काठमाडौं । निर्वाचन आयोगले एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरुले दायर गरेको निवेदनमाथि निर्णय दिदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको छ ।
आयोगको आज बसेको बैठकले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएका निवेदन र दावी दुवैलाई खारेज गरेको हो ।
माओवादी परित्याग गरी एमाले प्रवेश गरेका रामबहादुर थापा (बादल)सहितका नेताहरुको सक्रियतामा दर्ता भएको निवेदन खारेज गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
निवेदनको सन्दर्भमा केही निर्णय गरिरहनु परेन। निवेदकको दाबी पुग्दैन। दलको दर्ता खारेज हुँदैन। निवेदन खारेज भयो, प्रवक्ता श्रेष्ठले भन्नुभयो ।
आयोगका सचिव सुरेश अधिकारीले नेपालको संविधान, प्रचलिन कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा नेकपा माओवादी केन्द्रको विद्यमान अस्तित्व वैधानिक रहेको ठहर भएको जानकारी दिनुभयो ।
अधिवक्ता सरोज बुढाथोकीसहितको निवदेनमा माओवादी केन्द्रको वैधानिकताबारे प्रश्न उठाइएको थियो । पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतले आयोगमै पुगेर माओवादी अवैधानिक भएको दावी पनि गर्नुभएको थियो ।
आयोगले पूर्वमाओवादी नेताहरूको दावीलाई अस्वीकार गरेको हो । त्यस्तै, माओवादी केन्द्र आफू मातहत रहेको भनी भविश्वर पराजुलीले दिएको निवेदन पनि आयोगले खारेज गरेको छ । पराजुलीले केन्द्रको लेडरप्याड दुरुपयोग गरेको देखिएकोले सचेत गराउने निर्णय भएकोसमेत आयोगले जनाएको छ ।
दल दर्ता खारेजीको मागसहित निवेदन परेपछि आयोगले इजलास गठन गरेर यसबारे सुनुवाइ गर्ने निर्णय गरेको थियो।
Discussion about this post