काठमाडौं। पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ ।
काठमाडौंमा उपचारका क्रममा सीताको निधन भएको हो । उनलाई नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ ।
दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।
निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो । कोरोनाभाइरसको संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित रहेकी थिइन् ।
सीता महरा वि.सं. २०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा र आमा खिर्मादेवी थापाको कोखबाट रोल्पाको गजुल धौलेगाउँमा पहिलो सन्तानको रुपमा जन्मिएकी थिइन् ।
उनको कृष्णबहादुर महरासँगै २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी रहेका छन् ।
महरा भूमिगत भएपछि तत्कालीन राज्यले धेरैपटक शारिरीक मानसिक यातना दिनुका साथै केही दिन हिरासतमा पनि लिएको थियो ।
सामान्य लेखपढ मात्रै गर्न जानेकी सीता महरा तत्कालीन माओवादीको ठूलो जिम्मेवारीमा नरहे पनि कृष्णबहादुर महरालाई नजिकबाट पारिवारिक तथा पार्टी राजनीतिमा पनि सहयोग गरेकी थिइन् ।
Discussion about this post