भक्तपुर। सस्तोमा डलर साटीदिन्छु भन्दै ५ लाख रुपैयाँ लुटपाट गर्ने २ जनालाई प्रहरीले भक्तपुरबाट फक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका १० कमलविनायक वसपार्कबाट सूर्यबिनायक बस्ने दोलखा घर भएका एक व्यक्तिलाई डलर देखाई सस्तो दरमा साटीदिन्छु भन्दै नगद ५ लाख रुपैंयाँ लुटपाट गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भक्तपुर चारदोबाटो डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भएका २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन् ।
उक्त नगद लुटी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चाँगुनारायण नगरपालिका ८ रातोपाटीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद ३ लाख ३१ हजार रुपैयाँ, २ थान मोबाइल, १ थान मोटरसाइकल, २ थान पर्स र ८ थान विभिन्न देशको डलर समेत प्रहरीले बरामद गरेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
Discussion about this post