काठमाडौं । आँखा मात्रै देखिने गरी बाँधिएको स्काफ। टाउकोदेखि निधारसम्म र घाँटीदेखि नाकसम्मको भाग छोपिएको। एसिड आक्रमण पीडित वीरगन्जकी मुस्कान खातुन सोमबार सिंहदरबारस्थित प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकका लागि यसैगरी आएकी थिइन्।
समितिले एसिड आक्रमणबाट पीडित भएकाहरुको अवस्था र विद्यमान कानुनी अवस्थाबारे छलफल गर्न मुस्कान जस्तै अन्य पीडित र मन्त्रालयका प्रतिनिधिहरुलाई बोलाएको थियो। बिहान ११ः१५ बजेतिर आफ्नो आमाबाबुसहित आएकी मुस्कान बैठक कक्षको ढोकामा पुगेलगत्तै गर्मी भए जसरी स्काफ निकालिन्। तीनै जना एकैछिन उभिए । उनीहरुलाई मर्यादापालकले स्यानिटाइजर लगाएर भित्र जान संकेत गरे।
भित्र पस्नै लाग्दा मुस्कानलाई एक मर्यादापालकले मास्क लगाएर जान भने। उनले आफ्नो दायाँ भाग गालातिर हात लग्दै, थोरै फर्किएर एसिडले जलेको भाग देखाउँदै भनिन्, “मेरो यो साइड ड्यामेज छ, मास्क लगाउन मिल्दैन।”
उनी तिनै १४ वर्षीया किशोरी हुन्, जसलाई ११ महिनाअघि पढ्न जाँदै गर्दा दुई जनाले बाटो ढुकेर एसिड हानेका थिए। उनको अनुहारको दायाँ कान, गालासहितका भाग जलेर खाटा बसेको छ। त्यहाँ मास्क अड्काउन मिल्दैन।
समितिका सदस्यलाई २० भदौ २०७५ को घटना सुनाउँदै गर्दा मुस्कान भक्कानिएकी थिइन्। उनलाई एकजना दाइले गरेको रु.५ लाख सहयोगले कीर्तिपुरमा पहिलो अपरेशन भएको थियो। त्यसपछि उज्जवल विक्रम थापाले सहयोग गरे। विभिन्न व्यक्तिले गर्ने आर्थिक सहयोगमा नै उनको उपचार भइरहेको छ।
उनले सांसदहरुसँग भनिन्, “अहिले मलाई दिनको पाँच पटकसम्म औषधि लगाउन डाक्टरले भन्नुभएको छ। तर, पैसा नभएर दिनको एकचोटी मात्रै लगाउने गरेको छु। अझै मेरो नौ वर्षसम्म निरन्तर उपचार गर्नुपर्छ भनिएको छ, कसरी उपचार गर्ने? बाबाममीको पनि केही काम छैन, मसँगै काठमाडौं बस्नु परेको छ।”
तिघ्रा, पेट लगायत भागको मासु काटेर पोलेको ठाउँमा राखिन्छ। बारम्बार अस्पताल धाउनुपर्ने कारण बाबाआमाले धान्न सक्ने अवस्था नभएको उनले दुखेसो गरिन्।
मुस्कानजस्तै जेनी खड्का र संगीता थापामगरले पनि पीडा सुनाए। अधिकांश एसिड आक्रमण बदलाको भावले भएको प्रहरीको अध्ययनले जनाएको छ।
जेनी र उनको श्रीमानबीच धेरै विषयमा कुरा मिल्दैनथ्यो। कयौं पटक श्रीमानको कुटपिटबाट च्यातिएकै लुगामा प्रहरी चौकी पुग्दा पनि श्रीमान्–श्रीमतीको झगडा भन्दै मिलाएर पठाइन्थ्यो। अहिले पनि उनलाई प्रहरी प्रशासनको त्यो व्यवहारले आक्रोशित बनाउँँछ।
हात, घाँटी र शरीरको भाग जलेको छ। चाहेको लुगा लगाएर हिंड्न पाउँदिनन्। बिहान उठ्दा आफ्नो शरीरको छाला पुरै कक्रक्क भएको हुन्छ।
गएको वर्ष जेठमा काठमाडौं कालोपुलमा उनलाई आफ्नै श्रीमानले एसिड हानेका थिए। उनले भनिन्, “यत्रो उमेरसम्म एक चोटी औषधि नखाएको मान्छेले जिन्दगीभरि औषधी खानुपर्छ। मैले फाइनान्सबाट ऋण लिएको एक वर्षसम्म ब्याजसमेत तिर्न सकेको छैन। देख्नेले ‘ए के भएको’ भनेर सोध्छन्, टाढैबाट देख्नेले विचरा भन्छन्। तर, त्यसले त झन् पीडा मात्रै दिने रहेछ।”
विगत केही महिनादेखि एक प्रोजेक्टमार्फत यस्तै विभिन्न कारणले जलेका महिलाहरुसँग काम गर्दै आएकी उनले भनिन्, “हुन त बदलाको भावना भन्ने पनि होला, तर एसिडको बदला एसिड नै हान्ने खालको कानुन होस्। अनि मात्र एसिड आक्रमणको घटना कम हुन्छ कि।”
जेलमा राखे पनि खान र खेल्न दिने र फाँसी दिए पनि क्षण भरमै सकिने हुनाले उनीहरुले आफूहरुले जस्तो पीडा खप्नु नपरेको उनी बताउँछिन्।
एसिड आक्रमणपछि उनको जीवनमा ठूलो उतारचढाव आयो। खाँदै गरेको जागिर गयो। बुबा गुमाएपछि आमासँगै बस्दै आएकी उनीमाथि भएको आक्रमणका कारण आमा पनि बिरामी भइन्।
पैसा नहुँदा अस्पतालले डिस्चार्ज गरेर पनि बाहिर जान सकिनन्। थप १५ दिन अस्पतालमै बस्नु परेको थियो। पछि एकजना दिदीले फेसबुकमार्फत आर्थिक सहयोग जम्मा गरेर दिएपछि डिस्चार्ज भएको उनी बताउँछिन्।
उनले भनिन्, “अहिले एउटा प्रोजेक्टमा काम गर्छु, जलेकै महिला दिदीबहिनीहरुको लागि चेतनामूलक काम हो तर, छोटो समयको प्रोजेक्ट हो। सकिन लाग्यो। जलेकै कारण सर्टिफिकेट भएर पनि बेरोजगारी भएर बस्नुपर्ने रहेछ। कम्तीमा रोजगारीको सुनिश्चितता भए अरुको हात थाप्नुपर्ने त थिएन ।”
निजी कम्पनीहरुले अनुहार हेरेर मात्रै जागिर दिने उनी बताउँछिन्। “त्यसकारण रोजगारीको सुनिश्चितता र एकचोटीको आक्रमणपछि जीवनभरि गर्नुपर्ने उपचार सरकारले गर्दिए हुन्थ्यो भन्ने हामी जस्ता जलेका महिलाहरुको माग हो”, उनले भनिन्।
झण्डै ६ वर्ष अघि एसिड आक्रमणबाटै आफ्नो अनुहार र हात तथा शरीरको भाग जलेकी संगीता थापामगरको गुनासो पनि मुस्कान र जेनीको जस्तै छ। कडा कानुनकै अभावमा घटना बारम्बार दोहोरिरहेको उनले बताइन्। उनले भनिन्, “मलाई आक्रमण हुने बित्तिकै कडा कानुन बनाएको भए जेनी र मुस्कानमाथि आक्रमण हुँदैनथ्यो कि?”
एसिड आक्रमणका पीडितहरुको अवस्था बुझ्न र यससम्बन्धी विद्यमान कानुनी अवस्थाबारे छलफल गर्न आयोजित छलफलमा समितिले पहिलो पटक एसिड पीडितहरुलाई नै बोलाएको हो। समितिले एसिड आक्रमणबाट पीडित भएकाहरुको शिक्षा, स्वास्थ्य उपचार, रोजगारी र सामाजिक पुनस्र्थापनाको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा राष्ट्रिय महिला आयोगलाई निर्देशन दिएको छ। यससम्बन्धी विद्यमान कानुनमा भएको दण्ड सजाय कम भएको भन्दै तत्काल कानुन संशोधनको लागि पहल गर्न पनि गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
समिति गठन
एसिड आक्रमणको घटना भइरहेकाले एसिडबारे समग्र पक्षको एक अध्ययन अनुगमन गर्न महान्यायाधिवक्ताको कार्यालयले समिति गठन गरेको छ। आइतबार महान्यायाधिवक्ता अग्नि खरेल समेतको उपस्थितमा भएको बैठकले नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाको नेतृत्वमा समिति बनाएको हो।
समितिमा कानून मन्त्रालयका सहसचिव हुमबहादुर केसी, गृहका सहसचिव स्तरका प्रतिनिधि, स्वास्थ्य मन्त्रालयका डा.विकास देवकोटा, महिला बालबालिका मन्त्रालयकी उपससचिव रोशनी कार्की तथा उद्योग मन्त्रालय र यस मातहतका तीनजना प्रतिनिधि सदस्य छन्। समितिले एक महिनाभित्र अध्ययन तथा अनुगमन गरेर प्रतिवेदन बुझाउनेछ।
#himallkhabar
Discussion about this post