बाँके। राप्ती सोनारी गाउँपालिका–८ बाँकेकी शोभी थारूलाई घर चलाउन मात्र होइन कपडा, चुरापोते लगायत आफूलाई आवश्यक पर्ने सामान किन्न श्रीमान्को मुख ताक्नुपर्दैन। “आफूलाई मन लागेको सामान र छोराछोरीको कापी–कलम किन्न मसँगै भएको पैसाले पुग्छ, छोराछोरीको फि पनि आफैं तिर्छु, बूढोसँग पैसा माग्न नपरेपछि त जे काम गर्न पनि साहस आउँदो रहेछ”, उनी भन्छिन्।
घरमा सञ्चालन गरेको होमस्टेले शोभीको जीवनमा ठूलै परिवर्तन ल्यायो। उनलाई सानातिना काम गर्न श्रीमान्सँग सल्लाह गर्नुपर्दैन। न त भर नै पर्नुपर्छ। उनका अनुसार होमस्टेबाट मासिक रु.१० हजारदेखि १५ हजार बचत हुन्छ। तर बन्दाबन्दीमा भने आम्दानी शून्य भएको छ।
उक्त गाउँका ११ घरमा २०७४ सालदेखि होमस्टे सञ्चालन छ। जसलाई ‘नयाँ गाउँ सामुदायिक होमस्टे’ नाम दिइएको छ। २२ बेड क्षमताको होमस्टेमा पाहुनाको कमी नहुने उनी बताउँछिन्। “लकडाउनअघि त पाहुना खाली हुँदैनथ्यो, अहिले पनि हामी आउँछौं भन्नुहुन्छ, अब खोल्ने निर्णय गर्दैछौं”, उनले सुनाइन्।
शोभी मात्र होइन उक्त गाउँकै नोखी रेग्मी, मीनता थारू र नानीकला जैसीको जीवन पनि होमस्टेले फेरिदिएको छ। “पैसा आउने बाटो भएपछि त ऋणधन गरेर काम गर्न पनि सकिंदोरहेछ” नोखी रेग्मी भन्छिन्, “श्रीमान्ले कहिले पैसा दिन्छन् भनेर आश गर्नुपर्दैन।”
होमस्टेमा बसोबासका लागि आउने पाहुनाको स्वागत सत्कारका लागि महिला नै खट्छन्। पाहुनालाई पकाउने खुवाउने जिम्मा पनि महिलाकै छ। अनि आम्दानी पनि महिलाकै।
होमस्टेमा बसोबासका लागि आउने पाहुनाको स्वागत सत्कारका लागि महिला नै खट्छन्। पाहुनालाई पकाउने खुवाउने जिम्मा पनि महिलाकै छ। अनि आम्दानी पनि महिलाकै।
होमस्टे सञ्चालन भएका अन्य स्थानका महिलाको जीवनमा पनि यस्तो परिवर्तन आएको छ। बारबर्दिया नगरपालिकामा सञ्चालित ‘सत्खोलुवा होमस्टे’ घर नं. २ की सीता आचार्य पनि होमस्टे सञ्चालनपछि स्वतन्त्र रूपमा काम गर्न पाएको बताउँछिन्।
त्यस्तै मधुवन नगरपालिका–१ डल्ला गाउँकी सविता चौधरीका श्रीमान् रोजगारका लागि काठमाडौंमा छन्। उनलाई अहिले श्रीमान्ले मासिक घरखर्चका लागि पैसा पठाउनुपर्दैन। “पहिला त महीना बित्न पाएको छैन श्रीमान्लाई पैसा पठाउन कराउनुपथ्र्यो, त्यही विषयलाई लिएर झगडा हुन्थ्यो”, उनी भन्छिन्। उनले २०७२ सालदेखि होमस्टे सञ्चालन गरेकी हुन्।
मधुवन नगरपालिका–१ का वडाध्यक्ष एवम् ‘जैविक मार्ग सामुदायिक होमस्टे’ व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम थारू होमस्टेको आम्दानीले महिलालाई आत्मनिर्भर बनाएको बताउँछन्। उनी भन्छन्, “पैसो हातमा नभएर अरूमाथि निर्भर हुनुपर्दा महिलाले आफूलाई कमजोर महसूस गर्दारहेछन्, अहिले पैसा कमाउन थालेपछि उनीहरू साहसी बनेका छन्।”
अरू वेला मेलापातको काम सकिएपछि महिलाहरू फुर्सदिला हुन्थे। होमस्टे सञ्चालन भएपछि उनीहरूलाई फुर्सद हुँदैन। राप्ती सोनारीकी शोभी थारू मेलापातको कामपछि पाहुनाकै स्वागतको तयारीमा व्यस्त हुनुपर्ने बताउँछिन्। “काम नहुँदा दिदीबहिनी जम्मा भयो, दिनभरि कुरा गरेर समय बित्थ्यो, अहिले फुर्सद नै हुँदैन”, उनी भन्छिन्।
होमस्टेमा बस्नका लागि आउने पाहुना विभिन्न संघसंस्थाका सदस्य र विदेशी पनि हुन्छन्। विभिन्न स्थानको अध्ययन अवलोकनका लागि जाने संघसंस्थाका सदस्यको रोजाइ प्रायः होमस्टे हुन्छ। होटलभन्दा सस्तो र गाउँको अग्र्यानिक खाना पाइने भएकाले होमस्टे रोजाइमा परेको हो। त्यसैले होमस्टे व्यवसाय फस्टाएको छ।
होमस्टेमा बस्नका लागि आउने पाहुना विभिन्न संघसंस्थाका सदस्य र विदेशी पनि हुन्छन्। विभिन्न स्थानको अध्ययन अवलोकनका लागि जाने संघसंस्थाका सदस्यको रोजाइ प्रायः होमस्टे हुन्छ। होटलभन्दा सस्तो र गाउँको अग्र्यानिक खाना पाइने भएकाले होमस्टे रोजाइमा परेको हो। त्यसैले होमस्टे व्यवसाय फस्टाएको छ।
निकुञ्ज तथा वनमा घुमघाम र अध्ययनका लागि जानेहरू पनि धेरै हुन्छन्। नेपालका धेरैजसो होमस्टे पर्यापर्यटन लक्षित गरेर सञ्चालन गरिएकाले पनि पाहुनाको कमि नहुने नयाँगाउँ सामुदायिक होमस्टेका सचिव मंगल थारू बताउँछन्।
उनका अनुसार होमस्टे सञ्चालनपछि गाउँमा सरसफाइ गर्ने चेतना फैलिएको छ। अहिले कसैको घरमा फोहोर भेटिंदैन। त्यसैगरी महिलाहरू विभिन्न ठाउँबाट आउने मानिससँग कुरा गर्न र खुवाउन सिकेका छन्। जसले गर्दा चेतनाको स्तर पनि माथि उठेको छ।
बाँकेको गभार भ्याली सामुदायिक होमस्टेका सञ्चालक कृष्ण चौधरी पनि यो व्यवसायले थारू महिलाको चेतना धेरै माथि उठेको बताउँछन्। “थारू महिला आफ्नो समुदायबाहेक अरूसँग बोल्न डराउँथे, गाउँबाट अन्यत्र नजाने उनीहरूलाई नेपालका अरू ठाउँका बारेमा जानकारी कमै थियो, होमस्टेमा आउने पाहुना र उनीहरूसँगको घुलमिलले विभिन्न ठाउँको संस्कृति र मानिसहरूलाई चिन्ने मौका पाएका छन्”, चौधरी भन्छन्।
#himakhabar weklly
Discussion about this post