Skip

News Portal

  • कसैले रिसले चर्चा गर्छन् ,कसैले डाहाले गर्छन् -मन्त्री गजेन्द्र हमाल(अन्तर्वार्ता)

    कर्नालीसंचार संवाददाता
    २९७ पटक

    प्रधानमन्त्री शेरबहादुर देउवाले झण्डै तीन महिनापछि मन्त्रिमण्डल विस्तार गरेका छन् । शुक्रबार मन्त्रिपरिषद विस्तार भएपछि एउटा विषयले निकै चर्चा र आलोचना पाएको छ । सांसद नै नरहेका नेपाली कांग्रेस बाँकेका पूर्वसभापति गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाएपछि आलोचना र चासो भएको छ । हमाललाई प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको सिफारिसमा मन्त्री बनाएको भनेर समाचार आएका छन् । हमाल र जबराबीच पारिवारिक साइनो पनि छ । यि र यस्तै विषयमा उठेका जिज्ञासामा केन्द्रित रहेर  नवनियुक्त मन्त्री गजेन्द्र हमालसँग  गरिएको कुराकानीको सम्पादित अंश –

    तपाई मन्त्री बनेको विषयमा धेरै आलोचना र टिकाटिप्पणी भएका छन् । तपाईलाई प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको सिफारिसमा मन्त्री बनाएको भन्छन् नि ? त्यस्तै हो ?

    उहाँ (प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा) नातेदार हो । नाता त जोसँग पनि लाग्छ । मान्छेको नाता त राजासँग पनि लाग्छ । प्रधानमन्त्रीसँग पनि लाग्छ । जोसँग पनि लाग्छ । अब जसले जे भनिदिए पनि हुन्छ ।

    म अहिले जुन मन्त्री बनेको छु, पार्टीले मलाई नै बनाएको हो । पार्टीले मलाई आजसम्म गरेको कार्यलाई हेरेर कांग्रेस पार्टीले मेरो योगदानलाई हेरेर मन्त्री बनाएको हो । मलाई मन्त्री व्यक्तिले बनाएको होइन । मलाई पार्टीले बनाएको हो । पार्टीमा मेरो ठूलो लगानी छ ।

    तपाई नेपाली कांग्रेसको नेता हो ?

    जरुर ! म नेपाली कांग्रेसको नेता हो ।

    नेपाली कांग्रेसमा कुन–कुन पदमा बसेर काम गर्नुभयो ?

    म महाविधेशन प्रतिनिधि पनि भएँ । महासमिति सदस्य पनि भएँ । नेपाली कांग्रेस बाँकेको पार्टी सभापति पनि भएँ । नेपाली कांग्रेस (प्रजातान्त्रिक)को जिल्ला सभापति पनि भएँ । म विक्रम संवत २०२७ सालमा नेविसंघको उपाध्यक्ष थिएँ । विक्रम संवत २०३१ सालमा म नेविसंघको जिल्ला अध्यक्ष पनि भएँ । यसरी म कांग्रेसको राजनीति गर्दै आएको हुँ ।

    तपाईले नेपाली कांग्रेस छाड्नुभएको थियो ?

    मैले नेपाली कांग्रेस पार्टी छोडेको छैन । थिएन पनि । छाड्ने पनि छैन ।

    तपाई मन्त्री बनेपछि एकाएक चर्चा हुनुको कारण के हो ?

    कसैले रिसले चर्चा गर्छन् । कसैले डाहाले गर्छन् । कसैले प्रेमले गर्छन् । कसले कसरी गर्छ ? कसको मनमा को बसेको छ र ? कमसे कम मेरो विगतको कार्यहरू हेर्नुपर्ने हो । मेरो परिवारको कार्यहरू हेर्नुपर्ने हो । मेरो परिवारहरूले कांग्रेसमा कति काम गरेका छन् भनेर हेर्नु पर्ने हो । मैले नेपाली कांग्रेसमा काम गरेको कुरा चर्चा हुनुपर्ने हो । मैले यत्रो काम गरेको छु । मलाई हानेर अरु कसैलाई तर्साउने काम गरेको छन् कि भन्ने लागेको छ ।

    कांग्रेसभित्र कोइराला परिवार वा अन्य नेताहरूसँगको टसलले गर्दा तपाईको आलोचना गरेर लखेटेको त होइन ?

    होइन ! कोइराला भनेपछि सुशील दाईसँग मेरो टसल थियो । म २०५२ सालमा पार्टी सभापति हुँदा सुशील दाईसँग मेरो कुरा मिलेन । सुशील दाई र मेरो एउटा नीतिगत कुरामा झगडा जहिले पनि झगडा भइरहन्थ्यो । बिबाद पनि धेरै भयो । म पार्टी सभापति हुँदा मैले बाँकेको तीन वटै क्षेत्र जिताएको थिएँ । संसदको तीन वटै क्षेत्र शानदारका साथ जितेका थियौँ । त्यस बेला ७५ प्रतिशत बाँकेमा गाविस (स्थानीय निकाय) जितेका थियौँ ।

    मैले त्यस बेला शेरबहादुर दाईको समर्थन गरेको थिएँ । म एकलौटी रुपमा शेरबहादुर दाईको पक्षमा थिएँ । सुशील दाईसँग मेरो राम्रो सम्बन्ध हुन नसकेर मेरो कार्यसमिति भङ्ग गरिदिनुभयो । २०५५ सालमा सुशील दाईले मेरो कार्यसमिति भङ्ग गरेर अन्याय गर्नुभएको थियो ।

    त्यसपछि के गर्नुभयो ?

    त्यसपछि प्रजातान्त्रिक कांग्रेस भयो । प्रजातान्त्रिक कांग्रेसको सभापति भएँ । पार्टी एकीकरण भएपछि सुशील दाईले मलाई पार्टी सभापति बनाउनु भएन । सुशील दाईले कृष्णमानजीलाई सभापति बनाउनुभयो ।

    त्यस बेला सुशील दाई महामन्त्री हुनुहुन्थ्यो ?

    हो ! सुशील दाई महामन्त्री हुनुहुन्थ्यो । गिरिजाबाबु पार्टी सभापति हुनुहुन्थ्यो । प्रधानमन्त्री पनि गिरिजाबाबु नै हुनुहुन्थ्यो ।

    तपाईको परिवारमा सबै कांग्रेस हो कि तपाई मात्रै कांग्रेस हो ?

    मेरो पूरा परिवार कांग्रेस हो । मेरो बुवा कांग्रेस, मेरो दाई कांग्रेस, म कांग्रेस भएपछि मेरो छोराछोरी कांग्रेस, सबै परिवार कांग्रेस छौँ । हाम्रो तीन पुस्ता नै कांग्रेस भइसकेको छ ।

    तपाईको एक जना भाई प्रदेश सांसद रहेको भन्ने सुनिएको छ । हो ?

    हो ! मेरो भाई सुरेन्द्र हमाल नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेशको सांसद हुनुहुन्छ ।

    तपाई मन्त्री बनेपछि कांग्रेसका नेताहरूले बुझेर आलोचना गरेका हुन् कि नबुझेर आलोचना गरेका हुन् ?

    बुझीबुझी मेरो आलोचना गरेका हुन् । कांग्रेसका नेताहरूलाई सबै कुरा थाहा छ । जसलाई थाहा नै छैन उनीहरूले आलोचना गरेको त बुझिन्छ । ठीकै पनि हो । तर, बुझेर पनि आलोचना गर्दा भने अनौठा लाग्छ ।

    तपाई कति सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ ?

    मैले नेपाली कांग्रेसको सक्रिय राजनीति गरेको विक्रम संवत २०२७ सालदेखि हो । म कांग्रेस बनेको २०१५ सालदेखि हो । कांग्रेसको कामहरू २०१५ सालदेखि नै गरेको हुँ । कांग्रेसको कार्यक्रममा गइरहन्थेँ । प्रतिबन्धित अवस्थामा पत्रहरू यताको उता गरिरहन्थेँ । म २०२७ सालमा नेविसंघका उपाध्यक्ष हुँदा सक्रिय रुपमा कांग्रेसमा काम गरेको हुँ ।

    तपाई नेपाली कांग्रेसको सक्रिय राजनीतिमा आउनुभएको हो ?

    म निष्क्रिय कहिँले थिएँ र ? अहिले पनि कांग्रेसको राजनीतिमा लागि रहन्छु । म कांग्रेसको राजनीतिमा सक्रिय नै थिएँ । सक्रिय नै छु ।

    तपाई पार्टीको अधिवेशनमा बाँके जानु हुन्छ ?

    बाँके जान्छु ।

    पार्टीको महाधिवेशनमा भूमिका खेल्नु हुन्छ वा खेल्नु हुँदैन ?

    पार्टीभित्र गुटबन्दी गर्दैन । चुनाव लड्छु । आफ्नो पक्षका साथीहरूलाई जिताउन लाग्छु । महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको उम्मेदवार बन्छु ।

    बाँके कांग्रेसको पार्टी सभापतिमा कसलाई सहयोग गर्नु हुन्छ ?

    जसले पार्टीलाई राम्रोसँग चलाउन सक्छ । जसले गुटबन्दी गर्दैन । जसले सबै नेता कार्यकर्तालाई आफ्नो ठानेर पार्टीलाई अग्रसर गराउँछ त्यसलाई नै पार्टी सभापतिमा सहयोग गर्ने हो ।

    तपाई नेपाली कांग्रेसको कोटाबाट मन्त्री बन्नुभएको हो ?

    नेपाली कांग्रेसकै कोटाबाट मन्त्री बनेको हुँ । नेपाली कांग्रेसले नै मन्त्री बनाएको हो ।

    शेरबहादुर देउवाको सिफारिसमा उहाँले नै तपाईलाई मन्त्री बनाउनुभएको हो ?

    शेरबहादुर देउवाले नै मलाई मन्त्री बनाउनु भएको हो ।

    तपाईलाई मन्त्री नियुक्तिका विषयमा विभिन्न कानूनी र संवैधानिक प्रश्न पनि उठाइएका छन् नि ?

    म नेपालको संविधानले व्यवस्था गरे बमोजिम मन्त्री बनेको हुँ । संविधानले रोकेको दिन पदमा रहँदैन ।

    मन्त्री बन्नुभएको छ । तपाईको काम के हुन्छ ?

    रुग्ण उद्योगहरूलाई त्यसको स्तर बढाउने हो । गति दिने हो । बन्द उद्योग सञ्चालन गर्ने हो । उद्योगी व्यवसायी, मजदुर आदिका समस्या समाधान गरेर लगानीको वातावरण निर्माण गरिदिने हो । जनतालाई राहत दिने काम गर्ने हो । आयात धेरै हुने गरेको छ । निर्यातको वातावरण पनि बनाउने हो । विवादका विचमा लामो समय पदमा बसिरहने अवस्था नआउन सक्छ ।

    #nayanepal.com

    प्रतिकृया दिनुहोस्