Skip

News Portal

  • दरबार हत्याकाण्डको २३ वर्ष पुरा, किन बोल्दैन …?

    कर्नालीसंचार संवाददाता१९ जेष्ठ
    १२३ पटक
    १९ जेष्ठ

    काठमाडौं । विसं २०५८ साल जेठ १९ गते आजकै दिन राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित तथा विस्मयकारी घटना हो । यसका बारेमा राजसंस्थाका पक्षपातिहरु समेत चुइक्क समेत बोलेको देखिदैन ?
    कतिपय विश्लेषकहरूले सोही घटनाका कारण राजतन्त्रको अन्तिम अध्याय सुरु भई गणतन्त्रको अध्यायको बलियो पृष्ठभूमि लेखिएको तर्क गर्ने गरेका छन्
    यसअघि पनि नेपालको इतिहासमा त्यस्तै खालका घटना भएका र तिनले कुनै न कुनै रूपमा राजनीतिक शक्तिकेन्द्र परिवर्तन गरेका उदाहरण पाइन्छन् ।
    नारायणहिटी दरबार हत्याकाण्ड भएको आज (शुक्रबार) २३ वर्ष पूरा भएको छ। हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा ०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड भएको थियो। राजदरबारको ‘अति सुरक्षित’ स्थलमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रलगायत परिवारका अन्य सदस्यको हत्या भएको सो काण्डको चित्तबुझ्दो तथ्य अझै पनि जनतासमक्ष आउन सकेको छैन।
    यद्यपि, त्यतिबेला नयाँ राजा ज्ञानेन्द्रले जेठ २२ गते बेलुका एक शाही घोषणा गर्दै राजदरबारमा घटेको दुःखद घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउने प्रक्रियास्वरुप तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेका थिए। सो समितिमा तत्कालीन सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपाललाई समेत सदस्य तोकिएको थियो। यद्यपि, नेपाल सो समितिमा बसेनन्। उनले राजीनामा दिएका थिए।
    बाँकी दुई सदस्यीय समितिले जेठ ३२ गते प्रतिवेदन बुझायो। २६ गतेदेखि काम सुरु गरेको समितिलाई सुरुमा काम सुरु गरेको मितिले ३ दिन समय दिइएको थियो। पछि फेरि चार दिन थपिएको थियो।
    समितिले सम्पूर्ण प्रतिवेदनलाई ३ भागमा विभाजन गरेको थियो। पहिलो भागमा समितिको गठन तथा कार्यप्रक्रिया उल्लेख छ। दोस्रो भागमा घटनासँग सम्बन्धित तथ्य एवम् तथ्याङ्कहरुको प्रस्तुति थियो। र, तेस्रो भागमा घटनाको यथार्थ विवरण उल्लेख थियो।
    तर समितिको प्रतिवेदनले आम स्वीकार्यता पाउन सकेन। अहिले पनि सो घटनालाई षड्यन्त्रको विभिन्न आयामको प्रतिफल मान्ने मानिसहरू प्रशस्तै छन्।
    उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोज्दा नेपालका राजनीतिक दलहरुले २०६२/६३ मा दोस्रो जनआन्दोलन चर्काएर र नेपाललाई गणतान्त्रिक मुलुक नै घोषणा गरे । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति र गणतन्त्र स्थापनाको घोषणा भयो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने ।
    दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्बजनिक गरेका थिए ।
    त्यसपछि यस घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको दोस्रो मन्त्रिपरिषदमा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने कुरा उठाएका थिए । राजगद्दीबाट फालिएपछि पनि ज्ञानेन्द्रले राजनीतिक वक्तव्यबाजी गर्न नछाडेको प्रतिशोधमा निधिले छानबिनको कुरा उठाए पनि त्यो कुरा अगाडि बढेको छैन ।
    अनेक आशंका र अनुमान गरिए पनि नारायणहिटी दरबार हत्याकाण्ड अहिले पनि रहस्यमय नै छ ।
    प्रतिवेदनमा शंका
    घटनाको छानबिन गर्न तत्कालीन प्रधान न्यायाधीश र सभामुखको दुई सदस्यीय उच्चस्तरीय समिति बनाइयो। प्रतिवेदन भन्छ, युवराज दीपेन्द्र आफैँले कन्चटमा पेस्तोल हिर्काएर पुल छेउतिर अचेतावस्थामा लडिबक्सेको थियो।
    तर प्रश्न उठेको छ, आफैँले हतियार प्रयोग गरी आफैँ अचेत भएको व्यक्तिको हातबाट पेस्तोल फुत्केर कसरी पोखरीमा पुग्यो ? त्यस्तै घटनास्थलबाट जुन ढंगले सबुत प्रमाण, बन्दुक, गोली, पोशाकहरू ल्याइयो, त्यसमा पनि अपराधशास्त्रीहरूको आपत्ति छ। नेपाल ल क्याम्पसमा अपराधशास्त्रको समेत अध्यापन गर्दै आउनुभएका अधिवक्ता सुशील पन्त भन्नुहुन्छ, ‘घटनास्थलका सबुत प्रमाण नियन्त्रणमा लिँदा, अपराधीले छाडेको निशानाहरू नष्ट नहुन् भनेर हातमा पञ्जा लगाएर प्लाष्टिकले टिप्ने गरिन्छ र पारदर्शी प्लाष्टिकभित्र त्यसलाई सुरक्षित गरी राखिन्छ। तर प्रतिवेदन सार्वजनिक गर्ने दिन सभामुख तारानाथ रानाभाटले हरेक हतियार आफैँले प्रदर्शन गरेर देखाइदिनुभयो।’ यसलाई पनि शंकाले किन हेरिएको छ भने, यदि सबुत प्रमाणहरूले यसपूर्व दोषीको आरोप लाग्दै आएका दीपेन्द्रलाई नै पुष्टि गरेको भए त्यसरी प्रमाण मेटिने र नासिने गरी त्यस्तो उच्च समितिले काम कारवाही गर्नु उचित हुन्थेन।
    हत्याकाण्ड भएको स्थान अहिले संग्रहालय
    हत्याकाण्ड भएको नारायणहिटी राजदरबार अहिले संग्रहालय बनेको छ । संग्रहालयमा दैनिक पाँच हजारसम्मले अवलोकन गर्दै आएका थिए ।
    २०६५ सालबाट सञ्चालनमा आएदेखि नारायणहिटी संग्रहालय अहिलेसम्म एक करोड बढी आन्तरिक र विदेशी पर्यटकले अवलोकन गरेका छन् ।
    संग्रहालय घुम्ने अधिकांशको मुख्य चासो दरबार हत्याकाण्ड हुने गरेको संग्रहालयका एक कर्मचारी बताउँछन् ।
    पछिल्लो समय अवलोकनका लागि संग्रहालय मुख्य स्थान बन्दै गएको नारायणहिटी दरबार संग्रहालयले जनाएको छ ।
    यी राजाले गरेका थिए गद्दीत्याग
    नेपालमा विभिन्न कालखण्डमा राजाले गद्दीत्याग गरेको इतिहास पाइन्छ।
    आधुनिक नेपालमा २४० वर्ष शासन गरेको शाहवंशमा पनि राजाले गद्दी त्यागेका तीनवटा घटना छन्।
    रणबहादुर शाह (सन् १७७५-१८०६)
    रणबहादुर शाह आधुनिक नेपालका संस्थापक पृथ्वीनारायण शाहका नाति हुन्। बुवा प्रतापसिंह शाहको अल्पायुमै मृत्यु भएपछि रणबहादुर शाह बाल्यकालमै राजा भए।
    उनलाई राजकाजमा सघाइरहेका काकाबहादुर शाहले नेपालको एकीकरण पूरा गरेपछि १८ वर्षमै राजा रणबहादुर शाहसँग सम्पूर्ण अधिकार आइपरेको थियो।
    रणबहादुरलाई स्त्रीहरूप्रति विशेष लगाव थियो। उनका सात(आठ वटा प्रेमिकाहरू रहेको पाइन्छ।
    त्यस क्रममै सत्‍बिउ छर्न आएकी एक सुन्दरी महिला कान्तवतीमाथि दरबारका कर्मचारीहरूले राजाको आँखा पारिदिए। रणबहादुरले जनकपुरकी ती ब्राह्मण विधवालाई दरबारमा ल्याएर राखेका थिए।
    कान्तवतीले जिद्दी भने अर्कै थियो। उनले भनेकी थिइन्, ‘मैले तपाईँसँग बिहे गरेर दरबारमा कैद भए पनि मेरो जात जान्छ। म त जमिन्दारकी छोरी हुँ। म उतै कसैसँग बिहे गरेर स्वच्छन्दतापूर्वक जीवन बिताउनेछु।’
    केही महिना दरबारमा रहेपछि पनि कान्तवती र राजा रणबहादुर दुवैको मन फेरिएन।
    अन्तत : आजित भइसकेकी कान्तवतीले प्रस्ताव राखिन्, आफूलाई रानी बनाउने र आफ्ना छोरालाई राजगद्दी दिने।
    रानीको इच्छाका आधारमा रणबहादुरले छोरा जन्मिएको १७ महिनामै रानीको आग्रहमा पशुपतिनाथको धर्मशीलालाई छोएर, सात पुस्ता भाक्दै गद्दीत्यागको धरपत्र गराएका थिए।
    आफू भने रानीसहित जोगी हुन भन्दै पशुपतिमा गएर बसे। तर त्यहाँबाट समेत उनले आफ्नो अधिकारको अभ्यास भने रोकेनन्। तर पुनः शक्तिमा फर्कन उनमा धर्मसंकटको अवस्था थियो।
    राजेन्द्रविक्रम शाह (सन् १८१३-१८८१)
    रणबहादुर शाहले खडा गरेको नजिरका आधारमा राजा राजेन्द्रकी कान्छी पत्नीले समेत आफ्ना छोरालाई राजगद्दीको माग गरेपछि नेपालमा सन् १८४६ (१९०३ साल)मा कोतपर्व घटेको थियो।
    राजा राजेन्द्रका दुईवटी रानीहरू थिए।
    जेठो छोराले गद्दी सम्हाल्ने परम्पराकै आडमा जेठी रानी साम्राज्ञलक्ष्मीदेवीका छोरा सुरेन्द्र युवराज भए पनि कान्छी रानी राज्यलक्ष्मीदेवीले आफ्ना छोरालाई राजा बनाउन खोजिरहेकी थिइन्।
    राजा दुवैका सामु निरीह देखिए। त्यो राजा दशरथले सामना गरेको अवस्थाजस्तो थियो। जेठी रानीको मृत्यु भएपछि भने उनलाई केही सहज भयो।
    उनले कान्छी रानीलाई अधिकार र जेठा छोरालाई युवराजको पदवी दिए। तर अधिकार पाएकी रानीले आफ्नो पुरानै मागमा दरबारभित्र कित्ताकाट गर्न लागिन्।
    त्यसरी दरबारमा सुरु भएको झगडाको आडमा कोतपर्वमार्फत् जंगबहादुरको उदय भयो।
    राजा गद्दीत्याग गरेर काशी जान बाध्य पारिए। त्यसपछि जङ्गबहादुरले सुरेन्द्रविक्रम शाहलाई राजा बनाए।
    पछि जंगबहादुरलाई मार्न भन्दै राजेन्द्रविक्रम दलबलसाथ आउँदा अलौ पर्व भएको इतिहास छ। त्यसपछि राजेन्द्रविक्रम दरबारमा बन्धक बनाइए।
    ज्ञानेन्द्रविक्रम शाह (सन् १९४७)
    शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रले २०६२/६३ मा भएको जनआन्दोलनबाट पुर्नस्थापित भएको संसद्ले गणतन्त्र घोषणा गरेपछि त्यसलाई स्वीकार्दै गद्दीत्याग गरेका थिए।
    विसं २०५८ जेष्ठ १९ गते नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएपछि उनका माइला भाइ ज्ञानेन्द्र राजा बन्न पुगेका थिए।

    #साभार हिमालय टाइम्स बाट

    प्रतिकृया दिनुहोस्