News Portal

  • सामुदायिक विद्यालयमा पढाउने अभिभावकको स्वास्थ्य विमा निशुल्क

    कर्नालीसंचार संवाददाता२४ पौष
    २५६ पटक
    २४ पौष

    तनहुँ । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकाले पहिलो चरणमा विकट तथा आर्थिक रुपले पिछडिएका क्षेत्रका अभिभावकको स्वास्थ्य बीमा गर्न लागेको हो ।

    सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो नीति ल्याइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । चुमानका अनुसार पहिलो चरणमा वडा नम्बर ४, ५ र ६ मा यो कार्यक्रम लागू हुनेछ । उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयमा छोराछोरी पढाएका अभिभावक तथा विद्यार्थीका लागि स्वास्थ्य बीमा लागू हुनेछ । यसले सामुदायिक विद्यालयप्रति आकर्षण बढाउने अपेक्षा गरेका छौँ ।”

    स्वास्थ्य बीमाका लागि पालिकाले नीति, कानुन निर्माण गरिसकेको छ । यसका लागि सम्बन्धित विद्यालयको सिफारिससहित वडाबाट विद्यार्थीको विवरण सङ्कलन, बीमा फारम, नवीकरणलाई अगाडि बढाइएको चुमानले बताउनुभयो । माघभित्र ती वडाका सबै विद्यार्थी र अभिभावकको स्वास्थ्य बीमा गरिसक्ने चुमानको भनाइ छ ।

    उहाँले भन्नुभयो, “आवश्यकता बमोजिम आगामी वर्षमा प्राथमिकतामा आधारमा अन्य वडामा पनि यो कार्यक्रम विस्तार गर्ने लक्ष्य छ ।” गाउँपालिकाले यसै शैक्षिक शत्रदेखि जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गराउने निर्णय कार्यान्वयन गरेको थियो । सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानअन्तर्गत जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने निर्णय कार्यान्वयनमा आइसकेको छ ।

    गाउँपालिकाले विसं २०८० लाई सामुदायिक विद्यालयको शिक्षा रुपान्तरणको अभियानको रुपमा अगाडि बढाएको छ । सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धिलगायतका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

    गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार योजनाको सुरुवात गरेको छ । गाउँपालिकाले रुप फेर्ने, सिकाइ गुणस्तर, अनुगमन र प्रोत्साहन गरी चार विषयलाई प्राथमिकता दिएको अध्यक्ष चुमानले जानकारी दिनुभयो । चुमानले भन्नुभयो, “हामी निर्वाचित भएर आएदेखि नै शिक्षाको गुणस्तर वृद्धिका लागि के गर्न सक्छौँ भनेर कार्ययोजना बनाएर लागेका छौँ । शिक्षाको गुणस्तर सुधारका लागि यसलाई मुख्य प्राथमिकता दिएका छौँ ।”

    आँबुखैरेनी गाउँपालिकाका-६ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब चार हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । “सामुदायिक विद्यालयको स्तर सुधार्नुपर्छ भनेर भाषणमा भन्दा पनि व्यवहारमा लागू गरेका छौँ”, चुमानले भन्नुभयो । गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीति ल्याएको छ ।

    #अर्थतन्त्र डटकम

    प्रतिकृया दिनुहोस्