कालीकोट । पचालझरना गाउँपालिकाको कोटिलामा पशु स्वस्थ्य शिविर संचालन गरिएको छ । पचालझरना गाउँ पालिका पशु शाखाको सहयोग र हिमचुली कृषि सहकारी संस्था लि. पचालझरना सेवा केन्द्रको आयोजनामा वडा नम्बर ९ कोटिलामा एक दिने पशु स्वास्थ्य शिविर तथा कृषकहरुलाई घाँसको बिउ बितरण गरिएको छ । पशु शाखा प्रमुख वीरेन्द्र बहादुर बमको उपस्थितिमा शिविर कार्यक्रम संचालन गरिएको हो । 
पचालझरना सेवा केन्द्रका व्यवस्थापक पुष्प प्रसाद उपाध्यायका अनुसार कोटिलाका कृषकहरुलाई यस अघि जिविकोपार्जन सुधारका लागि बाख्रा वितरण गरिएकोमा आज घाँसको विउ सहित पशु चौपायालाई लाग्ने रोग र निदान सम्बन्धि शिविर गरिएको हो । पचालझरना गाउँ पालिकाको सहयोगमा वडा नम्बर ३को खार्दु, वडा नम्बर ५को बांझकोट र वडा नम्बर ९को कोटिलामा ७५ जनालाई बाख्रा वितरण गरिएको हो ।
पशु शाखा प्रमुख बीरेन्द्र बहादुर बमले पशु शाखाले निरन्तर रुपमा बाख्रा कार्यक्रममा सहयोग गर्दै आएको छ । पचालझरना गाउँ पालिकामा पशुचौपाया पालन क्षेत्र भएकाले यस अघि गोठालो भत्ता दिदै आएको थियो । सो जिविकोपार्जन कार्यक्रमको अषाढ १५ गते सार्वजनिक सुनुवाई गरिने भएको संस्थाले जनाएको छ ।