विज्ञापन गरेको थियो: ‘China Drink, called by the Chinese, Tcha, by other Nations Tay allies Tea.’
    अहिले चियाको खेती ५२ देशमा हुन्छ । सबैभन्दा पुरानो चियाको बोट चाइनामा पाइएको र त्यसको उमेर ३२ सय वर्ष भएको अनुमान गरिन्छ । बेलायतमा भिक्टोरियाको पालासम्म चियालाई ‘Tay’ भन्ने चलन थियो ।
    केही समयपछि बेलायतका राजा चार्ल्स दोस्रोको विवाह पोर्तुगलका राजकुमारी क्याथरिनसँग भयो । उनी चियाको अम्मलीजस्तै भइसकेकी थिइन् । त्यसैले बेलायतको दरबारलगायत ठूला बडाको घरमा चियाको चलन चल्न थाल्यो । बेलायतले सन् १६६४ मा पहिलो पटक करिब ४५ किलो चियाको पात जाभा हुँदै भित्र्याएको थियो । इस्ट इन्डिया कम्पनीले त्यसपछि नियमित रूपमा चिया पठाउन थाल्यो तर त्यति बेला चियामाथि अति धेरै सरकारी शुल्क लगाउने हुँदा सामान्य मानिसले प्रयोग गर्न सक्दैनथे ।
    विस्तारै पटक-पटक गरी शुल्क घटाउँदै जाँदा सन् १९६४ मात्रै पूर्ण रूपमा शुल्क हटाइएको थियो । यसबीचमा वैधानिक रूपमा भन्दा अवैध रूपमा धेरै मात्रामा चियापत्ती बेलायत भित्रिन्थ्यो । लुकीछिपी चियाको बिक्रीवितरण हुन्थ्यो ।सन् १८३४ अगाडि सबै चिया चीनबाट ल्याइन्थ्यो । तर, त्यसपछि भारतले पनि उत्पादन गर्न थालेपछि आफ्नै कब्जामा रहेकोले जती सक्यो त्यति चिया भारतबाट बेलायत पुग्न थाल्यो ।
    संयुक्त राष्ट्र संघको खाद्य र कृषि संगठन (FAO) ले २१ डिसेम्बर सन् २०१९ मा अर्को वर्षको मे २१ देखि अन्तर्राष्ट्रिय रूपमा चिया दिवस मनाउने प्रस्ताव पास गर्‍यो । तर, प्राय: चिया उत्पादन गर्ने मुलुकहरू भारत, श्रीलंका, नेपाल, भियतनाम, इन्डोनेसिया, बंगलादेश, केन्या, मलावी, मलेसिया, युगान्डा, तान्जानियालगायतका देशहरूमा सन् २००५ देखि हरेक वर्ष डिसेम्बर १५ का दिन चिया दिवस मनाइँदै आएको थियो । पहिलो पटक सन् २००५ मा नयाँ दिल्लीमा चिया दिवस मनाइएको थियो ।
    यो अभियान थालनी गर्ने मुख्य योजनाकारहरूमा श्रीलंकाका पी मिथुलिंघम, एम सुब्बु, ओ ए रमइहा, शतड्रु चौधरीलगायतका केही व्यक्तिहरू थिए । भारत सरकारले औपचारिक रूपमा सन् २०१५ मा इटालीको मिलानमा भएको FAO को Intergovernmental Group को भेलामा अन्तर्राष्ट्रिय रूपमा नै चिया दिवस मनाउनुपर्ने प्रस्ताव पेस गरेको थियो । कोरोना महामारीका कारण पहिलो अन्तर्राष्ट्रिय चिया दिवसको उद्घाटन FAO का डाइरेक्टर जनरल QU Dongyu ले अनलाइनबाटै गरेका थिए ।
    चिया क्यामेलिया सिनेसिस प्रजातिको बिरुवा हो । संसारमा पानीपछि सबैभन्दा बढी प्रयोग गर्ने पेय पदार्थ चिया नै हो । चियामा स्वाथ्यका लागि चाहिने धेरै प्रकारका जैविक तत्त्वहरू पाइन्छन् । तीमध्ये मुख्य Polyphenols, Amino Acids, Enzymes, Pigments, Carbohydrates, Methylxantines, Minerals, Volatiles हुन् । चियामा २८ प्रकारका त मिनरल्स मात्रै पाइन्छ भने शरीरलाई उत्तेजना गर्ने विशेष क्याफिन पनि पाइन्छ । कफीमा भन्दा कम क्याफिन कालो चियामा पाइन्छ भने हरियो र सेतो चियामा कालो चियाभन्दा कम पाइन्छ ।
    मुख्यतः चिया Black, Green,Oolong, White, Yellow र Pu–erh गरी छ प्रकारको पाइन्छ । यसमा थप स्वादका लागि विभिन्न प्रकारका फल, फूल, जडीबुटी मिसाउने गरिन्छ । अर्ल ग्रे, जासमिन, मसला स्वादका चियाहरू बढी प्रचलनमा आएको देखिन्छ ।
    सुरुमा चिया पानीमा मात्रै मिसाएर पिउने चलन थियो । सत्रौँ शताब्दीतिर मात्रै चिया पिउने चाइना कप तातो पानीले मात्रै चर्किने भएको हुँदा त्यसलाई अलि सेलाउन दूध थपियो भनेको पाइन्छ । युरोपमा पहिलो पटक १६५५ तिर एक जर्मनी पर्यटक Jean Nieuhoff ले चियाको तितोपनलाई कम गर्न दूध थपेका हुन् पनि भनिन्छ । चियालाई मीठो बनाउन चिनी थपिएको विषय त विवादित नहोला नै ! अहिले पनि विकसित देशहरूमा हामीले जसरी चिया, चिनी, दूध बेस्सरी उमालेर बनाउने चलन छैन । काममा साथीभाइहरूलाई कहिलेकाहीँ नेपाली चिया भनेर चखाउने गरेको छु । तर, प्रायः धेरैले चिया पिउने भन्दा नेपाली चियाचाहिँ होइन है भन्छन् । हामीलाई भने त्यही बाक्लो चियामा बानी बसेको छ ।
    अहिले चियाको खेती ५२ देशमा हुन्छ । सबैभन्दा पुरानो चियाको बोट चाइनामा पाइएको र त्यसको उमेर ३२ सय वर्ष भएको अनुमान गरिन्छ । बेलायतमा भिक्टोरियाको पालासम्म चियालाई ‘Tay’ भन्ने चलन थियो । चिया राखिने भण्डारको चाबी काम गर्नेहरूले हिनामिना गर्लान् भनेर महारानीहरू आफैँले लकेट बनाएर घाँटीमा लगाउने चलन थियो । त्यति बेला उच्च ट्याक्सका कारण १२५ ग्राम चियाको झण्डै २ सय पाउण्ड तिर्नुपर्थ्यो । सन् १८३१ मा Twinings कम्पनीले तत्कालीन प्रधानमन्त्रीका लागि एक विशेष चिया उत्पादन गरेको थियो । त्यो चियाको नाम नै सोही प्रधानमन्त्रीको थियो अर्ल ग्रे (Earl Gray) ।
    बेलायतको पहिलो चिया कम्पनीको नाम सन् १७०७ मा Thomas ले आफ्नो जात Twinings बाट नामकरण गरेका थिए । जुन अहिलेसम्म पनि चलिरहेको छ ।
    बेलायतले पहिलो पटक सन् १९९९ मा कर्नवाल Truro नजिकै Tregothnan बगैँचामा रोपेर सन् २००५ मा आफ्नै माटोमा चिया उत्पादन गरेको थियो ।
    ३० मार्च २०२१ को पछिल्लो तथ्यांकअनुसार बेलायतमा चल्ने चियामध्ये सबैभन्दा बढी २६.२ प्रतिशतले मन पराउने Yorkshire Tea हो भने २६.१ प्रतिशतले PG Tips र तेस्रो स्थानमा Tetley १३. २ प्रतिशतले मन पराएको देखिन्छ । बेलायती महारानीलाई मन पर्ने चियाचाहिँ Twinings को Earl Grey मा थोरै दूध बिनाचिनी तर केही बिस्कुटसँग पिउने कुरा दरबारका पहिलाका सेफ डारेन् म्याक ग्र्याडीले बताएका छन् । त्यसैले रानीको ९०औँ वर्षगाँठमा यो चिया कम्पनीले रानीको नाममा एक विशेष चिया प्याकेट बजारमा ल्याएको थियो ।
    सन् २००० देखि २०२० सम्म हेर्दा बेलायतले सबैभन्दा बढी चिया सन् २०१७ मा झण्डै ३१४ मिलियन पाउण्डबराबरको भित्र्याएको देखिन्छ । त्यो सन् २०२० मा झरेर २७१ मिलियन हुन पुग्यो । यो सन् २००० मा २०० मिलियनभन्दा अलिकति बढी थियो । २० वर्षमा वार्षिक औसत झण्डै २३५ मिलियन पाउन्डमा चिया निर्यात गरेको देखिन्छ । सबैभन्दा कम २००५ मा १५१.५ मिलियनको मात्र चिया निर्यात गरेको देखिन्छ ।
    भारतीयहरूको संलग्नतामा मात्रै स्थापित भएको पहिलो चिया उद्योग दार्जिलिङको मकैबारी चियाबारी हो । सन् १८५९ मा गिरिशचन्द्र बनर्जीले खोलेको यो चियाबारीमा नै संसारमै पहिलोपल्ट मेसिन जडान गरिएको थियो । यो चियाबारीमा उत्पादन हुने चिया संसारभरि अहिलेसम्म पनि धेरै प्रचलित छ ।
    मूल्यका आधारमा सबैभन्दा महँगो चिया चाइनाको Wuyi Mountains, Fujian प्रदेशमा पाइने Da Hong Pao हो । १००० ग्राम चियाको नै १.२ मिलियन डलर अर्थात् झण्डै १५ करोड नेरु पर्छ । सन् १९३० मा स्थापना भएको PG Tips चियाको ७५औँ वार्षिकोत्सव मनाउँदा सन् २००५ मा Boodles Jewellers ले बनाएको हीरा जडित चियाब्याग अहिलेसम्मकै महँगो सावित भएको छ । यसमा प्रयोग गरिएको चिया मकैबारी चिया बगानमा उत्पादन भएको थियो । यो चियाब्याग एउटा च्यारिटी कार्यक्रममा ७ हजार पाउन्ड (झण्डै साढे एघार लाख रूपैयाँ) मा बिक्री भएको थियो ।
    चियाको चुस्की लिँदै विगत र आगतबारे गम्दै वर्तमानमा हल्लँदै धेरै सम्झनाहरू फुकाल्ने बहाना भएको छ । चियाको उत्पत्तिकथा, यसको विकासक्रम र अमरताबारे सोच्दा पनि अचम्म लागेर आउँछ ।
    संसारमा सबैभन्दा बढी चिया उत्पादन गर्नेमा चीन (२२ लाख ३० हजार टन) अगाडि छ । त्यसैगरी, दोस्रोमा भारत (करिब १३ लाख टन) र तेस्रोमा केन्या (करिब ४ लाख टन) पर्दछन् । सन् २०१८ को एक तथ्याङ्कअनुसार बेलायतमा प्रतिदिन १६५ मिलियन (१६ करोड ५० लाख) कप चिया पिइन्छ ।
    त्यस्तै, प्रतिव्यक्ति सबैभन्दा बढी चिया पिउने देश आयरल्यान्ड हो भने दोस्रोमा बेलायत पर्दछ । बेलायतमा ९८ प्रतिशत मानिसले चियामा दूध हाल्छन् भने ९६ प्रतिशतले टि–ब्याग प्रयोग गर्छन् । बेलायतमा मात्रै १५ सय भन्दा बढी परिकारका चिया उपलब्ध छन् ।
    अहिले प्रयोगमा आएको टि–ब्यागको उत्पत्तिको कथा पनि रमाइलो नै छ । न्यूयोर्कका चिया र कफी व्यापारी थोमस सुलिभानले आफ्ना संसारभरिका ग्राहकहरूलाई ससानो मात्रामा चिया पठाउँदा पनि टिनको भाडा प्रयोग गर्न पर्ने हुँदा खर्च बचाउन ससाना पोका मलमलको कपडामा बेरेर पठाउन थाले ।
    ग्राहकहरूले चियापत्ती ननिकालीकन कपडासहित तातो पानीमा हालेर रंग निकाल्ने होला भनेर त्यसै गरी प्रयोग हुन थाल्यो । यो करिब सन् १९०८ तिरको कुरा थियो । अमेरिकामा नै २४ मार्च १९०३ मा R. G. LAWSON र M. McLAREN ले चियाको पात पोका पार्ने र त्यही पोका पानीमा हालेर रङ निकाल्ने प्याटेन्ट Tea–leaf holder अधिकारका लागि दिएको निवेदन स्वीकृत भइसकेको थियो ।
    पहिलो पटक सन् १९२९ मा जर्मनका Adolf Rambold ले Teekanne चिया कम्पनीका लागि टि–ब्यागमा चिया बनाउने कम्पनी सञ्चालन गरेका थिए । बेलायतमा भने यसको प्रयोग सन् १९५० तिर सुरु भए पनि Tetly चिया कम्पनीले सन् १९५३ देखि मात्र प्रयोगमा ल्यायो र त्यसपछि अन्य कम्पनीहरूले पनि सुरु गर्न थाले । ७० को दशकसम्म ३ प्रतिशतले मात्रै टि–ब्याग प्रयोग गरेका थिए भने सन् २००७ सम्म आएर यो संख्या ९६ प्रतिशत पुगेको छ ।
    चिया केवल स्वस्थ पेय पदार्थ मात्रै होइन, यो संसारभरका मानिसहरूको एउटा संस्कार नै बनिसकेको छ । उत्पादन प्रक्रियामा संलग्न हुनेहरूका लागि जीवनयापनको माध्यम बन्न पुगेको चिया उपभोग गर्नेहरूले कला, साहित्य, संगीत, सिद्धान्तलगायत विविध क्षेत्रको आधारभूत विषय पनि बनाइसकेका छन् ।
    धेरै लामो विरासत बोकेको चिया प्रवृत्तिलाई अझ निरन्तरता दिन यससँग सम्बन्धित विषयमा देखापर्ने समस्याहरूलाई सामूहिक रूपमा समाधान गर्दै जानुपर्दछ ।
    संसारभरि नै चियाका बगानहरूमा काम गर्ने मजदुरहरूको अवस्था अहिलेसम्म पनि सन्तोषजनक छैन । प्राय:जसो अविकसित र विकासोन्मुख देशहरूमा चियाखेती हुने गर्दछ । यो समस्यालाई अन्तर्राष्ट्रिय रूपमा आत्मसात् गर्न होस् र सामूहिक रूपमा समस्याहरू समाधान गर्न सकियोस् भनेर संयुक्त राष्ट्र संघले सन् २०२० देखि मे २१ को दिन अन्तर्राष्ट्रिय चिया दिवस घोषणा गर्‍यो ।

    प्रतिकृया दिनुहोस्