दैनिक कसले, कति, कसरी, कुन वेला, कस्तो पानी पिउने भन्ने विषयमा बजारमा धेरै खालका विचार पढ्न र सुन्न पाइन्छन्। जसले गर्दा जनमानसमा धेरै खालका द्विविधा उत्पन्न भइरहेका छन्। पानी स्वास्थ्यका लागि लाभदायी हुन्छ भनेर केहीले आवश्यकता भन्दा धेरै खाइरहेका छन् । केहीले भने पानी पिउनुलाई महत्व नै दिएका हुँदैनन् । आवश्यक मात्रा समेत नपिउनेहरूलाई पानीको अभावले शरीर के के हुनसक्छ भन्ने बारेमा बोध नभएरै त्यस्तो भएको हो।
खानेपानी कि पिउनेपानी ?
अंग्रेजीमा ‘ड्रिङ्किङ वाटर’ अर्थात् पिउनेपानी भनिन्छ, हिन्दीमा पनि पानीलाई पिउने नै भनिन्छ तर नेपालीमा चाहिं पानी खाने भनिन्छ । के त्यसो भन्नु गलत हो? स्वास्थ्यको दृष्टिकोणले पानीलाई पिउनु भन्दा खानु लाभदायी हुन्छ । अतः नेपाली भाषाको ‘खानेपानी’ भन्ने शब्द एकदम सही छ।
खराब बानी सुधार्ने यी आयुर्वेदिक सूत्र
पानीलाई पिउने होइन खाने नै गर्नुपर्छ । पानीको घुट मुखमा राखी खाना चपाए झैं आरामले चपाएर खानुपर्छ । पानी खाँदा मुखभित्र अवस्थित क्षारीय प्रकृतिको टाईलिन नामको र्याल (ग्रन्थीरस) पानीमा मिसिन्छ । र्याल मिश्रित पानीले आमाशयमा पुगेर त्यहाँको अम्लरससँग प्रतिक्रिया गरी अम्लको मात्रालाई सन्तुलनमा राख्छ ।
दैनिक कति पानी पिउने ?
आयुर्वेदमा दैनिक यति पानी पिउनुपर्छ भन्ने विषयमा स्पष्ट केही लेखिएको छैन । तिर्खा लाग्दा तिर्खा मेट्ने गरी पानी पिउनुपर्छ । तिर्खा प्राकृतिक वेग हो । शरीरमा पानीको मात्रा कम हुँदा मस्तिष्कको सहयोगमा तिर्खा मुख वा घाँटीमा लाक्षणिक रूपमा प्रकट हुन्छ । यसलाई रोक्नु वा दबाउनु कदापि हुँदैन। तिर्खा दबाए रोग उत्पन्न हुन्छ । तिर्खाको वेगलाई दबाउँदा त्यसबाट मुख सुक्ने, उत्साह हराउने, बहिरो हुने, बेहोश हुने, चक्कर लाग्ने, हृदय रोग लाग्ने हुन्छ । अन्य मौसम भन्दा वसन्त (गर्मी) र ग्रीष्म ऋतुमा बढी मात्रामा पानी पिउन उपदेश गरिएको छ।
अंग्रेजीमा ‘ड्रिङ्किङ वाटर’ अर्थात् पिउनेपानी भनिन्छ, हिन्दीमा पनि पानीलाई पिउने नै भनिन्छ तर नेपालीमा चाहिं पानी खाने भनिन्छ । के त्यसो भन्नु गलत हो? स्वास्थ्यको दृष्टिकोणले पानीलाई पिउनु भन्दा खानु लाभदायी हुन्छ ।
‘घरेलु पानीको गुणस्तर, सेवा स्तर र स्वास्थ्य’ विषयमा सन् २००३ अगस्टमा ग्ये हौवार्ड र जामी बार्टरामद्वारा लिखित एवं विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित रिपोर्ट अनुसार एक जना ७० किलो वजन भएका स्वस्थ पुरुष र ५८ किलो वजन भएकी स्वस्थ स्त्रीले प्रतिदिन २.२ लिटर पानी पिउनुपर्छ भनी सिफारिश गरेको छ।
