लिग-२ अन्तर्गत सन् २०२१ मा नेपालले दुई ओडीआई श्रृङ्खला मात्र खेल्ने

7
SHARES
15
VIEWS

काठमाडौं ।अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्रिकेट वल्र्डकप लिग-२ को नयाँ खेल तालिका सार्वजनिक गरेको छ। जसअनुसार सन् २०२१ मा नेपालले दुई वटा मात्र एक दिवसीय अन्तराष्ट्रिय (ओडीआई) श्रृङ्खला खेल्न पाउने भएको छ।

सन् २०२३ मा भारतमा हुने विश्वकप क्रिकेट प्रतियोगिताको छनौट मानिएको लिग-२ नेपालले आगामी वर्ष खेल्ने दुवै ओडीआई श्रृङ्खला ‘अवे’ हुनेछन्। मंगलबार सार्वजनिक गरिएको नयाँ तालिका अनुसार सन् २०२३ सम्ममा नेपालले खेल्ने आठमध्ये दुई श्रृङ्खला मात्र घरेलु मैदानमा खेल्न पाउने भएको छ। जसमध्ये सन् २०२२ मा हुने चारमध्ये एउटा र अर्को वर्ष २०२३ मा हुने दुईमध्ये एउटा श्रृङ्खला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्।

आईसीसीले सार्वजनिक गरेको नयाँ तालिका अनुसार कोरोनाभाइरस महामारीका कारण रोकिएको लिग-२ आगामी मार्चबाट पुनः शुरु हुनेछ। १९ देखि २८ मार्च (६-१५ चैत) सम्म हुने त्रिकोणात्मक श्रृङ्खलामा आयोजक ओमानसहित नेपाल र अमेरिकाले प्रतिश्पर्धा गर्नेछन्। त्यसपछि आगामी जुलाईमा स्कटल्याण्डमा अर्को त्रिकोणात्मक श्रृङ्खला हुनेछ। जसमा नेपालले आयोजकसहित नामिबियासँग प्रतिश्पर्धा गर्नेछ।

सन् २०२२ मा भने पहिलो श्रृङ्खलामा नै नेपालले घरेलु मैदानमा प्रतिश्पर्धा गर्न पाउनेछ। फेब्रुअरी २०२२ मा युएई र पपुवा न्यूगिनीले नेपाल भ्रमण गर्नेछन्। त्यसपछि नेपालले नामिबिया र स्कटल्याण्डविरुद्ध नामिबियामा प्रतिश्पर्धा गर्नेछ। त्यही वर्ष नेपालले जुलाईमा अमेरिका र सेप्टेम्बरमा पपुवा न्यूगिनी भ्रमण गर्नेछ।

सन् २०२३ मा भने फेब्रुअरीमा नै दुई वटा त्रिकोणात्मक श्रृङ्खला खेलेर नेपालले लिग(२ को यो सिजनको यात्रा अन्त्य गर्नेछ। पहिलो श्रृङ्खलामा स्कटल्याण्ड र नामिबियासँग कीर्तिपुरमै प्रतिश्पर्धा गर्नेछ। दोस्रो श्रृङ्खलामा युएई र पपुवा न्यूगिनीसँग खेल्न यूएई जानेछ।

लिग-२ अन्तर्गत नेपालले अहिलेसम्म एउटा मात्र श्रृङ्खला खेलेको छ। गत वर्ष फेब्रुअरीमा घरेलु मैदानमा भएको प्रतिश्पर्धामा नेपालले दुई जित र दुई हारको सामना गरेको छ। नेपालले ओमानविरुद्धका दुवै खेल गुमाएको थियो भने अमेरिकाविरुद्ध दुवै खेल जितेको थियो। अब महामारीपछि पनि आगामी मार्चमा यी दुई टोलीसँग नै प्रतिश्पर्धा गरेर नेपालले पुनः यात्रा थाल्दैछ।

नेपाल लिग-२ अंकतालिकामा चार खेलबाट चार अंकसहित छैटौँ स्थानमा छ। सातौँ स्थानको पपुवा न्यूगिनीले आठ खेल खेलेर कुनै पनि खेल जित्न सकेको छैन। ओमान भने १० खेलबाट १६ अंक बटुल्दै शीर्षस्थानमा छ। त्यस्तै अमेरिकाले १२ खेलबाट १२ अंक बटुलेर दोस्रो स्थानमा रहेको छ।

अंकतालिकाको शीर्ष तीन टीमले १८ जुन २०२३ देखि जिम्बाब्बेमा हुने विश्वकप छनौट प्रतियोगितामा सिधै प्रतिश्पर्धा गर्न पाउनेछन्। बाँकी चार टीमले भने उक्त प्रतियोगितामा पुग्न फेरि प्लेअफ खेल्नुपर्नेछ।

नेपालले आगामी मार्चमा हुने प्रतियोगिताका लागि राष्ट्रिय टीमको बन्द प्रशिक्षण शुरु गरिसकेको छ। अहिले राखेपका प्रशिक्षक जगत टमाटाले बन्द प्रशिक्षणमा सहभागी २७ खेलाडीलाई प्रशिक्षण दिइरहेका छन्। तर, नेपाल क्रिकेट संघले मुख्य प्रशिक्षक छनौटका सबै प्रक्रिया पुरा गरेर आईसीसीमा पठाइसकेको छ। छिटै नयाँ प्रशिक्षक नियुक्त हुने क्यान सचिव अशोक प्याकुरेलले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित