बाल्यकालदेखि नै तेज दिमागका उनी सात बर्षको छदै आफु र आफुभन्दा ठूलो उमेरका बालबालिकाहरुलाई पढाउँदथे । त्यसका लागि शिक्षक थिकेन्सले कक्षामा उनको सहयोगी भएर काम गर्न ओवेनका पितासँग अनुमति मागेका थिए । पढाइमात्र होइन अतिरिक्त क्रियाकलापमा पनि उनी अगाडि थिए । उनी तेज धावक पनि थिए । खेल्ने र नाच्ने काममा पनि उनी अरुभन्दा अगाडि थिए ।

कक्षामा सबैभन्दा राम्रो नाच्ने विद्यार्थी थिए । न्यूटाउनको प्रत्येक परिवारले चिन्ने भएकाले र सबैको घरमा भएका पुस्तकालयमा उनको सहज पहुँच थियो । त्यसको भरपूर फाइदा उठाउँदै आवेनले खुबै पुस्तक पढे । उनी दिनमा एउटा पुस्तक पढी भ्याउँथे ।

रबिन्सन क्रुसो, पिल्ग्रिम्स प्रोग्रेस, प्याराडाइज लस्ट, रिचार्डसन्स आदि त्यस समयमा प्रसिद्ध पुस्तकहरु उनले कलिलै उमेरमा पढेका थिए । दाशर्निक तथा ठूला व्यक्तिहरुका जीवनीमा रुचि राख्ने उनले दश वर्षको उमेरमै उनले इतिहास र धर्मसम्बन्धी गहन पुस्तकहरु समेत पढिभ्याएका थिए । त्यो उनको उमेरको लागि निक्कै कठिन मानिन्थ्यो ।

स्कटल्याण्डको ग्लास्गोका उद्योगी एवम् व्यापारी साथी डेभिड डेलकी जेठी छोरी क्यारोलिनसँग उनी प्रेममा परे । उनीहरुबीच ३० सेप्टेम्बर १७९९ मा विवाह भयो । उनीहरुका सात सन्तान भए । ओवेन जहाँ जन्मे त्यही नजिक मृत्युवरण पनि गरे । सन् १८५८ मा उनी सिकिस्त बिरामी परे । सोही वर्ष नोभेम्बर १९ मा ८७ वर्षको उमेरमा उनको दैहिक अवसान न्यूटाउनमै भयो ।

जीवनको अन्तिम क्षणमा उनलाई सोधिएको थियो केही पश्चाताप छ कि ? उनको उत्तर थियो, ‘मेरो जीवन व्यर्थ थिएन । मैले विश्वलाई महत्वपूर्ण सत्य दिएँ, तर त्यसका बारेमा थप बुझ्नका लागि त्यसलाई बेवास्ता गरियो । हो, म समय भन्दा धेरै अघि रहेँ ।’

श्रमिकहरुका सच्चा साथी

ओवेनको खास पहिचान विभेदको विष खान बाध्य पारिएका श्रमिकहरुको पक्षमा आवाज बुलन्द मात्र होइन कामनै गरेर देखाएका कारण स्थापित भएको हो । श्रम र श्रमिकहरुको सम्मान, सुरक्षा, सामाजिक न्याय, र स्थायित्वका लागि ओबेनले वकालत मात्र होइन काम नै गरे ।

श्रमिकहरुको स्वास्थ्य, शिक्षा, कल्याण र न्यूनतम हक अधिकार सुनिश्चितताको लागि उनले आफ्नो जीवन खर्चे । ओवेनले न्यू ल्यानार्कस्थित आफ्नै सुती कारखानाबाट सुरु गरेको सामाजिक र आर्थिक सुधारका प्रयासनै सहकारिताको अभ्यास थियो  । त्यो सुधारबाट उनले श्रमिकहरुको साथ, सम्मान र इज्जत पाए ।

२० वर्ष नपुग्दै उनी सह–लगानीकर्ता भए कारखाना सञ्चालन गरेका थिए । कारखाना सञ्चालनमा छोटै समयमा उनले प्राप्त गरेको सफलताका कारण उनको भेट स्कटल्याण्डको न्यू ल्यानार्कमा ४ वटा कारखाना सञ्चालन गरिरहेका उद्योगी एवम् व्यापारी डेभिड डेलसँग भयो । उनीहरु दुईबीच घनिष्ठ सम्बन्ध स्थापित भयो ।

म्यानचेष्टरका विभिन्न व्यवसायबाट ६० हजार पाउन्ड संकलन गरी ओवेनले पछि ससुरा बनेका उनै डेभिड डेलका धेरै मिलहरु खरिद गरे । उनले त्यसबेलाका अधिकांश मिल सञ्चालकहरुभन्दा पृथक रुपमा आफ्ना कारखानामा कार्यरत मजदूरहरुको अवस्था सुधार गर्न कामहरु गरे ।

१० वर्ष नपुगेका बालबालिकाहरुलाई कारखानामा काममा लगाउन उनले प्रतिबन्ध लगाए । सुपथ मुल्य पसल सञ्चालन गरे र त्यसबाट प्राप्त मुनाफा स्थानीय एक सामुदायिक विद्यालय सञ्चालनमा उपयोग गरे । उक्त विद्यालय विश्वको पहिलो निःशुल्क शिशु विद्यालय थियो जहाँ २ देखि ६ वर्षसम्मकाहरु अध्ययन गर्दथे ।

बालबालिकाहरुलाई एकदमै मनोरञ्जनात्मक रुपले अभिरुचिपूर्वक पढाइन्थ्यो । १० वर्षमाथिकाहरुले पनि रात्रीकालिन कक्षाहरु त्यहाँ लिन पाउने व्यवस्था ओवेनले मिलाएका थिए । विद्यार्थीहरुले अध्ययनसँगै समयसमयमा कन्र्सटहरु पनि हेर्थे  । उक्त विद्यालयमा कामकाजी महिलाहरुका लागि दिनभर आफ्ना साना सन्तान हेरबिचारका लागि राख्ने सुविधा पनि उपलब्ध थियो ।

ओवेन श्रमिकहरुको सफा र सुरिक्षत आवासको आधारभूत अधिकारको लागि पनि काम गर्दथे र आफ्ना कारखानाहरु पनि श्रमिकहरुलाई नै सञ्चालनको अधिकार दिन्थे । यसले गर्दा कामदारहरुमा कामप्रति लगाव, सम्मान र कर्मस्थल संरक्षणको भावना जागृत हुन्थ्यो । कार्यस्थल सफा र सुरक्षित राखिन्थ्यो ।

श्रमिकहरुलाई सम्मान गर्दा, अधिकार दिदा लगानीकर्तालाई घाटा होइन अझ बढी नाफा हुन्थ्यो भन्ने ओवेनेले प्रमाणित गरिदिएका थिए किनकि उनका कारखानाहरु त्यसबेला निक्कै सफल थिए । साँच्चै भन्ने हो भने धेरै कुराले ओबेन आफ्नो समयभन्दा निक्कै अघि हिडेका थिए ।

जुनकुुराहरु आवेनेको समयभन्दा साढे २ सय बर्षपछि आजको विश्व व्यग्रतासहित खोजी गरिरहेको छ, ती उनले त्यसबेलै लागू गरेका थिए । लैङ्गिक समानता, विवाह तथा पारपाचुकेसम्बन्धी कानून परिमार्जनका कुरा उनले उबेलै उठाएका थिए । बाल श्रमविरुद्ध बेलायती संसदमार्फत आवाज उठाउने विषयमा उनले सघन बहसपैरवी गरे ।

ओवेनले आफ्नै कारखानाबाट श्रमिकहरुको हक अधिकारको लडाइँ सुरु गरे । ओवेनले छोटो समय काम गर्ने श्रमिकहरुलाई पनि प्रतिस्पर्धी व्यवसायीहरुको तुलनामा राम्रो ज्याला उपलब्ध गराएका थिए । कामदारहरुलाई आवास र उनीहरुका सन्तानलाई शिक्षाको पनि प्रबन्ध गरेका थिए । यी सबै कामका बाबजूद उनको व्यवसायले मुनाफा आर्जन गर्दथ्यो । यो नै सहकारिता थियो र सहकारीकर्मबाट प्राप्त प्रतिफल थियो। मूल्यमिश्रित सेवाको लाभ थियो ।

लोककल्याणकारी समाज निर्माणको अभियानकै सिलसिलामा उनी विश्वका विभिन्न मुलुकको भ्रमण गरे र जहाँ जहाँ पुगे सबैबाट प्रशंसित भए । सामूहिक हित र सहकारितामा विश्वास गर्ने उनले १० देखि १९ वर्षको उमेरमा नै म्यानचेष्टर, लिङ्कनसायर र लन्डन सहरहरुमा काम गर्दै व्यवसाय र उद्यमको अनुभव सँगाले ।

आवेनले नै ‘समाजवाद’ शब्दावलीको प्रथम प्रयोग पटक गरेका थिए सन् १८२२ मा । त्यसपछि सन् १८२७ मा लन्डनबाट प्रकाशित हुने ‘कोअपरेटिभ’ पत्रिकामा पनि दोस्रो पटक उक्त शब्द प्रयोग गरेका थिए । उनलाई बेलायती समाजवादका पिता समेत भनिन्छ । कार्ल माक्र्सले समेत उनका कतिपय लेखरचनामा समाजवादको विषयमा ओवेनको नाम उल्लेख गरेका छन् ।

ओवनी अनुयायीहरु

खासमा विश्वको पहिलो सहकारी स्थापना गर्ने जस पाएका बेलायती २८ रोचडेली अगुवाहरुमध्ये धेरै रोबर्ट ओवेनकै अनुयायी एवम् समर्थक थिए । उनीहरु अधिकांश ओवेनी सिद्धान्त र विचारधाराका सम्वाहक अनि प्रवर्तक थिए । ओवेनी सिद्धान्तलाई व्यवहारमा प्रयोग गरेर विश्वलाई व्यवसायको नवीन शक्तिशाली अनि दूरगामी मोडेल मन्त्रदान गर्ने व्यवहारवादीहरु थिए ।

सन् १८४० तिर श्रमिकहरुको केन्द्रको रुपमा म्यानचेष्टर र लिड्सपछि रोचडेलकै नाम आउथ्यो । त्यसबेला कटन र उनी कारखानामा कार्यरत श्रमिकहरुले घट््दो ज्यालाविरुद्ध गरेका थुप्रै हड्ताहरुले पनि आशातित सफलता प्राप्त गर्न नसकिरहेको वास्तविकता थियो ।

त्यसै निराशाबीच रोचडेलका २८ श्रमिकहरुले ओवेन र अर्का सहकारी प्रवर्तक विलियम किङ्गको विचारको त्यान्द्रो समाते । तर त्यो त्यान्द्रोले उनीहरुलाई बलियो साथ थियो र जन्मियो, विश्वको पहिलो सहकारी –रोचडेल एक्विेटेवल पायोनियर्स सोसाइटी ।

प्रत्येकबाट एक युरोको दरले कुल २८ युरो संकलन गरी टोड लेनस्थित एक भवन भाडामा लिए र सन् १८४४ को २१ डिसेम्बरबाट बटर, पिठो, चिनी, जहुँको सातु र मैनबत्ती राखेर पहिलो सहकारी उपभोक्ता पसल सञ्चालन गरे । ओवेनी विचारधाराबाट प्रभावित (ओवेनाइट्स भनिन्छ) ब्राइटनमा बस्ने विलियम किङ्ग पनि हुन् । उनले सन् १८२७ बाट ‘द कोअपरेटर’ भन्ने मासिक पत्रिका प्रकाशन सुरु गरे ।

विश्व सहकारी अभियानका रुचिकर्ताहरुलाई उक्त पत्रिका प्रकाशनले अर्को खुसी किन पनि दिन्छ भने विलियम किङ्गले त्यसमार्फत गरिबी न्यूनीकरणका लागि स्थानीयस्तरमा स–साना सहकारीहरु स्थापनामा जोड दिएका थिए । सहकारी अभियानका लागि यो सुखद थालनी थियो । ओवेन र उनका अनुयायीहरुलाई सहकारीकर्मी वा समाजवादी भन्ने प्रचलन थियो ।

ओवेनको विचारधारका समर्थकहरु त्यतिबेला पनि थिए र आजपर्यन्त छन् । ओवेनी समर्थकहरुको संख्या सहकारीकर्मीको नाममा विश्वभर दिनानुदिन बढ्दै गैरहेको छ । अन्तर्राष्ट्रिय सहकारी महासंघको पछिल्लो तथ्यअनुसार हाल ओवेनी समर्थकहरुको संख्या विश्वभर १ अर्ब नाघेको छ ।

विपन्नहरुलाई एक्लैभन्दा सामूहिकताका आधारमा व्यवहार गरियो भने त्यो सहज र परिणाममुखी हुन्छ भन्ने ओवेनको विचार थियो । कतिपयले ओवेनको विचारलाई युटोपियन (काल्पनिक) पनि भन्छन् । उनको विचार कोरा आर्दश हो व्यवहारमा असफल हुन्छ भन्ने आलोचकहरु पनि पाइन्छ । तर, जेभएपनि रोचडेली अगुवाहरुको सहकारी सञ्चालनको जग ओवेनी सिद्धान्त नै हो । यो केवल रोचडेलीहरुले मात्र होइन सहकारी बुझ्ने बुझाउनेहरु सबैले स्वीकारेको सार्वकालिक तथ्य हो ।

भिलेज कोअपरेटिभको अवधारणा

सामाजिक सुधार र सहकारी समुदायसम्बन्धी ओवेनको विचार अमेरिकामा समेत लोकप्रिय भएको थियो । फलतः उनले सन् १८२५ मा अमेरिकी संसद कंग्रेसमा सम्बोधनको दुर्लभ अवसर प्राप्त गरेका थिए । सहकारी मोडल अनुरुप नमूना सहकारी बस्ती बसाउने सोचमा रहेका ओवेन जब सन् १८२४ मा अमेरिका गए, तब उनले त्यहाँको इन्डियाना राज्यस्थित ‘न्यू हार्मोनी कम्युनिटी’ बिक्रीको लागि राखिएको थाहा पाए ।

