कालीकोट । पचालझरना गाउँ पालिकामा बाख्रा वितरण गरिएको छ । पचालझरना गाउँ पालिकाको पशु विकास शाखाको सहयोग तथा हिमचुली कृषि सहकारी संस्था लि.को समन्वयमा २५ जना कृषकलाई बाख्रा वितरण गरिएको हो । संस्थाका २५ जना शेयर सदस्यहरुलाई ४ वटा बाख्राका दरले एक सय बाख्रा वितरण गरिएको सहकारी संस्थाका पचालझरना सेवा केन्द्र व्यवस्थापक पुष्प प्रसाद उपाध्यायले बताएका छन । उनका अनुसार पचालझरना गाउँ पालिकाको वडा न.९ कोटिलाका कृषकहरुलाई जिविकोपार्जन सुधार गर्न बाख्रा वितरण गरिएको बताए ।
आज आइतवार एक कार्यक्रमका विच बाख्रा वितरण कार्यक्रममा पचालझरना गाउँ पालिका वडा न.९का वडा अध्यक्ष ललितजंग शाही, हिमचुली कृषि सहकारीका अध्यक्ष सरोज बोगटी, पशु विकास शाखा प्रमुख विरेन्द्र बहादुर बम र संस्थाकी उपाध्यक्ष दमिला शाहीको उपस्थितिमा बाख्रा वितरण गरिएको जनाइएको छ । यस अघि छनोटमा परेका कृषकहरुलाई उन्नत सुधारिएको खोर, बाख्रा र बाख्रा पालनका लागि गर्नु पर्ने कामको बारेमा तालिम तथा घांसको विउ समेत व्यवस्थापन गरिने भएकाले बाख्रा पालन कार्यक्रममा सहभागि सबै कृषकहरुले उचित ढंगले बाख्रा पालन गर्न अनुरोध गरिएको थियो ।
बाख्रा वितरण कार्यक्रममा बोल्दै पशु शाखा पचालझरनाका प्रमुख विरेन्द्र बहादुर बमले पचालझरना गाउँ पालिकाको वडा न. ३ खार्दु, वडा न.५ बांझकोट र वडा न.९ कोटिलामा गरी ७५ लाख लगानिमा बाख्रा कार्यक्रम शुरु गरिएको बताएका छन ।
सहकारी तथा सदस्यहरुको ३० प्रतिशत स्वलगानि र पशु विकास शाखाको ७५ प्रतिशत गरी ३२ लाखको लगानिमा खोर, घांसको विउ, शिक्षा तथा तालिम र सार्वजनिकरण कार्यक्रम गरिने जनाइएको छ ।
पचालझरना गाउँ पालिकाले यस अघि भेडा तथा बाख्रा पालन गर्ने कृषकहरुलाई गोठालो भत्ता दिदै आएको थियो । पचालझरना गाउँ पालिकामा व्यापक मात्रामा वनजंगल भएकाले बाख्रा पालन कार्यक्रम प्रभावकारी रुपमा अघि बढाउनु पर्नेमा जोड दिदै आएको बताइएको छ ।