लगानि क्षेत्र बन्द हुंदा बैंकमा तरलता बढ्यो

7
SHARES
15
VIEWS

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोक्न लगाइएको बन्दाबन्दीका कारण अर्थतन्त्रमा नयाँ लगानीको विस्तार सुस्त भएको छ। लगानीका लागि ऋण माग्न जाने ह्वात्तै घटेपछि बैंकहरुमा रकम थुप्रिन थालेको छ । बन्दाबन्दीको साढे तीन महीनाको अवधिमा बैंकमा करीब रु.१ खर्ब ३५ अर्बजति निक्षेप थपिएको छ भने ऋण करीब रु.३५ अर्बले घटेको छ।

गत चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले करीब रु.२८ खर्ब ४५ अर्ब ऋण प्रवाह गरेका थिए । तर, चैत यता ऋण रकम झन् घटेको छ । अहिले वाणिज्य बैंकहरुको कुल कर्जा लगानी रु.२८ खर्ब १० अर्बको हाराहारीमा ओर्लिएको छ । जबकि, यही अवधिमा बैंकको निक्षेपमा भने व्यापक सुधार भएको छ । अहिले बैंकहरुमा रु.३३ खर्ब २५ अर्ब निक्षेप छ । जुन, गत चैत मसान्तमा रु.३१ खर्ब ९० अर्बजति थियो।

अहिले बैंकसँग ऋणयोग्य लगानी रकम झण्डै पौने दुई खर्बजति थुप्रिएको छ । व्यवसाय विस्तारको योजना बनाइरहेका तथा नयाँ लगानीको अवसर खोजिरहेका व्यवसायीहरुले लगानी योजनालाई स्थगित गर्दा बैंक ऋण प्रवाह हुन सकेको छैन । अर्थतन्त्रको अधिकांश क्रियाकलाप सुस्ताएकाले बैंक ऋणको मागमा चाप छैन।

पछिल्ला वर्षहरुमा ऋणको माग अत्यधिक धेरै तर निक्षेप कम हुँदा तरलता अभावको सामना गर्दै आएका थिए । अर्थात, बैंकहरुसँग ऋणीले मागेजति ऋण दिने क्षमता नै थिएन । अहिले भने बैंकहरुमा ऋण दिने रकमको थुप्रो लागेको छ, तर ऋण माग्न आउने छैनन्।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी वाणिज्य ब्यांकहरुको औसत पुँजी–कर्जा–निक्षेप अनुपात (सीसीडी रेसियो) ७१ प्रतिशतमा ओर्लिएको बताउँछन्।

लगानीयोग्य तरलताको अभावका बेला बैंकहरुको पुँजी–कर्जा–निक्षेप अनुपात ८० प्रतिशतको सीमा पुग्छ । वर्षान्तमा सरकारी खर्च भुक्तानी बढेको तथा बाह्य ऋण परिचालन पनि बढेकाले बैंकहरुको निक्षेपमा सुधार आएको हो । तर, त्यसको अनुपातमा ऋण प्रवाह हुन सकेको छैन।

लगानीयोग्य पुँजी निस्क्रिय भएर थुप्रिंदा ब्यांकहरुको नाफामा असर पर्छ । निक्षेपको ब्याजमा खर्च गरिरहनुपर्ने तर ऋण प्रवाह नहुँदा उनीहरुको आम्दानी घट्छ । त्यसैकारण, बैंकरहरुले राष्ट्र बैंकले बैंकहरुसँग भएको अधिक तरलतालाई ब्याज दिएर खिचिदिनुपर्ने माग गर्दै आएका छन्।

नाफामा असर पर्नेभएपछि बैंकहरुले निक्षेपको ब्याजदर घटाउने तयारी थालिसकेका छन्। नेपाल बैंकर्स संघमा भएको छलफलमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरु निक्षेप ब्याजदरका विषयमा लचक हुँदै बैंकआफ्नै स्वविवेक प्रयोग गर्न सहमत भएका छन्। यसअघि ब्याजदरका विषयमा बैंकर्स एशोसिएसनले भद्र सहमतिका नाममा अघोषित बन्देज लगाएका थिए।

ऋण प्रवाह नभएर लागत बढी परेका कारण ब्यांकरहरु निक्षेपको ब्याजदर घटाउने योजनामा छन् । अहिले औसतमा संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशत र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ८.२५ प्रतिशत छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित