काठमाडौं । अस्मिता आले बेलायतको फुटबल क्लब टोटनह्याममा आबद्ध भएकी छिन् ।
भूपू गोर्खा सैनिककी छोरी १९ वर्षीया आलेले सन् २०२३ सम्म टोटनह्यामबाट खेल्ने गरी क्लबसँग सम्झौता गरेकी हुन् । यसअघि उनी सन् २०२१ र २०२२ का लागि एस्टोन भिल्लामा आबद्ध थिइन् ।
आलेले यस क्लबबाट १८ वटा खेलमा सहभागी भएकी थिइन् । उनी १९ वर्षमुनिका सहभागी हुने ‘युरोपियन च्याम्पियन फाइनल’का लागि सन् २०१९ मा स्कटल्यान्डमा भएको खेलमा इङ्ल्यान्डको तर्फबाट सहभागीसमेत भएकी थिइन् ।
उनले क्लबको प्रतिनिधित्व गर्दै १३ नम्बरको जर्सी लगाउने भएकी छिन् । छोटो समयमा महिला फुटबल क्षेत्रमा उच्च स्थानमा पुग्न सफल भएकी आलेलाई एस्टान भिल्लामा रहँदा राम्रो प्रदर्शन गरेको भनी टोटनह्यामले प्रशंसासमेत गरेको छ ।
टोटनह्याममा अनुबन्ध भएपछि अस्मिताले क्लबको नाम निकै उच्च रहेको र क्लबका प्रशिक्षक रेहानीसँग थुप्रै कुरा सिक्ने र अघि बढ्दै टोलीलाई अग्रस्थानमा लैजाने बताएकी थिइन् । क्लबका प्रमुख प्रशिक्षक रेहानीले केही वर्षको अन्तरालमै निकै राम्रो गर्न सफल अस्मिता एक शानदार युवा खेलाडी भएको र उनीसँग धेरै क्षमता रहेको कुरा यसअघिका खेल योगदानले देखाइसकेको बताएका थिए । रासस
Discussion about this post