काठमाडौँ । मिसेस नेपाल वर्ल्ड २०२५ का चर्चित प्रतिस्पर्धी मध्ये एक हुन् बिध्या चौहान । रामेछापको विकट गाउँ फूलासीमा जन्मिएकी उनी अहिले केवल प्रतिस्पर्धी मात्र होइन, महिला नेतृत्व र उद्यमशीलताको उदाहरणका रूपमा चिनिँदै गएकी छन्।
शिक्षाले नर्स भएता पनि चौहान पारिवारिक व्यवसाय भवानी ग्रुपको नेतृत्वमा ३० वर्षको उमेरमै स्थापित व्यवसायी हुन्। उनका अनुसार संस्थाले हाल तीन हजारभन्दा बढी युवालाई रोजगारी प्रदान गरेको छ। घरेलु उद्यम विस्तार र रोजगारी सिर्जनामा दिँदै आएको योगदानका कारण उनी युवा महिला उद्यमीको प्रतिनिधि स्वरूप स्थापित हुँदै गएकी छन्।
प्रतियोगितामा सहभागी हुन पाएको अनुभवबारे बोल्दै चौहानले भनिन्, “मिसेस नेपाल वर्ल्ड प्रतिस्पर्धा मेरो लागि केवल सौन्दर्य प्रतियोगिता होइन, आत्मपहिचान र सिकाइको यात्रा हो। हार–जित प्रतिस्पर्धाको सामान्य प्रक्रिया हो। तर, यसले दिएको दृष्टिकोण र सिकाइले मलाई अझ तयार बनाएको छ।” उनले परिवार, व्यवसाय र सामाजिक संलग्नता बीच सन्तुलन राख्दै महिलाको भूमिका घर–परिवारमा मात्र सीमित नहुने स्पष्ट सन्देश दिएको पाइएको छ। चौहानका अनुसार, प्रतियोगितामा सहभागी हुन श्रीमान भवानी ओझा र परिवारको प्रोत्साहन सबैभन्दा ठूलो आधार बनेको छ। मिसेस नेपाल वर्ल्ड २०२५ को ग्रान्ड फिनाले कात्तिक २९ गते काठमाडौँको महेन्द्र पुलिस क्लबमा आयोजना हुँदैछ।
फाइनल चरणमा प्रवेश गरेसँगै चौहान हाल तयारी तीव्र बनाउँदैछिन्। विशेषज्ञहरूको मूल्यांकनमा चौहान जस्ता युवा प्रतिभाले नेपाली समाजमा महिला नेतृत्व, उद्यमशीलता र सामाजिक उत्तरदायित्वका विषयलाई सार्वजनिक बहसमा ल्याउन भूमिका खेलेका छन्।
ग्रामीण क्षेत्रमा जन्मिएर व्यवसायिक तथा सामाजिक क्षेत्रसम्मको उनको यात्रा धेरै महिला र युवाका लागि प्रेरणास्रोत मानिन्छ। फूलासीको साधारण परिवेशबाट सुरु भएको बिध्या चौहानको जीवनयात्रा आज राष्ट्रिय स्तरको प्रतिस्पर्धासम्म आइपुगेको छ।




















Discussion about this post