स्वास्थ्य मन्त्रालयमै छैन ‘स्तनपान कक्ष’, देशभर गर्‍यो सप्ताह मनाउने

7
SHARES
15
VIEWS

काठमाडौं । विश्व स्तनपान सप्ताहमा शुभकामना दिंदै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले भनेका थिए, “स्तनपान गराइरहेकी कामकाजी आमाहरूलाई स्तनपानमैत्री वातावरण सृजना गरी सहयोग गर्न सबै सरकारी, गैरसरकारी कार्यालयहरूलाई अनुरोध गर्दछु। सेवाग्राहीको भीडभाड हुने सार्वजनिक स्थलहरूमा स्तनपान कक्षको स्थापना गरी स्तनपानलाई संरक्षण तथा सम्बर्द्धन गरिदिन सबै सरोकारवालाहरूलाई पनि हार्दिक अनुरोध गर्दछु।”

तर मन्त्री ढकालले सम्हालेकै देशकै स्वास्थ्य क्षेत्रको केन्द्र स्वास्थ्य मन्त्रालयमा भने अहिलेसम्म पनि स्तनपान कक्ष छैन।

मन्त्रीको यो शुभकामना हेरेकी स्वास्थ्य मन्त्रालयकै एकजना महिला कर्मचारीले  भनिन्, “अहिलेसम्म हाम्रै मन्त्रालयमा स्तनपान कक्ष छैन। कतिपय बच्चा लिएर आउने सेवाग्राही र कामका लागि विभिन्न ठाउँबाट आउने स्वास्थ्यका महिला कर्मचारीहरूले हामीसँग सोध्नुहुन्छ, ‘मन्त्रालयको यत्रो ठूलो भवनमा एउटा कोठा पनि नछुट्याएको?’”

मन्त्रालयकी सहसचिव शैलेजा रेग्मीले स्तनपान कक्ष अहिलेसम्म नभएको स्वीकार गर्दै केही दिनभित्र स्थापना गर्ने बताइन्।

१७ साउनदेखि आजसम्म (१–७ अगस्ट) विश्वव्यापी रुपमै ‘विश्व स्तनपान सप्ताह’ मनाउने गरिएको छ। नेपालमा पनि हरेक वर्ष मनाइँदै आएको सप्ताहको सरकारले यसवर्ष नारा राखेको थियो, “स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार”।

स्तनपान संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष संसारभर ‘विश्व स्तनपान सप्ताह’ मनाउने गरिन्छ।

नेपालमा पनि हरेक वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वानमा यो अभियान मनाइन्छ।  स्वास्थ्य मन्त्रालयले संघीय मामिला मन्त्रालयमार्फत स्थानीय तहहरूलाई सप्ताह शुरु हुनु एक हप्ताअघि नै अभियान सफल पार्न परिपत्र गरेको थियो।

स्वास्थ्य र महिलासँग सम्बन्धित कार्यालयमा नै छैनन् ‘स्तनपान कक्ष’

स्वास्थ्य क्षेत्रको मूल निकाय मानिने सिंहदरबार बाहिर रहेको स्वास्थ्य मन्त्रालय मात्रै होइन, मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र पनि अवस्था उस्तै छ।

स्वास्थ्य बाहेकका सबै मन्त्रालय सिंहदरबारभित्र छन् । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि कुनै पनि मन्त्रालयहरूमा ‘स्तनपान कक्ष’ छैन।

यतिसम्म कि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयदेखि संघीय संसद सचिवालयको समेत हालत उस्तै छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता टेकराज निरौलाले यो आर्थिक वर्षमा ‘स्तनपान कक्ष’ बनाउने योजना रहेको बताए। उनका अनुसार यसअघि उनी कार्यरत रहेको महिला विभाग (पुल्चोक)मा पनि स्तनपान कक्ष छैन।

केही मन्त्रालयका उच्च अधिकारीहरू सिंहदरबारभित्र शिशु स्याहार केन्द्र भएकाले आमा महिला कर्मचारीहरूलाई त्यहाँ जान समय दिइएको बताउँछन्। तर सरकारी कार्यालयमा कर्मचारीका लागि मात्रै होइन सेवाग्राहीहरूको लागि पनि ‘स्तनपान कक्ष’ आवश्यक पर्छ भन्नेतिर कसैको ध्यान गएको देखिंदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित