काठमाडौं । नकेपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएका कतिपय उपलब्धी गुम्दै जाने खतरा पैदा भएको बताएका छन् ।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस–२०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले उत्पीडित समुदायले न्याय पाउने व्यवस्था संविधानमा गरिएको तथा त्यस अनुसारको कानून निर्माण भए पनि लागू नहुँदै उपलब्धी मासिने सङ्केत गरेका हुन् ।
संविधान र कानूनमा भएको व्यवस्था मात्र कठोरतापूर्वक कार्यान्वयन गर्न सके मात्रै पनि जातीय विभेद र हिंसा न्यूनीकरण हुन सक्ने भन्दै प्रचण्डले भनेका छन्, ‘तर अहिले संघर्षबाट प्राप्त उपलब्धी गुम्ने खतरा पैदा भएको छ । सामन्ती राज्य व्यवस्थाविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी अहिले गुम्दै जाने खतरा पैदा भएको छ ।’
सामन्तवादका उपज सामाजिक कलङ्कका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरुका बीच एकतावद्ध पहलकदमीको आवश्यकता पनि प्रचढडले औंल्याएका छन् । उनले मानिसले मानिसमाथि गर्ने भेदभाव लज्जाको विषय भएको समेत बताएका छन् ।
‘मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१औं शताब्दीको मानव समुदायका लागि लज्जाको विषय हो,’ उनले भनेका छन् । आजको विकसित दुनियाँमा पनि जातीय भेदभाव र दलित समुदायमाथिका विभिन्न प्रकारबाट हिंसा भइरहेको भन्दै प्रचण्डले उत्पीडित समुदायले न्याय पाउने कानुनमा भएको व्यवस्था कडाईका साथ पालना गराउनुपर्नेमा जोड दिएका छन् ।
‘सामाजिक जागरण अभियान र कठोर कानूनी उपचारले मात्र यस्ता सामाजिक अपराधलाई निर्मूल गर्न सकिन्छ,’ उनले भनेका छन्, ‘जातीय छुवाछुत, विभेद र हिंसासम्बन्धी संविधान र कानूनमा भएको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न राज्य संयन्त्रलाई निर्देशित गर्ने र जातीय हिंसा र छुवाछुत विरुद्ध जनचेतना लगायतका जागरणमूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’
Discussion about this post