काठमाडौं,,जेष्ठ ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष दाहाल बालुवाटार पुगेका थिए।
दुई अध्यक्ष बीच एक्लाएक्लै भेटवार्ता भएको दाहालका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले बताए। भेटवार्ताबाट सचिवालय बैठक बोलाउने निर्णय भएको छ। सापकोटाका अनुसार, मंगलबार सचिवालय बैठक बोलाइएको छ।
आगामी आर्थिक वर्षको बजेटमा अमेरिकी परियोजना मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) राखिएपछि गएको १६ जेठमा नेकपाको आकस्मिक सचिवालय बैठक बसेको थियो। तर, उक्त बैठकले संसदबाट निर्णय नभएसम्म एमसीसी अन्तर्गतका सबै कार्यक्रम यथावत राख्ने निर्णय भएको थियो।
नेकपामा एमसीसी पारित गर्ने वा नगर्ने भन्नेबारे विवाद चलिरहेको छ। विवादित परियोजना एमसीसी बजेटको अनुसूची–१० मा राखिएकाले यसबारे सचिवालयमा छलफल गर्ने गरी बैठक बोलाइएको छ।
आगामी आर्थिक वर्ष एमसीसीबाट पाँच अर्ब ७४ करोड अनुदान आउने अनुमान सहित बजेटमा राखिएको छ।
संसदबाट पारित नभएको कार्यक्रमबाट अनुदानको अनुमानित आय राखेर वैधानिकता दिन खोजिएको भन्दै नेकपामा सरकारको आलोचना भइरहेको छ। गएको पुसमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले बरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा एमसीसीबारे अध्ययन गर्न कार्यदल गठन भएको थियो। कार्यदलले प्रतिवेदन पनि बुझाएको छ।
तर, कार्यदलका सदस्यहरु बीच पनि सहमति जुट्न नसकेपछि खनाल र भीम रावलसँग अर्का सदस्य एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छुट्टै प्रतिवेदन पार्टीमा बुझाएका छन्।
Discussion about this post