नेपाल पक्षका साढे ३ लाख कार्यकर्ता : कारबाही गरेर देखाउन चुनौती

7
SHARES
15
VIEWS

काठमाडाैं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण सोधेपछि नेपाल समूहले आफ्नो पक्षमा रहेका साढे तीन लाख नेता–कार्यकर्तालाई नै कारबाही गर्न चुनौती दिएका छन्। अध्यक्ष ओलीले वैधानिक रूपमा केन्द्रीय कमिटीको बैठक नराखी नेपाल समूहलाई तर्साउने र कारबाही गर्ने नियतले चार नेतालाई स्पष्टीकरण सोधेका छन्। ओलीको यस्तो रबैयाबाट रुष्ट नेपाल समूहले आफ्नो साथमा साढे तीन लाख नेता–कार्यकर्ता रहेको भन्दै ती सबैलाई कारबाही गर्न चुनौती दिएको हो।

ओली समूहले फागुन २८ गते आफू पक्षीय केन्द्रीय कमिटीको बैठक राखेर कमिटीमा सदस्यहरू थप गरी नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेको थियो। नेपाल–झलनाथ खनाल पक्षले त्यो निर्णय अमान्य भन्दै सच्याउनुपर्ने, केन्द्रीय कमिटीको नवौं बैठकबाट पार्टीका काम अघि बढाउनुपर्नेलगायत माग राखेकै बेला ओलीले चारजना नेतालाई स्पष्टीकरण सोधेपछि विवाद उत्कर्षमा पुगेको छ। ओली समूहले फागुन २८ गतेको निर्णय सच्याउन नमानेपछि नेपाल–खनाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ताको भेला गरेको थियो। भेलाले एमालेभित्रै बसेर ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निर्णय गरेको थियो। त्यसबाट रुष्ट ओलीले नेपालसहित उनी पक्षका नेताहरूलाई तर्साउन स्पष्टीकरण सोधेका हुन्।

नेपाल समूहले राजनीतिक रूपमै स्पष्टीकरणको जबाफ दिने तर ओलीसामु घुँडा नटेक्ने जनाएको छ। वरिष्ठ नेता नेपालले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएका बेला ओलीले जनताको बहुदलीय जनवाद (जबज) लाई तिलाञ्जली दिएका कारण जबजको असली हकदार उनी नभएको बताइसकेका छन्। नेपालले स्पष्टीकरणबाट आफूहरू नतर्सिने बताएका छन्। आफूनिकट अनेरास्ववियुको भेलालाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले भने, ‘के हामी केपी ओलीका अगाडि घुँडा टेक्ने बाटोमा जाने हो, आत्मसमर्पण गर्ने बाटोमा जाने हो ? कि केपी ओलीको टाङमुनि छिर्ने बाटोमा जाने हो ? यो कुरा हामीलाई किमार्थ मन्जुर छैन। त्यसकारण हामी केपी ओलीको कथित स्पष्टीकरणबाट तर्सिएका छैनौं, आतंकित भएका छैनौं, केपी प्रवृत्तिविरुद्ध लड्छौं।’

नेपाल पक्षमा रहेका एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नवौं महाधिवेशनको विधि, विधान र अवस्था हेर्ने हो भने पार्टीका सात लाख कार्यकर्तामध्ये साढे तीन लाखभन्दा बढी नेपाल पक्षमा रहेको र त्यसको पुष्टि चैत ४ र ५ गतेको राष्ट्रिय भेलाले पनि गरेको बताएका छन्। उनले सक्ने भए साढे तीन लाख कार्यकर्तालाई कारबाही गरेर देखाउन ओली समूहलाई चुनौती दिए। उनले भने, ‘सक्ने भए नेपाल पक्षमा रहेका सबै नेता–कार्यकर्तालाई कारबाही गरेर देखाए हुन्छ।’ एमालेको वैधानिक केन्द्रीय कमिटी बैठक नराखी स्पष्टीकरण सोध्ने वा कारबाही गर्ने अधिकार कसैलाई नभएको पनि उनले बताए।

भट्टराईका अनुसार पार्टीभित्र समानान्तर भेला गर्नु वा आफ्ना कुरा कार्यकर्तामाझ राख्नु सामान्य हो। यसभन्दा अघि ओलीले पनि यस्ता भेला कैयौंपटक गरेको स्मरण गर्दै उनले एमालेमा यस्ता भेला सामान्य हुने बताए।

तर ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेपाल–खनाल पक्षले माफी मागे विगतका सबै कुरा बिर्सने बताएका छन्। उनले एकै ठाउँमा बसेर नेतृत्वविरुद्ध गरिएका हर्कत भने माफीयोग्य नहुने पनि बताए। ओली पक्षका नेताहरूले नेपाल समूहलाई स्पष्टीकरण सोधेर वा कारबाही गरेर अघि बढ्नुपर्ने धारणा राखिरहेका छन्। तर नेपाल समूहले सहजै मैदान नछाड्ने जनाएको छ। ओली पक्षले जितेका सबै जिल्लामा समानान्तर कमिटी बनाउने निष्कर्षमा नेपाल पक्ष पुगेको छ। युवा संघ र महिला संघमा समानान्तर कमिटी बनाइसकेको नेपाल पक्षले अनेरास्ववियुमा पनि त्यस्तै तयारी गरेको छ। जनवर्गीय सबै संगठनमा नेपाल पक्षले समानान्तर कमिटी बनाएर ओलीलाई चुनौती थपेको छ। पार्टीका सबै कमिटी समानान्तर हुने भएपछि कसलाई कारबाही गरेर निकाल्ने भन्ने समस्या ओलीसामु देखिएको छ। टपेन्द्र कार्कीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित