काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा विवादित बनेको छ। परीक्षा बोर्डले कुल औसत प्राप्ताङ्क (जीपीए) विना परीक्षाफल सार्वजनिक गरेपछि तथ्यांक लुकाएको तथा जिम्मेवारी ननिभाएको आरोप लागिरहेको छ।
परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेल यो वर्ष समग्र विद्यार्थीको तुलना गरेर ‘डेटा एनालाइसिस’ गर्ने अवस्था नभएको र फरक–फरक मापदण्डका आधारमा जीपीए आएकाले सबैलाई एकैठाउँमा राखेर तुलना नगरिएको बताउँछन्। उनी भन्छन्, “हामीले तुलना नगरेका कारण तथ्यांक सार्वजनिक नगरेका हौं, लुकाएको होइन।”
मन्त्रिपरिषदले दिएको जिम्मेवारी परीक्षा बोर्डले निभाएको उनको जिकिर छ। मन्त्रिपरिषदले बोर्डलाई विद्यालयबाट आएको प्राप्ताङ्कलाई ग्रेडमा रुपान्तरण गरेर प्रमाणीकरण गर्ने मात्रै जिम्मेवारी तोकेको उनी बताउँछन्।
विद्यालयले विद्यार्थीको मूल्यांकन गरेर जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा बुझाएका थिए। इकाईले सबै विद्यालयबाट आएको प्राप्ताङ्कलाई बोर्डमा पठाएका थिए। बोर्डले नै उक्त प्राप्ताङ्क ग्रेडमा रुपान्तरण गरेर नतिजा सार्वजनिक गरेको हो।
मन्त्रिपरिषद्ले त्यसैका आधारमा प्रमाणपत्र दिन भनेकाले बोर्डले संकटका वेला विद्यार्थीको बाटो फुकाएको पौडेल बताउँछन्। उनी भन्छन्, “महामारीले अनिश्चितता थपेको अवस्थामा विद्यार्थीलाई झनै अन्याेलमा धकेल्नुभन्दा प्रमाणीकरण गरेर माथिल्लो तहमा जाने बाटो फुकाइदिएका छौं।”
बोर्डले ‘बाटो फुकाइदिँदा’ अधिकांश विद्यालयको अघिल्लो वर्ष र यो वर्षको नतिजामा ठूलो अन्तर परेको छ। होली गार्डेन बोर्डिङ हाईस्कूल, रिङरोड बालाजुबाट गत वर्ष एक जनाले पनि ४ जीपीए ल्याएका थिएनन्। यो वर्ष ३२ जनाले ल्याए। यस्तै अवस्था अधिकांश निजी मात्र होइन सामुदायिक विद्यालयहरुको पनि छ।
टिच फर नेपालका अध्यक्ष शिशिर खनाल एसईईको नतिजा अपेक्षित भएको बताउँछन्। मौका पाउँदा विद्यालयले आफ्ना विद्यार्थी पास गराउन चिट चोराएकादेखि प्रयोगात्मक परीक्षाको अस्वाभाविक अंक दिने चलन यसअघिका एसईईमा पनि देखिएको उनको भनाइ छ।
एसईईमा प्रयोगात्मक परीक्षा हुन थालेपछि नै विद्यार्थीको बढी प्राप्ताङ्क र जीपीए आउने गरेको देखिन्छ। प्रयोगात्मक परीक्षा नहुँदा विद्यार्थीले लेखेको प्रश्नोत्तरबाट मात्रै मूल्यांकन हुँदा २०७२ सालमा दुई जनाले र २०७३ सालमा चार जनाले मात्रै जीपीए ४ ल्याएका छन्।
प्रयोगात्मक परीक्षा हुन थालेपछि २०७४ सालमा ७४ जनाले ४ जीपीए ल्याए। २०७५ सालमा यो संख्या बढेर १०६ पुग्यो। यो वर्ष विद्यालय आफैँले मूल्यांकन गर्दा नौ हजार ३१९ जनाले जीपीए ४ ल्याएका छन्।
४ जीपीए ल्याउनको लागि विद्यार्थीले औसतमा हरेक विषयमा ९० भन्दा बढी अंक ल्याउनुपर्छ। एउटामा मात्रै पनि ९० भन्दा कम आयो भने ४ जीपीए नआउने भएकाले खनाल यो वर्षको नतिजा वास्तविकको नजिक नरहेको जिकिर गर्छन्। उनी भन्छन्, “नतिजामा यत्ति धेरै भिन्नता आउनको लागि त कि त्यही अनुसारको शैक्षिक गुणस्तरको विकास भएको हुनुपर्छ। त्यो भएको छैन भने कसरी सम्भव हुन्छ?”
प्याब्सन अध्यक्ष टीका पुरी पनि केही विद्यालयहरुले आफूखुशी नम्बर दिएकोमा शंका गर्ने ठाउँ भएको स्वीकार गर्छन्। उनी भन्छन् “केही विद्यालयहरुको नतिजा अस्वाभाविक छ। त्यो हेर्दा शंका गर्ने ठाउँ छ।”
विद्यालयहरुलाई सरकारले विश्वास गरेर दिएको जिम्मेवारी इमानदारीपूर्वक ननिभाएको उनको भनाइ छ। त्यही कारण योग्य विद्यार्थीहरुलाई अप्ठ्यारो परेको उनले बताए।
एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा भने विद्यार्थीको क्षमतामाथि मजाक गरेर उनीहरुलाई मानसिक तनाव दिने काम भइरहेको दाबी गर्छन्। कक्षा शिक्षकले जत्तिको राम्रो अरुले विद्यार्थीको मूल्यांकन गर्न नसक्ने उनको भनाइ छ। यो वर्षको नतिजाले यसअघिका मूल्याङ्कन प्रणालीमा पुनर्विचार गर्नुपर्ने देखिएको उनले बताए।
देशभरका करीब पाँच लाख विद्यार्थीहरुको नतिजा आउँदा नौ हजार विद्यार्थीले ४ जीपीए ल्याउनु स्वाभाविक भएको उनी बताउँछन्। यो वर्ष चार लाख ७२ हजार ७८ विद्यार्थी एसईईमा सामेल थिए। उनले भने, “विद्यार्थीहरुको प्राप्ताङ्कलाई लिएर जथाभावी टिप्पणी गर्दै मानसिक तनाव दिने काम भइरहेको छ। यसपटकको मूल्याङ्कन स्वाभाविक छ।”
विद्यालयका आ–आफ्नै तर्क
बेबिलोन नेशनल स्कूल शान्तिनगरबाट गत वर्ष एक जनाले पनि ४ जीपीए नल्याएकोमा यो वर्ष १३ जनाले ल्याए। बूढानीलकण्ठ बोर्डिङ स्कूलबाट गत वर्ष एक जनाले जीपीए ४ ल्याएका थिए भने यो वर्ष १४ जनाले ल्याए।
तरुण मावि बालाजुबाट गत वर्ष एक जनाले पनि जीपीए ४ ल्याएका थिएनन्। यो वर्ष १५ जनाले ल्याए।
त्यस्तै सामुदायिक विद्यालयतर्फ पनि जीपीए ल्याउनेको संंख्या बढेको छ। तरुण मावि बालाजुबाट गत वर्ष एक जनाले पनि जीपीए ४ ल्याएका थिएनन्। यो वर्ष १५ जनाले ल्याए। ज्ञानोदय मावि पुरानो कालीमाटीबाट गत वर्ष एक जनाले जीपीए ल्याएका थिए तर, यो वर्ष १५ जनाले ल्याए।
विश्व निकेतन मावि त्रिपुरेश्वरका प्रधानाध्यापक हेरम्बराज कँडेल आफ्नो विद्यालयले वास्तविक मूल्याङ्कन गरेको दाबी गर्छन्। उनी भन्छन्, “राष्ट्रिय परीक्षा बोर्डले विश्वास गरेर विद्यालयलाई दिएको जिम्मेवारीमा हामीले इमानदारीपूर्वक पालना गरेका छौं। हाम्रो नतिजा वास्तविक तथ्यमा आधारित छ।”
विश्व निकेतन मावि त्रिपुरेश्वरबाट गत वर्ष जीपीएस ४ ल्याउनेको संख्या एक थियो भने यो वर्ष दुई विद्यार्थीले ल्याएका छन्। तर, अन्य विद्यालयले आफ्नो हात जगन्नाथ प्रवृत्ति अपनाउँदा सबै शंकाको घेरामा परेको उनको भनाइ छ।
ज्ञानोदय मावि पुरानो कालीमाटीका प्रधानाध्यापक नातिकाजी महर्जन आफूले आन्तरिक परीक्षाको आधारमा मूल्यांकन गरेको बताउँछन्। उनी भन्छन्, “हाम्रो विद्यालयले एउटा सूत्र बनाएर मूल्यांकन गरेका छौं। उक्त सूत्रको शर्तभित्र परेका विद्यार्थीलाई मात्रै ४ जीपीएको लागि सिफारिश गरेका हौं।”
२७६ जनामा १५ जनाले जीपीए ४ ल्याउनु स्वाभाविक भएको उनको तर्क छ। उनी भन्छन्, “कुल संख्याको करीब ५ प्रतिशतले मात्रै ४ जीपीए ल्याएको छ। अझ सम्भावना बोकेका विद्यार्थीहरु पनि थिए। तर, हामीले अन्तिम परीक्षाको मूल्यांकन गर्नुपर्ने भएकोले उनीहरु छुटेका छन्।”
बेबिलोन नेशनल स्कूल शान्तिनगरका प्रिन्सिपल राजु राई निर्देशिका अनुसार विद्यार्थीको मूल्यांकन गरेको बताउँछन्। ६५ जना विद्यार्थीमध्येबाट विद्यार्थीको अन्तिम परीक्षाको अंक र उनीहरुको क्षमताको आधारमा मूल्यांकन गरेर पठाएको उनको दाबी छ। आँखा चिम्लेर अंक नपठाएको उनको भनाइ छ।
ललितपुरको गोदावरी नगरपालिकास्थित सेन्ट पलका प्रिन्सिपल राधेकृष्ण महर्जन नतिजा हेर्दा सरकारले दिएको अधिकार विद्यालयबाट दुरुपयोग भएको आशंका गर्ने ठाउँ रहेको बताउँछन्। उनी भन्छन्, “हामीले विद्यार्थीहरुको क्षमता अनुसार मूल्यांकन गरेका छौं। हामीले अहिले अस्वाभाविक अंक दिंदा हाम्रो पनि विश्वसनीयता गुम्छ नि।” उक्त विद्यालयबाट यो वर्ष १६ मध्ये तीन विद्यार्थीले जीपीए ४ ल्याएका छन् ।
सुनसरी धरानको युरेका उच्च माध्यमिक इङ्गलिस विद्यालयबाट यो वर्ष दुई जनाले जीपीए ४ ल्याएका छन्। गत वर्ष दुई जनाले ३.९ जीपीए ल्याएका थिए। यो वर्ष जीपीए ४ ल्याउने गरी अध्यापनस्तर उकासेको प्रिन्सिपल राजेन्द्र गुरुङले बताए। विद्यालयले लिएको अन्तिम आन्तरिक परीक्षामा उनीहरुले ३.९ जीपीए ल्याएको आधारमा मूल्याङ्कन गरिएको प्रिन्सिपल गुरुङको भनाइ छ।
धरान कै सामुदायिक विद्यालय पब्लिक हाईस्कूलमा भने एक जनाले पनि जीपीए ४ ल्याएनन्। प्रधानाध्यापक इन्द्र मोहन झाका अनुसार ए प्लस ल्याउने चार जना मात्रै छन्। उनले भने, “हामीले विद्यार्थीको वास्तविक मूल्याङ्कन गरेका छौं। अलिकति नम्बर पुगेन भन्दै उदार भएर थपिदिएका छैनौँ। विद्यार्थीको क्षमताभन्दा बढी मूल्यांकन गर्दा विद्यालयसँगै विद्यार्थीलाई पनि नकारात्मक असर पर्न सक्छ।”
Discussion about this post