पछिल्लो समय माओवादी जनयुद्ध र त्यस क्रममा भएका गतिविधिहरुका बारेमा निकै बहसको विषय बनेको छ। सो समयको क्रियाकलापको जिम्मा एक थरीले सबैको विजारोपण गर्ने भनेकै माओवादी हो र दोष पनि उसले लिनु पर्दछ भन्ने रहेको छ। त्यस सम्बन्धमा विप्लव नेतृत्वको नेकपाका स्थायि कमिट सदस्य भरत वम ( रणविर) ले विश्लेषण गर्दै १७ हजारको हत्यारा की जमिन्दार को पार्टी हो माओवादी ? हामी हत्यारा नभइ विशेष गरी जमिनको स्वामित्व भएको पार्टी भन्ने प्रश्न गर्दै चर्चा गरेका छन।
क) १७ हजारको मृत्यु बारे !!
१) डाक्टर सुरेन्द्र केसीले २०६३ जेठ मसान्तसम्म १३ हजार २ सय ४६ जनाको जनयुद्धमा मृत्यु भएको र त्यो मध्य १o हजार ८ सय ५४ जनाको राज्य पक्षबाट मृत्यु भएको विवरण आफ्नो किताबमा दिएका छन । यसमा राज्यले बेपत्ता बनाएकोलाई जोड्ने हो भने राज्यको भागमा द्वन्द्वका क्रममा भएको सम्पूर्ण क्षतिको ९० प्रतिशत पर्न आउँछ ।
२) जहाँसम्म जनयुद्ध शुरु नगरेको भए यो क्षति हुने नै थिएन भन्ने तर्क छ । यो नितान्त अज्ञानताको सूचक हो । किनभने हरेक द्वन्द्वको स्रोत राज्य र उसले गर्ने विभेद र दमन नै हो । कारण बिना परिणाम बारेको धारणा अर्ध- ज्ञान हो ।
३) १७ हजारको मृत्यु भएको तथ्यांकको आधार के हो ? आधिकारिक कति हो ? अनि यसको मुख्य कारण के हो ? गहिराईमा नै नगएर हचुवाको भरमा दोष सबै माओवादीमाथि थोपर्नु गलत छ । वस्तुतः यसले शान्तिको होइन अर्को द्वन्द्वको आधार मात्रै तयार गर्दछ ।
ख) जमिनदारको पार्टी बारे
१) जमिनदारको ऐतिहासिक सामान्य अर्थ जमिनको स्वामित्व भएको ब्यक्ति हो । धेरै जमिनको स्वामित्व भएका ब्यक्तिहरुको रक्षा गर्ने व्यवस्था सामन्तवाद हो, यद्यपि सामन्त लिच्छविकालको पद हो ।
२) जमिनको स्वामित्व ब्यक्तिबाट राजनैतिक पार्टी र त्यसपछि राज्यसग आउनु प्रगतिशील र क्रान्तिकारी कदम हो । अझ त हाम्रो जस्तो दलाल पुजीवाद भएको ठाँउमा । त्यसैले पार्टीले जमिनको सदुपयोग गरेर आत्मनिर्भर बन्ने निति लिएर व्यबहारमा उतार्छ भने त्यो राम्रो कुरा हो । सबैले पछ्याउनु पर्ने कुरा हो ।
३) हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी “आत्मनिर्भर उत्पादन,पार्टी – नेता/ कार्यकर्ता, अर्थतन्त्र र देश”नारा सहित केही जमिन सस्तोमा किनेर र केही भाडामा लिएर पुरै पार्टी पंक्ति श्रम अनि उत्पादनमा जुटेको छ । त्यसैले नै महासचिव विप्लव सी ले जमिन भएको पार्टी भएपछि जमिनदारको पार्टी भन्दा हुन्छ भनेको स्पष्ट छ ।
पुनश्च:
१) यदि हामीले वर्तमान युगको विशेषता बुझेनौ भने र तथ्यांक र तर्कको उत्पादनको उदेश्य र प्रसारणको प्रचुरता भित्र हराएर विषयबस्तु बारे सहि ज्ञान लिन असमर्थ हुनेछौ । कुनै कुराको शिर्षकबाट धारणा बनाउनु प्रयाप्त हुदैन ।
२) सेतोपाटी डटकमले पक्कै पनी आफ्नो मान्यता र दृष्टिकोण अनुसार शिर्षक राख्यो होला । जसको आलोचना गरौं, गाली हैन । बुझ्नेले ठिक र सहि बुझ्नुपर्ने हुन्छ ।
Discussion about this post