भरतमोहन अधिकारी फाउण्डेशनले ज्येष्ठ नागरिकलाई पढाउने

7
SHARES
15
VIEWS

काठमाडौं । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले ज्येष्ठ नागरिकहरुका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

स्व.भरतमोहन अधिकारीको ८६औं जन्मजयन्तीका अवसरमा बुधबार आयोजित भर्चुअल कार्यक्रममार्फत शैक्षिक कार्यक्रम घोषणा गरिएको हो ।

भरतमोहत पुत्री लीमा अधिकारीले ‘ज्येष्ठ नागरिकहरुका लागि आधारभूत शैक्षिक कार्यक्रम’ घोषणा गरिन् ।

उनले निरक्षरताका कारण विभिन्न अवसरबाट बञ्चित ज्येष्ठ नागिरकका लागि उपयोगी हुने उद्देश्यले शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइन् ।

एक वर्षे शैक्षिक कार्यक्रममार्फत निरक्षर ज्येष्ठ नागरिकहरूलाई सामान्य लेखपढ गर्न, हिसाब राख्न, मोबाइल फोन, इलेक्ट्रोनिक सामान र टेलिफोन प्रयोग गर्न तथा सडक संकेतबारे जानकारी लिन सक्ने बनाइने अधिकारीले बताइन् ।

पहिलो चरणमा ललितपुरको बुङमतिमा ज्येष्ठ नागिरकका लागि आधारभूत शैक्षिक कार्यक्रम सुरु गरिनेछ ।

तत्काल प्रदेश तीन र क्रमशः सातवटै प्रदेशमा ज्येष्ठ नागरिक आधारभूत शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखिएको उनले उल्लेख गरिन् ।

पहिलो चरणमा ६० वर्ष उमेर नाघेका ३० जना निरक्षर वृद्धवृद्धा छनौट गरेर कार्यक्रम सञ्चालन गरिने फाउण्डेशनले जनाएको छ ।

सार्वजनिक बिदाका दिनबाहेक हरेक दिन दुई घण्टा दरले कक्षा सञ्चालन गरिने छ । कक्षामा एक को–अर्डिनेटर, नेपाली र स्थानीय भाषामा दख्खल राख्ने स्नातकोत्तर अध्ययन गरेका प्रमुख शिक्षक र प्लस टु अध्धयन गरेका सहायक शिक्षकको व्यवस्था मिलाइएको छ ।

अधिकारीले कक्षामा सहभागी हुने ज्येष्ठ नागरिकलाई शैक्षिक सामग्र्री, मोबाइल, बस, झोला र दिवा खाजाको व्यवस्था फाउण्डेशनले नै गर्ने घोषणा गरिन् ।

प्रयोगात्मक सिकाइका लागि आवश्यकतानुसार वृद्धवृद्धालाई शैक्षिक भ्रमणसमेत गराइने कार्यक्रम छ । सिकाइ मापन गर्न हरेक महिना आंशिक र १२औं महिनामा अन्तिम परीक्षा लिइनेछ । अन्तिममा प्रमाणपत्र समेत उपलब्ध गराउने फाउण्डेशनले जनाएको छ ।

कार्यक्रममा ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत संस्था एजिङ नेपालका निर्देशक प्रकाश गौतमले ज्येष्ठ नागरिकलाई राज्यले हेर्नुपर्छ भन्ने कामको पहिलो पाइला भरतमोहन अधिकारीका तर्फबाट सुरु भएको बताए । भरतमोहनले थालेको एक सय रुपैयाँ वृद्धभत्ता बढेर हाल तीन हजार पुगेको भन्दै उनले उक्त कामका कारण अधिकारी सदैव जीवित रहने उल्लेख गरे ।

ज्येष्ठ अशिक्षित हुँदा युगअनुसार चल्न नसक्ने र जीवनयापन कठिन हुने भएकाले उनीहरु शिक्षित हुन जरुरी रहेको उनको भनाइ थियो । ज्येष्ठ नागरिकलाई सशक्तीकरण गर्न अध्ययन जरुरी रहेको स्पष्ट गर्दै गौतमले विदेशमा रहेका सन्तानलाई फोन गर्न र आएको फोन फर्काउन नसक्नेको संख्या धेरै रहेको बताए ।

‘आमाबाबु निरक्षर हुँदा छोराछोरीलाई पनि समस्या हुने गरेको छ’, गौतमले भने, ‘ज्येष्ठ नागरिकलाई बोझ सम्झने सामाजिक मनोविज्ञान झाँगिएकाले यस्तो कार्यक्रम प्रभावकारी हुने विश्वास हामीलाई छ ।’

कूल जनसंख्याको ११ प्रतिशत अर्थात ३५ लाख बढी ज्येष्ठ नागरिक रहेकाले उनीहरुका लागि काम गर्नुपर्नेमा जोड दिए । ज्येष्ठ नागरिकप्रतिको दुव्र्यहारको प्रमुख कारण बुढ्यौली जीवनको योजना बनाउन नसक्नु भन्दै उनले अहिले युवा र प्रौढ अवस्थामा रहेकाहरुले छोराछोरी र परिवारको सँगै आफ्नो बुढ्यौली जीवनको योजना पनि बनाउन सुझाए ।

संयुक्त राष्ट्रसंघीय सहश्राब्दी विकास लक्ष्यको चौथो नम्बरमा ‘एडुकेशन फर अल’ कार्यक्रम समावेश भएको चर्चा गर्दै उनले शिक्षा र प्रविधि जोडेर ज्येष्ठ नागरिकलाई सँगै लैजानुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा शिक्षाविद गोविन्द् गजुरेलले भरतमोहन अधिकारीको नाम लिने बित्तिकै ज्येष्ठ नागरिकको अनुहार अगाडि आउँने बताए । ज्येष्ठ नागरिक, एकल महिला, सुत्केरी भत्ताजस्ता सामाजिक सुरक्षाका सवालमा भरतमोहन अधिकारीले थालेका प्रयास अहिले समाजको अभिन्न अंग भएको गजुरेलले उल्लेख गरे ।

वृद्धवृद्धाका लागि मात्र नभई महिला सशक्तिकरणमा समेत भरतमोहनको योगदान रहेको चर्चा उनले गरे । महिलाका नाममा जग्गाको रजिस्टे«शन पास गर्दा लाग्ने शुल्कमा छुट दिने भरतमोहनको नीतिले महिलालाई सम्पत्तिको मालिक बनाएको उनको भनाइ थियो ।

शिक्षाविद् जनकराज तुलाधरले परिवर्तित सन्दर्भमा ज्येष्ठ नागरिकलाई प्रविधि प्रयोगमा जटिलता रहेकाले शिक्षाले घरमा सीमित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने विश्वास व्यक्त गरे ।

पाउण्डेशनकी अध्यक्ष एवं भरतमोहन अधिकारी पत्नि सविता अधिकारीले स्वर्गीय भरतमोहनमा ज्येष्ठ नागिरकप्रति ठूलो आस्था, विश्वास र सदभाव रहेको स्मरण गरिन् । ज्येष्ठ नागिरकप्रतिको सम्मान स्वरुप ०५१ सालमा अल्पमत सरकारको अर्थमन्त्री हुँदा भरतमोहनले वृद्धभत्ताको कार्यक्रम सुरुआत गरेको बताइन् ।

सुरुमा सानै रकम भए पनि त्यसले देशभर वृद्धवृद्धामा राम्रो प्रभाव पारेको र अहिले माशिक तीन हजार पुगेको भन्दै उनले ०५१ यता बनेका विभिन्न दलका सरकारले उक्त कार्यक्रम हटाउन नसकेको उल्लेख गरिन् ।

‘आफ्नो गाऊँ आफैं बनाऔं, गाउँगाउँमा सहकारी, घरघरमा भकारी, वृद्धभत्ता, एकल महिला भत्ताजस्ता कार्यक्रमले भरतमोहन जनताका बीचमा लोकप्रिय हुनुहुन्छ’, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित