सहकारीमा अभाव महसुस गरिएको युवा पुस्ता

7
SHARES
15
VIEWS

सहकारी संस्थाहरुमा ३५ वर्षभन्दा कम उमेरका मानिसहरुको सहभागिता कति रहेको छ भन्ने यकिन तथ्याङ्क भेटिदैन । तर केही अध्ययनहरुले सहकारी संस्थाका अधिकांश सदस्यहरु ५० वर्ष भन्दा माथिको उमेर समूहको रहने गरेको देखाएका छन् । बचत तथा ऋण सहकारी अभियानमा सबैभन्दा सफल अभ्यास गरिरहेको दक्षिण कोरियामा पनि सदस्यहरुको उमेर समूहलाई विश्लेषण गर्दा यस्तै प्रकारको नतिजा देखा परेको थियो । नेपाल लगायत अन्य मुलुकहरुको पनि यही तथ्याङ्कसँग मिल्दोजुल्दो अवस्था रहेको देखिन्छ । विशेष गरी सन् १९९० पछाडि जन्मिएका पुस्तालाई हाम्रा सहकारी संस्थाहरुले आकर्षित गर्न सकेको छैन । सन् १९९० पछाडि जन्मिएको पुस्तालाई सहश्राब्दी पुस्ता पनि भनिन्छ । यही सहश्राब्दी पुस्ता सहकारीमा अभाव महशुस भएको पुस्ताको रुपमा लिन सकिन्छ ।

एक अध्ययन अनुसार सहकारी संस्थाहरुमा किन सदस्य नबनेको भनी युवाहरुलाई सोधिएको प्रश्नमा अधिकांश युवाहरुले सहकारीका बारेमा आफूहरुलाई राम्रोसँग जानकारी नभएको जवाफ दिएको पाईएको थियो । यसबाट के प्रष्ट हुन्छ भने युवाहरु हाम्रा सहकारी संस्थाहरुको प्राथमिकतामा अझै पर्न सकेका छैनन् । युवाहरुको रुची र आवश्यकता अनुसारको सेवाहरु सहकारी संस्थाहरुले दिन सकिरहेका छैनन् । युवा पुस्ता हरेक क्षेत्रको दिगो विकासका संवाहक हुन । यो पुस्तालाई सहकारी क्षेत्रले समेट्न सकेन भने सहकारी क्षेत्रको भविष्य अन्धकार हुन सक्दछ ।

राष्ट्रिय युवा नीति २०७२ अनुसार नेपालको कुल जनसंख्या मध्ये युवाहरुको संख्या ४०.३ प्रतिशत रहेको छ । हाम्रा सहकारी संस्थाहरुमा यो अनुपात कति छ भन्ने विश्लेषण गर्न अतिनै जरुरी छ । धेरथोर सहभागीता जनाईरहेका युवाहरु पनि कहिले बैदेशिक रोजगारी, कहिले बैदेशिक शिक्षा त कहिले सेवाहरुद्वारा असन्तुष्ट भएको कारण देखाउँदै सदस्यता छाडिरहेका हुन्छन् । अधिकांश युवाहरुले सहकारी संस्थाहरुका सेवाहरु स्तरीय हुन्छन्, आर्थिक कृयाकलापहरु सञ्चालन गर्नको लागि भरपर्दो वित्तीय र व्यवसायीक सेवाहरु प्राप्त हुन्छन भन्ने कुरा सोचेकै हुँदैनन् । त्यसैगरी सहकारी संघ संस्थाहरुलाई नेतृत्व प्रदान गरिरहेका व्यक्तिहरुले पनि युवाहरुलाई नेतृत्व अभ्यासमा आवश्यक मात्रामा अग्रसर गराउन सकेका छैनन् । केही संघ संस्थाहरु यथास्थितिवादलाई हस्तक्षेप गर्न चाहन्छन् तर केही भने यस्ता चुनौतीहरुसंग डराउने गर्दछन् । किनकी नयाँ पुस्तालाई एकत्रित गर्न र अग्रसर गराउन परिवर्तनलाई आत्मसाथ गर्नुपर्दछ । युवा पुस्तालाई अग्रसर गराउनको लागि सहकारी क्षेत्रका नेतृत्वसंग अरुलाई अवसर लिनको लागि प्रोत्साहित गर्ने खुल्ला हृदय, साहसिक कदम उठाउन र जोखिम मोल्ने खुल्ला ईच्छाशक्ति र निरन्तर सिकाई तथा बृद्धि गरिरहने खुल्ला सोच हुन जरुरी हुन्छ ।

सहकारी संस्थाहरु युवा मैत्री कसरी बनाउन सकिन्छ ?

सहकारीता भनेको सिद्धान्तमा आधारित उद्यम हो । जसले नाफालाई भन्दा पनि सदस्यहरुलाई आफ्नो व्यवसायको केन्द्रमा राख्नु पर्दछ । सहकारीले स्वाभलम्वन, स्वउत्तरदायित्व, लोकतन्त्र, समानता, समता र ऐक्यवद्धता जस्ता आधार मुल्यहरुलाई आत्मसाथ गर्दछ । सहकारी उद्यमको लोकतान्त्रिक चरित्रले सहभागिता, बृहत्तर अपनत्वलाई प्रोत्साहित गर्नुको साथै युवा सशक्तिकरणलाई प्रवद्र्धन गर्दछ । सहकारीको सिद्धान्त र मूल्यहरुले वास्तवमा युवाहरुलाई उनीहरुको आफ्नै उद्यम सिर्जना गर्न वा सम्भावित मानव संसाधनको रुपमा मर्यादित कार्य गर्न उत्प्रेरित गर्दछ ।

युवाहरुमा रोजगारी सृजना गर्नको लागि सहकारी क्षेत्रले काम गर्न सक्दछ । तलबी रोजगारीको लागि सक्षम मानव संसाधन आकर्षण गर्ने क्षेत्रको रुपमा सहकारी संस्थाहरु विकसित हुँदै गईरहेका छन् । श्रम बजारमा प्रवेश गर्ने युवाहरुको लागि आफ्नो आर्थिक आवश्यकताको साथै मानिसहरुसंग काम गर्ने व्यवसायमा संलग्न हुन सहकारीले आकर्षित गर्न सक्नुपर्दछ । त्यसैगरी स्वरोजगार बन्न चाहने युवाहरुको लागि उपयुक्त समाधान दिने क्षेत्रको रुपमा सहकारी संस्थाहरु सञ्चालित हुनु पर्दछ । अवसर र अनुभव भईनसकेको यस अवधिमा युवाहरुलाई सुरुवाती रोजगारी प्रदान गरी श्रम बजारमा प्रवेश गराउन सहकारीबाट प्राप्त हुने स्वरोजगारको विकल्प महत्वपूर्ण हुन सक्दछ ।

त्यसै गरी सहकारी संस्थाहरुलाई पूर्ण समाधानको केन्द्रको रुपमा विकसित गर्न सक्नु अर्को आवश्यता भित्र पर्दछ । त्यो समाधानलाई हामी सहकारी समाधान -(Co-operative solution) भन्न सक्दछौं । जस्तै सदस्यहरुको समृद्धि निर्माण गर्ने वस्तु तथा सेवा, सदस्य सुरक्षा कार्यक्रम तथा अन्य सेवाहरु, उद्यमशिलता विकासका अवसरहरु, वित्तीय साक्षरता र प्रविधिमा आधारित सेवाहरुलाई सहकारी समाधानको प्याकेजको रुपमा लिन सकिन्छ । यो प्याकेज भित्र युवा अवस्थाका आवश्यकताहरु समेत समाधान गर्ने सेवाहरु पर्नु पर्दछ ।

युवाहरुलाई सहकारीमा कसरी आकर्षित गर्न सकिन्छ ?

बचत तथा ऋण सहकारी संस्थाहरुले आज भोगिरिहेको प्रमुख चुनौती भनेको ईन्टरनेटमा आधारित, फिनटेक कम्पनिहरुले मोवाइर्लहरुको माध्यमबाट प्रवाह गरिरहेको तेश्रो पक्ष भुक्तानी गर्न सकिने एप्लीकेसनको सिघ्र, सुलभ र उपभोक्ता मैत्री सेवाहरु प्रयोग गर्ने सदस्यहरुलाई मापन गर्न असक्षम हुनु वा गुमाउँदै जानु हो यद्यपी त्यस्ता सेवाहरु लागतको हिसाबले महँगो छन् । उदाउँदै गरेको गरेको थुप्रै बजार अर्थव्यवस्थाको लागि यो एउटा ठृलो नोक्सानी हो । सन् १९९० पछि जन्मिएका पुस्ता ईन्टरनेट, सम्पर्कसञ्जाल र सिघ्र प्रतिक्रियात्मक सेवाहरु संगसंगै हुर्किएका हुन्छन् । विश्व ऋण परिषदको एक प्रतिवेदनका अनुसार पनि युवाहरु खाफ्नो खाता खोल्न, ऋण माग गर्न, ब्यालेन्स चेक गर्न, फण्ड ट्रान्सफर गर्न, विलहरु भुक्तानी गर्न, सूचना प्राप्त गर्न मोबाईलको प्रयोग गर्न रुचाउँछन । उनीहरु कुनैपनि सेवा थोरै समय भित्र सजिलो संग प्राप्त होस भन्ने चाहन्छन । तसर्थ सहकारी संस्थाहरुले अब अनलाईन तथा मोबाईल कोर सेवाहरु प्रदान गर्न अत्यन्त आवश्यक देखिन्छ ।

वित्तिय संस्थाहरुमा नजोडिँदा पनि विश्वका कैयन युवाहरु प्राय गुगल वालेट र पेपल जस्ता पेमेन्ट सिस्टमहरु प्रयोग गर्दछन् । आफ्नो सहकारीको खातामा जम्मा गरेको रकम देशभरीको जुनसुकै सहकारीमा गएर निकाल्न मिल्ने पेमेन्ट प्लाटफर्महरु कैयन एशियन मुलकहरुका सहकारीहरुमा प्रयोगमा आईसकेका छन् । हामीसंग हाम्रै क्षेत्रबाट प्रवद्र्धित पेमन्ट सिस्टमहरुको विकास भईनसके पनि निजी क्षेत्रबाट प्रयोगमा आईरहेका प्लाटफर्महरु प्रयोग गर्न सहजीकरण गरेर पनि सहकारी संस्थाहरुले युवाहरुलाई सहकारीको सेवामा आकर्षित गर्न सक्दछन् ।

सहकारीका सामान्य प्रोडक्टहरु भन्दा फरक युवा केन्द्रित प्रोडक्ट (Trendy not traditional) डिजाईन गरेर युवाहरुलाई सहकारी संस्थाहरुमा सहभागी गराउन सकिन्छ । त्यसका लागि सहकारी संस्थाहरुले युवा लक्षित सेवाको अवधारणा विकास गर्ने, बजार र व्यवसाय विश्लेषण गर्दै युवाहरुका विचमा बजारीकरण गर्ने कार्य गर्न आवश्यक हुन्छ ।

युवाको राम्रै सहभागिता भएका सहकारी संस्थाहरुले पनि युवाहरुलाई चाहिने पूँजिको मात्र व्यवस्था गरिरहेको देखिन्छ । यो परम्परागत तरिका हो । अब पूँजि परिचालन गर्ने तरिका र योजना पनि पूँजि संगसंगै युवाहरुलाई दिन सक्नुपर्दछ । यसको मतलब एउटा हातमा पुँजी र अर्को हातमा विधि र प्रविधि दिन सक्यौं भने हामीले युवाहरुमा स्वरोजगार बनाउन सक्दछौं ।

युवाहरु राम्रो छवि भएको प्रतिष्ठित संस्थामा आवद्ध हुन रुचाउँछन भन्ने तथ्य विभिन्न अध्ययनहरुले देखाएको छ । तसर्थ सहकारी क्षेत्रले युवा वर्गलाई आकर्षित गर्न बजारमा आफ्नो छवि राम्रो बनाउ सक्नुपर्दछ । जतिबेला अमेरिकामा वित्तिय सेवाक्षेत्र संकटमा परेको थियो त्यतिवेला त्यहाँका ७१% युवाहरु भन्थे,“बैंकको कुरा सुन्न जानु भन्दा त हामीलाई डेण्टिस्ट कहाँ जान बढि मनपर्छ” । तसर्थ जवसम्म सेवाको गुणस्तर “वाह” भन्ने खालको हुँदैन तवसम्म युवाहरुलाई आकर्षित गर्नै सकिँदैन । तसर्थ सहकारी क्षेत्रमा अब हामीले वाह ! संस्कृतिको विकास गर्न आवश्यक देखिन्छ ।

युवाको कुरा युवाले मात्रै राम्रो संग बुझ्न सक्दछ अनी युवाको कुरा युवाले मात्रै राम्रो संग पत्याउँदछ । तसर्थ सहकारीको भिन्नता र यसको सुन्दर पक्षको बारेमा युवा कर्मचारीहरुलाई प्रशिक्षित गर्ने र युवा सदस्यहरुहरुसंग सम्पर्क, सञ्चार र व्यवहार गर्न युवा कर्मचारीहरुलाई युवा दुत (Youth Ambassador) को रुपमा नियुक्ती गर्नु उपयुक्त हुने देखिन्छ । त्यसै गरी युवाहरुलाई सेवा दिने विषयमा सहकारी क्षेत्र यदि गम्भिर हुने हो भने युवाहरुलाई नेतृत्वमा सहभागी हुने अवसर पनि दिनु पर्दछ ।

युवाहरुलाई आकर्षित गर्नको लागि सहकारीहरु युवाहरु भएकै ठाउँमा पुग्नु पर्दछ । युवाहरु कहाँ हुन्छन् त ? निश्चित रुपमा युवाहरुसंग अन्तरक्रिया हुने ठाउँ भनेको अहिलेको समयमा सामाजिक सञ्जालहरु नै हो । त्यसकारण सहकारी संस्थाहरुको जानकारी तथा सूचनाहरु पोष्ट मात्रै नगरि त्यसमा युवाहरुलाई अन्तरक्रिया गराउने गरियो भने सहकारीका विषयहरुमा युवाहरुलाई परिचित गराउँदै लान सजिलो हुन्छ ।

( sahakraikhabar मा– लेखक चन्द्रागिरि साकोस, काठमाडौंका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित