सुरक्षाका दृष्टिले पुष्पलाललाई खसीबोका व्यापारी बनाएर हिंडाइयो — भैरव रिसाल

7
SHARES
15
VIEWS

सन्दर्भ: पुष्पलाल स्मृति दिवस (हिमाल आर्काइभ)

भैरव रिसाल

कमरेड पुष्पलाललाई रौतहट झर्नु परेछ। १ पुस २०१७ मा राजा महेन्द्रले शिशु प्रजातन्त्र मासेर पञ्चायती व्यवस्था घोषणा गरेपछि प्रजातन्त्रका लागि लडेका नेता तथा कार्यकर्तालाई मुश्किल थियो। भेटिएसम्मका जुनसुकै दलका नेतालाई जेलमा हालिएको थियो भने कम्युनिष्ट पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता विरुद्ध पक्राउको वारेन्ट जारी भइसकेको थियो।

अझ २००८ सालमा डा.केआई सिंहले सिंहदरबारमा विद्रोह गरेको, रामप्रसाद राईहरूले जेल तोडेको जस्ता घटनाको निहुँमा नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाइएको थियो। यस्तो परिस्थितिमा कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई काठमाडौंदेखि रौतहट जानुपरेको। त्रिभुवन राजपथ, चित्लाङ, मार्खु, कुलेखानी, भीमफेदीको बाटो छिचोल्ने अवस्था थिएन।

त्यसैले उहाँले मसँग सोध्नुभो, रौतहट झर्ने सुरक्षित बाटोबारे। मैले ललितपुरको लेले, टुङगन (गोटीखेल क्षेत्र) हुँदै रौतहट झर्ने तुलनात्मक रूपमा सुरक्षित बाटोबारे बताएँ। त्यो बाटो कसरी छिचोल्ने भन्ने विषयमा सीमित मानिसहरूबीच गम्भीर छलफल भयो।

खसीबोका व्यापारी
मैले जुक्ति निकालें– मेरो भेगका रामदाइ (राम्चा ठेउला), गणेशदाइ (गणेशबहादुर राउत) मार्फत पुष्पलाललाई रौतहट उतार्ने। खसीबोका किन्ने सिलसिलामा टुङगन भेग हुँदै निकैपल्ट आउजाउ गरेकाले गणेशबहादुरले त्यताका धेरै मान्छे चिन्नुभएको थियो।

उहाँसँग जाँदा खानबस्न पनि सहज हुन्थ्यो। राजनीतिक सुझबुझ भएका व्यक्ति साथमा भए अझ् सहज हुने ठानी राजनीतिक कार्यकर्ता रामदाइलाई लैजाने सल्लाह भयो। सम्झना भएसम्म यो घटना २०१७ साल चैततिरको हो।

रामेछापको भँगेरी डाँडामा जन्मेकाले हो कि पुष्पलाल नेवार भए पनि तामाङ वा क्षेत्रीजस्तो देखिनुहुन्थ्यो। स्पष्ट र खाँटी नेपालीमा बात मार्ने आकर्षक व्यक्तित्वको उहाँलाई नचिनेका मानिसले नेवार भनेर शङ्का गर्दैनथे।

खसीबोकाको व्यापारमा आएको भन्दा पनि विश्वास गर्ने खालको व्यक्तित्व भएकाले सुरक्षाको खतरा कम हुने अनुमान गरियो। गणेशबहादुर, तत्कालीन शाही नेपाली सेनाका अवकाशप्राप्त हबल्दार। तर, मेरा जजमान र परम विश्वासिला मान्छे। छलफलमा शंका पनि भएको थियो– सेनाका भूतपूर्व हबल्दार हुन्, कुनै लोभले पक्राइदिने त होइनन् ?

तर, मैले गणेशदाइ र रामदाइ अत्यन्त विश्वासिला छन् भनेर आश्वस्त पारें। खसीबोकाको व्यापारी आवरणमा उहाँहरू बिहान ३ बजेतिरै बाटो लाग्नुभो, उज्यालो हुँदा लेले तिलेश्वर पुग्ने गरी।

टुङगन महाँकाल स्थाननिरका माइला पराजुलीकी बहिनीको दधिकोटका वेदनिधि ढकालसँग बिहे भएको थियो। पुरेत्याईं पेशाका त्यहाँका पराजुलीहरूले मलाई चिन्नुहुन्थ्यो। मैले माइला पराजुलीजी कहाँ बास बस्ने सल्लाह दिएको थिएँ, त्यसै गर्नुभएछ। माइला पराजुलीको परिवारले उहाँहरूलाई उच्च आतिथ्यता प्रदान गरेछ। सुरक्षाको प्रश्न नै आएनछ।

एक रात बसेर उहाँहरू भोलिपल्ट बिहानै बाटो लाग्नुभएछ। बाटामा खसीबोकाको मोल पनि भएछ। फर्केर आउँदा खसीबोका लैजाने भन्दै गणेशदाइले एक–दुई ठाउँमा बैना पनि दिनुभएछ। दोस्रो दिन साँझ पुष्पलाललाई सुरक्षित रूपमा रौतहट पुर्‍याएर सम्बन्धित व्यक्तिको जिम्मा लगाई रामदाइ र गणेशदाइ उही बाटो फर्कनुभयो।

‘कत्रो ठूलो काम गर्न पायौं’
फर्कंदा पहिले बैना दिएका र कुरा भएका ठाउँका खसीबोका किन्दै चौथो दिन दुवै दाइहरू काठमाडौं आइपुग्नुभो। १२ वटा जति खसीबोका बेचेर गणेशदाइले केही नाफा पनि गर्नुभयो, तर रामदाइलाई व्यापार नआउने हुँदा त्यो लेठो गर्नुभएन।

फर्केपछि दुवैले मलाई भन्नुभएको थियो, “त्यत्रा ठूला नेतालाई लिएर जाँदा ठाउँठाउँमा निकै डर लाग्यो, पुलिसले समात्छ कि भनेर। उज्यालो नहुँदै लेले तिलेश्वर उत्रिएकाले त्यस्तो केही भएन। तै जिम्मेदारी पूरा ग‍र्‍यौं।”

धेरै पछिसम्म दुवैले त्यो यात्राको वर्णन गरेको मलाई सम्झना छ। उहाँहरू भन्नुहुन्थ्यो, “उहाँ खसीबोका व्यापारी हुनुहुन्छ भनेर गाउँका किसानलाई विश्वस्त पार्न निकै मुश्किल पर्‍यो।

उहाँले व्यापारका कुरा, खसीबोकाको मोल गर्न जान्दै नजान्ने। गोरो, उज्यालो अनुहार, आकर्षक व्यक्तित्व भएकाले पनि गाउँघरका किसानले उहाँलाई खसीबोका व्यापारी भनेर पत्याएनन्।”

पछि फर्कंदा ती बैना लिनेहरूले दाइहरूलाई सोधेछन् “खोइ त त्यो नेता जस्तो मान्छे ? व्यापारका कुरै नजान्ने, मोल गर्न पनि नजान्ने। तर उनका अरू कुरा कति मीठा, सुनिरहौं लाग्ने। उनलाई कता पु‍र्‍याएर आयौ ?”

पुष्पलाललाई सुरक्षित गन्तव्यमा पुर्‍याएको कुरा गर्वका साथ दुवैले पछिसम्म मलाई सुनाउनुभएको थियो– हामीले कत्रो ठूलो काम गर्न सक्यौं !

पुष्पलालबाट प्रशंसा
रामदाइ र गणेशदाइमा विशेष क्षमता भएको कुरा पुष्पलालले पनि मलाई सुनाउनुभएको थियो। बाटोमा सोधेको प्रश्नमा कतै एकथरी उत्तर, कतै मान्छे र प्रश्न हेरेर अर्कै उत्तर दिने दाइहरूको चलाखीलाई पुष्पलालले खुबै प्रशंसा गर्नुभएको थियो।

पुष्पलालले मलाई पछिसम्म सन्देश पठाउनुहुन्थ्यो, “गाउँगाउँमा कैयौं छन्, गणेशबहादुर र राम्चा जस्ता इमानदार र जिम्मेवार मान्छे। तर, हामी उनीहरूको नजिक पुग्नै सक्तैनौं, उनीहरूलाई चिन्नै सक्तैनौं। हामी उनीहरू जस्ता गरिखानेहरूसम्म पुग्नसके नेपालमा कम्युनिष्ट क्रान्ति र साम्यवाद स्थापनाको हाम्रो सपना साकार हुन के बेर लाग्छ र ?”

(हिमाल खवर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित