नेपालमा दुईवटा खोपको ट्रायल गर्ने तयारी

7
SHARES
15
VIEWS

काठमाडौं। नेपालमा क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड–१९ खोपको तेस्रो चरणका ट्रायल गर्न तयारी भइरहेको छ ।

चिनियाँ कम्पनी सिचुवान क्लोभर बायोफार्मास्युटिकल्सको भगिनी कम्पनी क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलियाले उत्पादन गरेको खोपको अनुसन्धानका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले ‘इथिकल अपरुभल’ (नैतिक स्वीकृति) दिइसकेको छ । यस्तै भ्याक्जाइनले उत्पादन गरेको ‘कोभ्याक्स–१९’ खोपको ट्रायलका लागि पनि प्रक्रियाहरु अगाडि बढेको छ ।

नेपालमा ट्रायल गर्नका लागि प्रक्रिया अगाडि बढाइएका दुई खोपमध्ये क्लोभरको खोप कोभ्याक्स अन्तर्गतको हो । कोभ्याक्स विश्व स्वास्थ्य संगठनले युरोपियन कमिसन र फ्रान्सको सहकार्यमा स्थापना गरेको विश्वका गरिब मुलुकहरुमा खोपलगायत कोभिड–१९ नियन्त्रणका लागि आवश्यक सामाग्री तथा प्रविधिको पहुँच पुर्‍याउने कार्यक्रम हो । यसको ट्रायल काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल तथा धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय अन्तर्गतको धुलिखेल अस्पतालमा गर्न लागिएको हो । यसका लागि दक्षिण कोरियास्थित इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई)ले सहयोग उपलब्ध गराएको छ ।

यस्तै, अस्ट्रेलियन खोप ‘कोभ्याक्स–१९’ भने एनएचआरसीकै नेतृत्वमा ट्रायल गर्न लागिएको हो भने सम्पूर्ण आर्थिक भार कम्पनी स्वयंकै हुने छ । यसको तयारी प्रारम्भिक चरणमा नै रहेकोले थप जानकारी हाललाई उपलब्ध गराउन नमिल्ने एनएचआरसीका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले बताए ।

उनका अनुसार परिषदको इथिकल रिभ्यू बोर्डले क्लोभर बायोफार्मास्युटिकल्सलले प्रस्तुत गरेको खोपको ट्रायललाई स्वीकृति प्रदान गरिसकेको छ भने अस्ट्रेलियन खोपको ट्रायल गर्ने बारेमा प्रशासनिक र प्राविधिक काम भइरहेका छन् । उनले दिएको जानकारीअनुसार क्लोभरको खोपको सम्बन्धमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले अन्तिम निर्णय गरेर मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजानुपर्छ ।

‘हामीले खोपका बारेमा इथिकल विषयवस्तु मात्रै हेर्ने हो । अन्तिम निर्णय मन्त्रिपरिषदले नै गर्छ,’ डा. ज्ञवालीले भने, ‘हामीले परिषदकै नेतृत्वमा गर्ने भनेको ट्रायलका लागि भने मन्त्रालयमा अझै छलफल भइरहेको छ ।’

शिक्षण अस्पतालमा हुने ट्रायलको नेतृत्व गरिरहेकी त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) की डिनसमेत रहेकी मिर्गौला रोग विशेषज्ञ डा. दिव्यसिंह शाहका अनुसार आईभीआईको सहयोगमा हुन लागेको ट्रायल कुल १८ सय जनामा गरिने छ ।

‘यो खोपको ट्रायल कोभ्याक्सअन्तर्गत हो । यस भ्याक्सिनको विश्वभर कुल ३४ हजार ट्रायल हुँदैछ,’ उनले भनिन्, ‘त्यसमध्ये नेपालमा १८ सय जनामा मात्रै परीक्षण गर्न लागिएको हो । एनएचआरसीले स्वीकृति दिइसकेको छ । अब मन्त्रिपरिषदको स्वीकृति बाँकी छ ।’

डा. शाहका अनुसार नेपालमा हुने ट्रायलमध्ये पहिलो चरणमा शिक्षण अस्पतालबाट १२ सय जनालाई र धुलिखेल अस्पतलामा ६ सय जनालाई खोप दिने तयारी भएको छ । त्यही संख्या अनुसार दुवै केन्द्रहरुमा पूर्वाधार तयार समेत गर्न थालिएको छ । स्वरूप आचार्यले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित