काठमाडौं,असार । कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग गरेको भनी बेलायती अनुसन्धानकर्ताहरूले दाबी गरेको औषधी (डेक्सामिथासोन स्टेरोयड) नेपालमा पनि सहज र सुलभ रूपमा उपलब्ध भएको बताईएको छ ।
यो औषधि नेपालमा पनि दम लगायत हातखुट्टा सुन्निने रोगका बिरामीमा प्रयोग हुँदै आएको यो औषधिको प्रभावकारिता थप पुष्टि भए संक्रमितको उपचारमा ठूलो सघाउ पुग्ने टेकु अस्पतालका डाक्टर अनुप बाँस्तोलाले बताउनु भएको छ ।
यसमा अन्य देशले पनि अनुसन्धान गरिरहेको भन्दै बाँस्तोलाले यसको उपयोगिता अन्य देशको अनुसन्धानमा पनि निर्भर हुने जनाए।
वहांले भन्नु भयो – ‘बेलायतले दाबी गरेको औषधिको प्रभावकारिता थप पुष्टि भए यसले नेपालमा पनि भोलि समस्या आइपरे ठूलो सहयोग पुग्नेछ।’
सस्तो र व्यापक रूपमा पाइने (डेक्सामिथासोन स्टेरोयड) ले भेन्टिलेटर वा अक्सिजनको सहायतामा बसेका कोरोना संक्रमित बिरामीहरूको मृत्युदर एकतिहाइ घटेको बेलायती अनुसन्धानकर्ताहरूको दाबी गरेको बिबिसीले जनाएको छ। यो औषधि दम, बाथ, छाला, फोक्सो र मस्तिष्क समस्याको उपचारमा प्रयोग हुँदै आएको छ।
प्रमुख अनुसन्धानकर्ता प्राध्यापक मार्टिन ल्यान्ड्रेका अनुसार यो औषधिले भेन्टिलेटरमा उपचार गर्नुपर्ने आठ बिरामीमध्ये एक र अक्सिजन दिनुपर्ने २५ मध्ये एकको मृत्यु कम गरेको पाइएको छ। ‘यो उत्साहजनक नतिजा हो,’ वहांले भन्नु भयो ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाविरुद्धको लडाइँमा यसलाई अहिलेसम्मकै ठूलो सफलता भएको बताउनु भएको छ ।
Discussion about this post