उनले एक वर्षपछि ३० हजार एकर क्षेत्रफलमा फैलिएको र १ सय ८० वटा संरचनाहरु समेत भएको उक्त जमीन खरिद गरे र भिलेज कोअपरेटिभको अवधारणासाथ बस्ती बसाए । यस्तै प्रयास उनले सन् १८४० तिर बेलायतको ह्याम्पसायर र आयरल्याण्डको काउन्टी क्लेयर र रालाहाइनमा पनि गरे । तर त्यसले आशातित सफलता भने हासिल गरेन । जापानमा सन् १८०० को अन्त्यतिर उनको विचारले स्थान पायो ।

जापानका व्यापारिक नेतृत्व तहमा उनको विचारले परिवर्तन ल्यायो र आफ्ना कारखानाहरुमा काम गर्ने मजदूरहरुको अवस्था सुधारका लागि उनीहरुले सकारात्मक काम गरे । सन् १९५८ मा जापानमा रोबर्ट ओवेन असोसिएसन अफ जापान भनेर ओवेनसँगै सहकारी अभियानको अध्ययन गर्ने संस्थाको समेत स्थापना गरे ।

सन् १९२९ मा रोबर्ट ओवेनको योगदानको कदरस्वरुप रोबर्ट ओवेन जन्मेको वेल्सको न्यूटाउनमा रोबर्ट ओवेन संग्रहालय समेत स्थापना गरिएको छ जुन विश्वभरका सहकारीकर्मीहरुको लागि पर्यटकीय आकर्षण समेत बन्दै आएको छ ।

नेपालले सिक्ने पाठ

नेपालको परिप्रेक्ष्यमा सहकारी मूल्य, मान्यता र सिद्धान्तको जग कमजोर भएकाहरुले ओवेनी सिद्धान्तबाट धेरै कुरा सिक्नुपर्दछ । अधिकारविहीनहरुलाई अधिकारी बनाउने, शोषण दमन, बालश्रम, श्रमको मुल्यमा जातिय तथा लैङ्गिक विभेद, कार्यस्थलको सुरक्षा र स्वच्छता, कामदारहरुको स्वास्थ्य, सुरक्षा र सुरक्षित अनि सहज आवासको व्यवस्था, हेरचाह र स्थायित्व जस्ता आधारभूत विषयहरुमा हाम्रो मुलुकका सहकारी सञ्चालकहरुले सदस्य र कर्मचारीहरुलाई केन्द्रमा राखेर रणनीतिक कामहरु गर्न सक्दछन् ।

श्रमिक र  सदस्यहरुलाई अधिकार दिदा संस्था थप बलियो हुन्छ भन्ने तथ्य नेपाली सहकारी सञ्चालकहरुले सिक्नुपर्ने अर्को महत्वपूर्ण पाठ हो । यी कामहरुमार्फत सहकारी ‘न्यायपूर्ण उद्यम (फेयर टे«ड)’ र ‘मर्यादित श्रम’ (डिसेन्ट वर्क) हो भनी प्रमाणित गर्नुपर्दछ । सहकारी साखमाथि चौतर्फी प्रश्नचिन्ह उठिरहेको अहिलेको तरल समयमा रोवर्ट ओवेनले देखाएको मार्गमा यात्रा गर्दा पक्कै पनि सहज अवतरण सम्भव हुनसक्छ ।

ओवेनसम्बन्धी केही तथ्यः

– रोबर्ट ओवेनका पिताको नाम पनि रोबर्ट ओवेननै थियो ।
– उनी ७ सन्तानमध्येका छैठौं थिए ।
– उनको जन्म र मृत्युबीचको अन्तर ७ महिना रहेको छ ।
– रोबर्ट ओवेन र अ्यानी क्यारोलीना डेलका पनि ७ सन्तान थिए । (८ भएपनि पहिलो सन्तानको सानैमा मृत्यु भएकाले ७ सन्तान भनिन्छ)
– उनी तीक्ष्ण बुद्धिका थिए र अध्ययनका पारखी ।
– दिनको एउटा पुस्तक पढिसक्थे ।
– दाशर्निक तथा ठूला व्यक्तिहरुका जीवनीमा रुचि राख्दथे ।
– दश वर्षको उमेरमै उनले इतिहास र धर्मसम्बन्धी गहन पुस्तकहरु पढिभ्याएका थिए ।
– उनी न्यूटाउनमा जन्मे र न्यूटाउनमै दिवंगत भए ।
– उनको मृत्युपछि मात्रै सहकारितासम्बन्धी उनको विचार रोचडेलबाट विश्वभर फैलियो