त्यसैगरी उच्च गर्मीमा काम गर्ने महिला वा पुरुष मजदूरका लागि ४.५ लिटर पानी पिउनु उपयुक्त हुन्छ भनेको छ । रिपोर्टले बालबालिकाको सन्दर्भमा पनि बोलेको छ । ५ देखि १० किलो तौल भएका बालबालिकाले औसतमा ७०० मि.लि. देखि एक लिटरसम्म पानी सेवन गर्न उपयुक्त हुने सुझाव त्यहाँ दिइएको छ । व्यक्तिविशेषलाई दिनहुँ कति पानी आवश्यक हुन्छ भन्ने कुरा सम्बन्धित व्यक्तिको स्वास्थ्य, सक्रियता, बसोबासलगायत थुप्रै कुरामा निर्भर गर्दछ।
सन् १९४५ मा अमेरिकी संस्था ‘फूड् एण्ड न्युट्रिसन् बोर्ड’को अनुसन्धान परिषद्ले वयस्कहरूका लागि ऊर्जाका आधारमा पानी पिउन सिफारिश गरेको थियो । त्यसमा प्रति क्यालोरी १ मि.लि. पानी पिउन सुझाइएको छ । जस अनुसार एक जना २००० क्यालोरी ऊर्जा खपत गर्ने वयस्क महिलाका लागि २००० मि.लि. पानी र एकजना २५०० क्यालोरी ऊर्जा खपत गर्ने वयस्क पुरुषका लागि २५०० मि.लि. पानी आवश्यक हुन्छ भनिएको छ । यहाँ पानीको विकल्पको रूपमा फलफूल वा सागसब्जीको रसलाई पनि प्रयोग गर्न सकिने समेत भनिएको छ ।
कस्तो पानी पिउने ?
गन्धहीन, रङहीन, स्वादहीन र सफा पानीलाई गुणस्तरीय मान्न सकिन्छ । यस्तै सूक्ष्मजीवाणुहरू र हानिकारक माइक्रो अर्गानिजम नभएको पानी पिउनुपर्छ । पानी प्रयोग गर्नुभन्दा पहिला गुणस्तरका २७ वटा मापदण्डमा पूरा गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहेको छ। आयुर्वेद अनुसार शरीरको लागि मनतातो पानी अमृत समान मानिन्छ । अति तातो पानीले नरम कोषहरूलाई मार्छ भने अति चिसो पानीले रक्तनलीहरू संकुचन गराई चर्काउँछ । त्यसैले यी दुवै खालका पानी स्वास्थ्यको लागि हानिकारक मानिन्छ।
पानीबारे धेरै मानिसका मनमा उठ्ने स्वाभाविक प्रश्नहरू पनि छन्।
कति पानी, कुन वेला पिउने ? आयुर्वेदशास्त्र अष्टाङ्ग हृदय (अध्याय ५ श्लोक १३ र १४)का अनुसार खाना खानुभन्दा २० देखि ३० मिनेट अगाडि पानी पिउनु स्वस्थकर मानिन्छ । त्यसैगरी खाना खाएको २० देखि ३० मिनेटपछि मात्र पानी पिउन निर्देश गरिएको छ । खाना लगत्तै पानी पिउँदा मोटोपन बढ्छ । त्यसवेला पिइएको पानीले पाचक अग्निलाई दबाउँछ । खाना खानु लगत्तै अगाडि पानी पिउँदा शरीरमा दुब्लोपन र कमजोरी बढ्ने उल्लेख छ। यसैगरी खानासँगै गाँसको बीच बीचमा खाइएको चार–पाँच घुट पानीलाई भने अमृत समान मानिएको छ।
उषापान के हो ?
एकाबिहानै (सूर्योदय भन्दा अगाडि वा ब्रह्ममुहूर्तभित्र) खाली पेटमा निश्चित मात्रामा पानी खानुलाई उषापान भनिन्छ । उषापान दाँत माझेर वा नमाझिकन पनि गर्न सकिन्छ । यसलाई आयुर्वेदमा रसायन चिकित्सा भनिएको छ। यसले शरीरमा रोगहरू लाग्नबाट बचाउँछ। उषापानले कब्जियत, अल्सर, अवशोषण प्रक्रियामा गडबडी, मोटोपन, पाइल्स, कोलाइटिस, आईबीएस्, पिसाब सम्बन्धी समस्या वा संक्रमणहरू, रक्त विकार, नाक–कान– घाँटी सम्बन्धी समस्या र छालासम्बद्ध रोगहरू लाग्नबाट पनि बचाउँछ।
Discussion about this post