Skip

News Portal

  • वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद : भरत सि

    भरत बम 'रणविर'१२ असोज
    ७९२ पटक
    १२ असोज

    १) सन्दर्भ र भूमिका :

    समाजवादी मोर्चा घोषणाको तत्कालीन सन्दर्भसँगै नेपाली विशेषताको समाजवाद बहसको विषय बनेको छ । यो बहसले संविधानमा उल्लेखित ‘समाजवादोन्मुखता’ र ‘सुधारिएको संसद’द्वारा यथास्थितिमा परिवर्तनको आवश्यकतालाई मुखरित गर्दछ । विगतमा संविधान निमाणर्ताका रहेको अपूणर्तालाई मध्यनजर गर्दै अबको बहस समग्र राजनैतिक व्यवस्थामा केन्द्रित गर्न र त्यसमा जनतासहित क्रान्तिकारीहरुको पहलकदमीको सुनिश्चितता आवश्यक छ । किन नेपाली विशेषताको समाजवाद आवश्यक छ ? यो कस्तो हुन्छ ? र कसरी प्राप्त गर्न सकिन्छ ? यी प्रश्नको उत्तर खोज्नु पर्ने आवश्यकतामा केन्द्रित बहसले समाजवाद बारेको मानिसहरुको बुझाइमा स्पष्टता र एकरुपता ल्याउन सहयोग गर्नेछ । जसले भावी परिवर्तनको सुनिश्चितता गर्नुका अतिरिक्त वर्तमान जीवन व्यवहारमा आवश्यक रुपान्तरण तथा परिवर्तनको मागलाई पनि सम्वोधन गर्नेछ ।

    २) वर्तमान परिस्थिति र नवीन पक्ष :

    वर्तमान राष्ट्रिय र अन्र्तराष्ट्रिय परिस्थितिको चर्चा गर्दा आर्थिक, राजनैतिक, सामाजिक र साँस्कृतिक सूचकाङ्कहरुलाई विश्लेषण गरेर हेर्दा समानता, शान्ति, सुशासन, समन्याय र समृद्धि जस्ता मुख्य र आधारभूत क्षेत्रमा गम्भीर अन्तरविरोध, समस्या र चुनौतीहरु देखा पर्दछन् । जसले वैज्ञानिक समाधान खोजिरहेका पनि छन् । तर यहाँ यी विषयहरुमा विस्तृत रुपमा प्रवेश नगरी केबल नवीन पक्षकाबारे मात्र चर्चा गरिनेछ ।

    क) अन्तर्राष्ट्रिय परिस्थिति र नवीन पक्ष :

    युक्रेन-रुस युद्ध र यसको प्रभाव र परिणाम, बहुधु्रवीय विश्वको निर्माण, २१औं शताब्दीमा विश्वशक्तिको रुपमा एशियाको उदय र चीनको नेतृत्वदायी पहलकदमी आदि चर्चा हुने र गर्नु पर्ने नवीन पक्ष हुन् ।

    युक्रेन-रुस युद्ध सापेक्षिक रुपमा लम्बिदै जाँदा अमेरिका त्यसलाई कुनै न कुनै रुपमा अन्त्य गरेर युद्धलाई एशियातिर सार्न चाहन्छ । युक्रेन-रुस युद्धमा पछिल्लो अमेरिकाको प्रस्ताव र गतिविधिले यही तथ्यलाई पुष्टि गर्दछ । यो युद्धमा देखिएको देशहरुको पक्षधरता, तटस्थता र धुव्रीकरणले सन् १९९०मा सोभियत रुसको विघटनपछि कायम भएको अमेरिका केन्द्रित एक धु्रवीय विश्वको पनि अन्त्य भएको छ । दिल्लीमा जारी जी-२०को सम्मेलन पनि यसबाट प्रभावित भएको स्पष्ट छ । वस्तुतः अमेरिका केन्द्रित धु्रव रक्षात्मक बन्दै गएको देखिएको छ । आर्थिक रुपमा चीन र भारतले गरेको प्रगति र चीनले लिइरहेको समग्र पहल कदमीले भावी एशियाको उदयको स्पष्ट सङ्केत र सन्देश दिइरहेको छ । भर्खरै सम्पन्न ‘ब्रिक्स’ सम्मेलनमा त्यसका सदस्यहरुको वृद्धिले यो तथ्यलाई पुुष्टि गर्दछ ।

    ख) राष्ट्रिय परिस्थिति र नवीन पक्ष ः

    एमसीसीको जबरजस्त प्रवेश र कार्यन्वयन, पुरानो सत्ता र शाषकहरुको सङ्कट र असफलता, जनताको परिवर्तनको तीव्र चाहना र माग, कमजोर वैचारिक-राजनैतिक धरातल र उच्च महत्वकाङ्क्षा सहित अगाडि आएको नयाँ शक्तिको दाबी, समाजवादी मोर्चाको घोषणा र १५ बुँदे प्रस्ताव र नेकपाद्वारा प्रस्तावित वैज्ञानिक समाजवाद र एकीकृत जनक्रान्ति आदि चर्चा हुने र गर्नु पर्ने नवीन पक्षहरु हुन् ।

    एमसीसीले राष्ट्रिय एकतालाई भत्काएको छ । देशलाई विभाजित गरेर नव उपनिवेशीकरणतर्फ धकेलेको छ । देशको असंलग्न परराष्ट्र नीति तोडेको छ र विश्वशक्ति केन्द्रको शक्ति संघर्षको स्थल-एशियाली युक्रेन- बनाउने कुत्सित मनसाय बोकेको छ । यसले हस्तक्षेपकारी अमेरिका र नेपाली श्रमिक जनतावीचको प्रधान अन्तरविरोधलाई मुखरित गर्दछ । २०७९ सालको चुनावमा स्वतन्त्र पार्टी र व्यक्तिको विजयले पुरानो सत्ता र शासकको सङ्कट र असफलता, जनताको, खास गरी नयाँ पुस्ताको परिवर्तनको चाहना, माग र नयाँ भनिएका शक्तिको कमजोर वैचारिक-राजनैतिक धरातललाई एकैसाथ उजागर गरेको छ । यसले २०७२मा जारी संविधानद्वारा निर्देशित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले विद्यमान देश र जनताका जीवनका समस्याहरु समाधान गर्न असमर्थ छ भन्ने पुष्टि गर्दछ । परिणाम स्वरुप शासन-प्रणालीमा भ्रष्टाचार, समाजमा बेरोजगारी, जनसमुदायमा निराशा र देशमा युवा/विद्यार्थीको पलायन डर लाग्नेगरी बढेर गएको छ । जसले विष्फोटक रुप लिएर भविष्यमा महासङ्कट निम्त्याउने निश्चित जस्तै छ ।

    यो संसदीय लोकतान्त्रिक गणतन्त्रले नेपाली समाजमा विद्यमान आर्थिक, राजनैतिक, सामाजिक र साँस्कृतिक अन्तरविरोध तथा समस्याहरु हल गर्न सक्दैन र जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायत नेपाली जनताहरुले गरेको संघर्षको वास्तविक मर्मलाई पनि पक्रिन सक्दैन । बरु यसले नयाँ रुपमा पुरानो संसदीय दलाल पुँजीवादी राज्यसत्तालाई निरन्तरता दिन्छ, भन्ने विश्लेषणको आधारमा त्यसको विकल्प वैज्ञानिक समाजवादलाई अघि सारेर त्यो प्राप्तिको लागि नेकपाले एकीकृत जनक्रान्ति सञ्चालन गर्दै आइरहेको छ । यो क्रान्तिको एकदम नयाँ, मौलिक र वैज्ञानिक कार्यदिशा हो । जसले २ वर्षको सरकारी प्रतिबन्धको सामना र समाजवादी मोर्चामा सहभागिता सम्भव बनाएको छ र एक प्रकारले पूरै देशलाई यथास्थितिमा परिवर्तन आवश्यक छ भन्ने निष्कर्षमा पुगाएको छ ।

    वर्तमान राज्य प्रणालीले न स्थिरता दिन सक्यो नत जनतालाई सन्तुष्ट बनाई भविष्यप्रति आशावादी नै बनाउन सक्यो । परिणामतः यथास्थितिमा परिवर्तन विना कुनै पनि जनपक्षीय राजनैतिक शक्तिको अस्तित्व नरहने निश्चित जस्तै भयो । त्यसैले वर्तमान व्यवस्थामा विद्यमान ‘वित्तीय एकाधिकारी र दलाल पुँजीको शोषणको अन्त्य गर्दै नेपाली विशेषताको समाजवाद र समाजवादी बाटो तय गर्ने’ सार सहितको १५बँुदे आफनो प्रस्ताव सहित समाजवादी मोर्चाको जन्म भएको छ । यो विद्रोही क्रान्तिकारी शक्ति र सरकारको उदार तथा प्रगतिशील शक्ति एकीकृत भएर परिवर्तन तथा रुपान्तरणको अभियान सञ्चालन गर्ने नयाँ प्रयोग हो । यो पुरानो सत्ता र नेतृत्वको सङ्कटको परिणाम र नेताहरुको आत्मसमीक्षा, रुपान्तरण र नयाँ प्रतिबद्धताको उपज पनि हो । त्यसैले समाजवादी मोर्चाद्वारा देशभर आयोजित सन्देश सभामा नयाँ उत्साह, आशा र लहर देखा परेको छ । यो नयाँ आशा र उत्साहलाई नयाँ शक्तिमा बदल्न नेपाली विशेषताको समाजवाद बारे घनीभूत बहस आवश्यक छ ।

    ३) नेपाली विशेषताको समाजवाद ः

    क) इतिहास

    नेपाली विशेषताको समाजवादको लागि नेपाल र समाजवादको सामान्य संक्षिप्त इतिहास उल्लेख गर्नु आवश्यक छ । नेपाल एक प्राचीन सुन्दर देश हो । पृथ्वीको जन्म अनुमानित ४ अर्व ६० करोड वर्ष भएको मानिन्छ भने नेपालका पर्वत श्रृङ्खलाको जन्म १३ करोड वर्ष पहिले भएको मानिन्छ । बुटवलमा फेला परेको मानव पुर्खा रामापिथेकसको अवशेष १ करोड वर्ष पुरानो मानिएको छ । सबभन्दा पहिले नेपाल शब्दको प्रयोग अथर्ववेद परिशिष्टमा भएको पाइन्छ । जसको समय इसापुर्व ५००-६०० को वीचमा भएको मानिन्छ । मुख्य कुरा इतिहासमा नेपाल साम्राज्यवादी बाह्य शक्तिको कहिल्यै पनि उपनिवेश नबनी सधैभरि स्वतन्त्र रहेको देश हो । भौगोलिक र सामाजिक रुपमा विविधतायुक्त देश नेपाल हो । सगरमाथाले नेपालको भौगोलिक उच्चता र सुन्दरताको प्राचीन आयामको नेतृत्व गर्दछ । त्यस्तै बुद्धवादले शान्ति र समानताको प्राचीन नेपालको वैचारिक आयामलाई स्पष्ट गर्दछ भने प्राचीन सीमित स्वतन्त्र देशमध्ये नेपालको अस्तित्व रहनु अर्को प्राचीन राजनैतिक आयाम हो । जेसुकै कारणले भए पनि नेपाल वीरजातिको देश भनेर पनि चिनिएको छ । यसरी समग्रमा नेपालको प्राचीन इतिहास गौरवशाली रहेको छ । आधुनिक नेपाली इतिहासको विशिष्टता, कम्युनिस्ट चेतना र समाजवादी जनमत बलियो हुनु रहेको मान्नु पर्छ । प्राचीन नेपाली समाजको सामूहिक र समानताको परम्परा र आधुनिक नेपालको कम्युनिस्ट समाजवादी विचारको प्रभावलाई एकीकृत गरेर नेपाली विशेषताको समाजवादको विश्लेषण गर्नु सही हुनेछ ।

    ख) समाजवाद-साम्यवादको इतिहास :

    समाजवाद-साम्यवादको इतिहास जब मानिस सचेत भयो र उसले समाजमा समस्या देख्यो तब समाज केन्द्रित भएर सामाजिक रुपमा नै त्यसको समाधान गर्न लिएको अग्रसरताको विचार र विन्दुबाट शुरु भएको मान्नु पर्छ । ‘वसुधैव कुटुम्बकम्’ र ‘मानवाः वान्धवाः सर्वे स्वदेश्च भूवनः त्रयम्’को वैदिक मान्यता, ‘संघम् शरणम् गच्छामी’को बुद्ध परम्पराको पुर्वीय समाजवाद-साम्यवादको इतिहास छ भने पश्चिममा प्लेटोली साम्यवाद, १८औं शताब्दीमा थोमस मुरको युटोपिया र रोबोट ओमेनीय समाजवादको इतिहास छ । समाजवाद शब्द सन् १८०१मा इटलीमा प्रयोग गरिएको थियो । १८२२मा इगल्याण्डमा, १८३१मा फ्रान्समा र अन्तिममा १८३५मा फ्रान्सको शब्दकोशमा समावेश गरिएको थियो । जे भए पनि माक्र्स पूर्वका सबै किसिमका समाजवाद (धार्मिक र सामन्ती समाजवाद, गील्ट र फेबियन समाजवाद ) काल्पनिक समाजवाद थिए । समाजवादलाई वैज्ञानिक आधार कार्ल माक्र्स र फ्रेडेरिक एगेल्सले दिए । उनीहरुले द्वन्द्वात्मक भौतिकवादी दर्शन, अतिरिक्त मुल्य र वर्ग संघर्षको आर्थिक र राजनैतिक सिद्धान्तद्वारा त्यो आधार दिएका हुन् । नेपालको सन्दर्भ भनेको पुरानो संसदीय दलाल पुँजीवादी राज्यव्यवस्था संकटग्रस्त बन्दै असफलता उन्मुख भएपछि र उल्टै त्यसको दोष समाजवादीले लिनु पर्ने भएपछि सङ्कटको अग्रगामी, साझा र सहज निकासको रुपमा नेपाली विशेषताको समाजवादको बहस अगाडि आएको हो ।

    ख) नेपाली विशेषताको समाजवादका आधारहरु :

    अ) राजनीतिक विशेषताहरु

    १) विचार निर्देशित र जनता केन्द्रित राज्यप्रणाली

    २) श्रमिक र बौद्धिक जनता तथा उत्पादक शक्तिलाई शासकमा रुपान्तरण

    ३) पुँजीको नेतृत्वदायी भुमिकाको खारेजी र त्यसमा मानिसको भूमिकाको स्थापना

    ४) दलीय प्रतिस्पर्धा, समावेशी तथा समानुपातिक निवार्चन र प्रत्याह्वानको व्यवस्था

    ५) पुरानो उत्पादन सम्बन्धको अन्त्य र नयाँको स्थापना, स्वाधीनताको रक्षा र सुदृढीकरण

    आ) आर्थिक विशेषताहरु

    १) आत्मनिर्भर-अन्तरसम्बन्धित, गतिशील तथा स्वाधीन राष्ट्रिय उत्पादनमा केन्द्रित अर्थतन्त्रको निर्माण

    २) राज्यको नेतृत्वदायी भूमिका अन्तर्गत व्यक्तिगत स्वामीत्वको स्वतन्त्रता, जनताको आधारभूत आवश्यकताको सुनिश्चितता ।

    ३) अत्यधिक समृद्धि, उसको क्षमता, आधारभूत आवश्यकता पूर्ति राज्यको दायित्वको मान्यता, राष्ट्रिय हितमा विदेशी पुँजीको परिचालन ।

    ४) कृषि र उद्योगको एकीकृत परिचालन, जमिनमाथि राज्यको स्वामित्व, प्रगतिशील कर प्रणाली, काम गर्नेलाई मामको सुनिश्चितता ।

    इ) सामाजिक विशेषताहरु

    १) सामुहिकता र वलिदानको मान्यता स्थापित गर्ने, वर्गविहीन, जातिविहीन, धर्मविहीन नयाँ मानव जातिको निर्माण गर्ने ।

    २) गास, बास, कपास, शिक्षा, स्वास्थ्य, यातायात, सूचना र रोजगार जस्ता विषयमा राज्यले समान अधिकार कायम गर्ने ।

    ई) साँस्कृतिक विशेषताहरु

    १) विज्ञानमा आधारित राष्ट्रिय जनसंस्कृतिको सिर्जना, विकास र संरक्षण गर्ने ।

    २) भिकारी र चाकरी संस्कृतिको अन्त्य र जनताको पौरखी र गौरवशाली जनसंस्कृतिको संरक्षण र विकास गर्ने

    उ ) अन्र्तराष्ट्रिय नीतिका विशेषताहरु

    १) विगतका सबै असमान संन्धि-संम्झौताहरुको खारेजी र पंञ्चशील, पारस्परिक सम्मान र समान हितको सिद्धान्तका आधारमा मैत्री सम्बन्ध कायम गर्ने ।

    २) विश्वमा न्याय, समानता, मानवता, स्वतन्त्रता, शान्ति एंवम समृद्धिका पक्षमा सहकार्यको नीति अवलम्बन गर्ने ।

    ऊ) शैक्षिक र स्वास्थ्य सम्बन्धी विशेषताहरु

    १) शिक्षा र स्वास्थ्यको सबै दायित्व राज्यले लिने र निश्चित मान्यतामा निजी क्षेत्रलाई सहयोगी बनाउँदै समानता कायम गर्ने,

    २) वैज्ञानिक, प्राविधिक, जीवनोपयोगी शिक्षाद्वारा बेरोजगारी एवम् अदक्षताको अन्त्य गरी इतिहास र नैतिक शिक्षा अनिवार्य बनाउने ।

    ऋ ) प्राकृतिक साधन-स्रोत, विज्ञान-प्रविधि र पर्यावरण संरक्षणका विशेषताहरु

    १) देशको प्राकृतिक स्रोत-साधनको असुरक्षित, अनियन्त्रित एवम् अराजक दोहनको अन्त्य, आफ्नै उन्नति र समृद्धिका लागि संरक्षण र सदुपयोग ।

    २) विज्ञान र प्रविधिको अध्ययन, अनुसन्धान र प्रयोगलाई आम नागरिक विशेषतः नयाँ पिँढीका लागि अनिवार्य प्रयोग गर्ने विषय बनाउने ।

    ३) प्राकृतिक पर्यावरणलाई मानवोचित बनाइराख्न त्यसको संरक्षणको नीति लिने र विश्वव्यापी पर्यावरणीय समस्या विरुद्ध सहकार्य गर्ने ।

    ए) नेपाली विशेषताको समाजवादसँग अन्तरसम्बन्धित नेकपाका नयाँ संश्लेषणहरु

    १) दर्शनमा अनिश्चय र संम्भावना, रक्षा र रुपान्तरणको नियम

    २) अर्थतन्त्रमा एकीकृत स्वामीत्वको संश्लेषण

    ३) वैज्ञानिक समाजवादमा, एकीकृत निवार्चन प्रणाली, सी जातिको निर्माण र एकीकृत जनक्रान्तिको संश्लेषण

    ऐ) नेपाली विशेषताको समाजवाद प्राप्तिको साधन र बाटो

    पुँजीवादले समाजवाद विरुद्ध हजारौं तरिका, साधन र मोर्चा प्रयोग गर्दै लडिरहेको सन्दर्भमा समाजवादीहरुले पनि पुँजीवाद विरुद्ध लड्दा हजारौं तरिका, साधन र मोर्चा प्रयोग गरेर लड्न तयार हुनु पर्दछ । संसदीय कि गैर-संसदीय ?, यो तरिका र साधन कि त्यो तरिका र साधन ? भन्ने बहस पुरानो भैसकेको छ । बरु नेपालमा संसदीय मोर्चाको कम्युनिस्ट उपस्थितिलाई सकारात्मक रुपमा लिएर सदुपयोग गर्ने विचार र नीति आवश्यक छ । तर मुख्य यसलाई बनाउनु हुँदैन जनबल तथा संघर्षको मोर्चा नै मुख्य हुन्छ । विगतमा यहाँनेर गल्ती र कमजोरी भएका छन् । अब सम्पूणर् मोर्चा, तरिका र साधनलाई एकीकृत गरेर मात्र पुँजीवादलाई परास्त गर्न सकिने यथार्थलाई आत्मसात् गर्नु पर्छ । विगतमा आर्थिक क्रान्तिको नारा भ्रष्टाचार (भुटानी शरणार्थी काण्ड), घुस(कर्मचारी तन्त्र), कमिसन (सेक्युरिटी प्रेस काण्ड) तस्करी (सुनकाण्ड), नीतिगत भ्रष्टाचार (गिरीबन्धु टी स्टेट काण्ड), ठगी (कोरोनाको औषधी र सामग्री खरिद काण्ड)को उत्कर्षमा पुगेर भएको असफलताबाट पाठ सिकेर अर्थतन्त्र, अर्थप्रणाली र उत्पादनको स्वामीत्व जस्ता सबै मोर्चामा आत्मनिर्भर उत्पादनको मोर्चा बनाउनु व्यावहारिक र प्रभावकारी हुने देखिन्छ । जुन मोर्चामा नेकपाले लिइरहेको पहल सकारात्मक छ । किनभने आर्थिक आत्मनिर्भरता विना जनबलको मोर्चा छोडेर केवल संसदीय मोर्चाबाट मात्र समाजवादमा पुग्ने र संसदीय मोर्चा छोडेर केवल जनबलको मोर्चाबाट मात्र समाजवादमा पुग्ने दुबै प्रयोग नेपालमा अपूणर् र एकहदसम्म असफल देखिएका छन् । माओवादी जनयुद्धले खाएको धक्का र २०७४पछि केपी ओली सरकारको असफलताले यही तथ्यलाई पुष्टि गरेको छ । त्यसैले सम्पुूण मोर्चाबाट सबै परिवर्तन पक्षधरहरु एक भएर समाजवाद प्राप्तिको संघर्ष अगाडि बढाउने क्रान्तिको नयाँ र मौलिक कार्यदिशा एकीकृत जनक्रान्तिको कार्यदिशा नै उपयुक्त हुने देखिन्छ । राजनैतिक कार्यदिशाको बहसमा बन्दुकको बहस पनि पछि परिसकेको छ । किनभने बन्दुक जनता र क्रान्तिकारीको रोजाइ होइन कि बाध्यता मात्र हो ।

    ६) निष्कर्ष

    आज देश चौतर्फी सङ्कटबाट गुज्रिरहेको छ । राष्ट्रिय स्वाधीनता सर्वाधिक सङ्कटमा छ । अर्थतन्त्र चौपट भएको छ । जनतामा निराशा व्याप्त छ । नयाँ पिँढीको पलायन डरलाग्दो गरी बढेको छ । खासगरी देश र जनताको जीवनमा देखा परेका सामान्यदेखि जटिल समस्याहरु हल गर्न पुरानो संसदीय दलाल पुँजीवादी सत्ता र नेतृत्व असफल र असक्षम साबित भएको छ । त्यसैले यो सङ्कटको अग्रगामी र वैज्ञानिक समाधान भनेको नेपाली विशेषताको समाजवाद नै हो । किन समाजवाद ? कस्तो र कसरी समाजवाद ? भन्ने जनबहसद्वारा जनताको एकीकृत शक्ति सिर्जना गरेर नै समाजवादलाई सार्थक बनाउन सकिनेमा विश्वाश गर्न सकिन्छ र केवल वैज्ञानिक समाजवादले मात्र २१ औं शताब्दीमा स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता र समृद्धि हासिल गर्न सकिन्छ ।

    नेकपाका स्थायि समिति सदस्य भरत बम (रणविर) द्वारा प्रस्तुत कार्यपत्र 

    २०८० असोज १२ गते , नेपालगंज

    प्रतिकृया दिनुहोस्