नुवाकोट। मुलुकभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दरमा केही कमी आइरहेको भए पनि नुवाकोटमा खासै घट्न सकेको छैन ।
नुवाकोटको संक्रमण दरामा कमी नआउँदै जिल्लामै कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टा प्लस’ भेटिएको छ । कोरोना भाइरसको बढी संक्रामक भनिएको नयाँ भेरियन्ट फेला परेसँगै देशभर तेस्रो लहरको चिन्ता बढेको छ ।
त्रिशूली जिल्ला अस्पतालले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै त्रिशूली अस्पतालको पीसीआर प्रयोगशालाबाट पोजेटिभ देखिएका ४ वटा स्वावको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तर्राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाएकामा ४ वटामध्ये एउटा नमूनामा ‘डेल्टा प्लस’ भेटिएको उल्लेख गरेको छ ।
डेल्टा प्लस भेरियन्ट पहिलेको भेरियन्ट भन्दा ६० देखि १०० प्रतिशत भन्दा बढी संक्रामक रहेको अनुसन्धानहरूबाट पुष्टि भइसकेको छ । त्यसकारण सजग रहन जिल्ला अस्पतालले आग्रह समेत गरेको छ ।
अस्पतालमा मेडिकल सुपरीटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेका अनुसार डेल्टा प्लस भेरियन्टले बालबालिकादेखि ज्येष्ठ नागरिकहरूलाई समेत उच्च संक्रमण गर्न सक्ने र फोक्सोमा बढी असर गर्न सक्ने क्षमता भएकाले सजग रहेर स्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प छैन ।
महामारीको रूपमा रहेको कोभिड–१९ को संक्रमितहरू नुवाकोटमा थपिइरहेका छन् । पछिल्लो पटक नुवाकोटमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७ जना पुगेको छ । त्यसमध्ये ३६ जनाको कोरोनाको दोश्रो भेरियण्टबाट ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटमा ५ हजार दुई सय ९२ जना कोरोना संक्रमित निको भएका छन् । नुवाकोटमा शनिबारसम्म पाँच हजार ८४० जना कोरोना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार सोही अवधिमा २४ जना निको भएका छन् ।
हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ५११ छ । कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार सक्रिय कोरोना संक्रमितमध्ये ४५७ जना होम आइसोलेसनमा, २९ जना अस्पतालमा र २५ जना आइसोलेसन सेन्टरमा उपचाररत छन् ।
Discussion about this post