नेपाल टेलिकमले शुरू गर्यो एफटीटीएचमार्फत एनटी टीभी सेवा

7
SHARES
15
VIEWS

काठमाडौं। नेपाल टेलिकमले आज शुक्रबारदेखि एनटी टिभी ब्राण्डमा फाइवर टू होम (एफटीटीएच) मार्फत आईपी टिभी सेवा शुरू गरेको छ ।

एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएको टेलिकमले बताएको छ । यो सेवा शुरू भएसँगै ट्रिपल–प्लेको अवधारणा कार्यान्वयनमा सफलता प्राप्त गरेको समेत टेलिकमको दाबी छ ।

कम्पनीको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले एन्टी टीभी सेवाको शुभारम्भ गरे । सो अवसरमा मन्त्री गुरुङले नेपाल टेलिकमले अत्याधुनिक सेवाका रुपमा एउटै तारबाट भ्वाइस, इन्टरनेट र टेलिभिजन सेवासमेत उपलब्ध गराउन लागेकोमा निकै उत्साहित भएको बताउँदै दीगो र भरपर्दो सेवाका लागि योजना बनाएर खटिन निर्देशन दिए ।

यस्ता सेवालाई देशव्यापी बनाई सबै जनतासमक्ष पुर्याई कम्पनीलाई प्रतिस्पर्धामा अब्बल सावित गराउनु कम्पनीको दायित्व भएको मन्त्री गुरुङको भनाइ छ ।

यसैगरी समारोहका सभापति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले जनतामा अत्यधिक माग भएको एउटै फाइबरबाट तीनथरी सेवाहरु उपलब्ध हुने एफटीटीएच सेवालाई मुलुकभर विस्तार गर्नाका साथै सेवाको मर्मत र निरन्तरतामा ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै हालसम्म मुलुकका ३९ वटा जिल्लामा एफटीटीएच सेवा विस्तार गरिएको र एफटीटीएच सेवा विस्तारमा कम्पनी पहिलो नम्बरमा रहेको उल्लेख गरे । उनले यो सेवाको विस्तारले नेपाल सरकारको डिजिटल नेपाल स्थापना गर्ने अभियानमा सहयोग पुग्ने र डिजिटल रुपान्तरणमा प्रभावकारी योगदान पुग्ने बताए ।

कम्पनीको एफटीटीएच सेवामार्फत भ्वाइस सेवा वा डाटा सेवा वा दुवै सेवा प्रयोग गरिरहेका ग्राहक वर्गले एनटी टीभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नुपर्दछ । तत्कालका लागि काठमाडौं उपत्यकाका अधिकांश स्थानहरु र काठमाडौं बाहिर बनेपामा एनटी टिभी सेवा उपलब्ध हुने छ ।

राष्ट्रिय टिभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टीभी सेवा वेसिक प्याकेज र प्रिमियम प्याकेजमा छुट्याइएको र सेवा अवधि एक महिना, तीन महिना वा एक वर्ष कायम गरिएको छ । इन्टरनेट व्याण्डविथ प्रयोगका आधारमा यसको मूल्य फरक–फरक कायम गरिएको छ ।

उदाहरणका लागि बेसिक प्याकेजअन्तर्गत एक महिना अवधिका लागि १५ एमबीपीएस इन्टरनेट व्याण्डविथ सहितको एनटी टिभी सेवाको दर रू. १ हजार २३० प्रतिमहिना रहेको छ भने एक वर्षका लागि १५ एमबीपीएस इन्टरनेटसहितको एनटी टिभी सेवा रू. १३ हजार २२० मा उपलब्ध हुने छ ।

यसैगरी प्रिमियम प्याकेजअन्तर्गत एक महिना अवधिका लागि १५ एमबीपीएस इन्टरनेट व्याण्डविथसहितको एनटी टिभी सेवा रू. १ हजार ४०० मा उपलब्ध हुने छ भने एक वर्षका लागि ६० एमबीपीएस इन्टरनेटसहितको एनटी टिभी सेवा रू. २४ हजार ५०० मा उपलब्ध हुने छ । बेसिक र प्रिमियम दुवै प्याकेजमा एनटी नेटवर्कमा मासिक २५० मिनेट टेलिफोन गर्न सकिने सुविधा उपलब्ध हुने छ ।

कम्पनीले तारवाला फोनका ग्राहकहरुलाई प्राविधिक रुपले सम्भव भएसम्म एफटीटीएचमा रुपान्तरण गरिरहेको अवस्थामा एफटीटीएच अन्तर्गत भ्वाइस सेवा मात्र उपयोग गरिरहेका ग्राहकलाई पनि एनटी टीभी सेवा उपलब्ध हुने छ । यसका लागि बेसिक प्याकेजअन्तर्गत एक महिनाको एनटी टीभी सेवा रू. ४८० मा उपलब्ध हुने छ भने एक वर्षको रू. ५ हजार ७८० मा उपलब्ध हुने छ ।

यसैगरी भ्वाइस सेवा मात्र उपभोग गरिरहेका एफटीटीएचका ग्राहकहरुले प्रिमियम प्याकेजअन्तर्गत एक महिनाको एनटी टिभी रू. ८०० मा प्राप्त गर्न सक्ने छन् भने १२ महिनाको एनटी टीभी रू. ८ हजार ३०० मा प्राप्त गर्न सक्ने छन् ।

एनटी टिभी सेवाको प्याकेज तथा दररेट र सेवा उपलब्ध हुने स्थानहरु सम्बन्धी विस्तृत विवरण कम्पनीको वेबसाइटमा उपलब्ध गरिएको टेलिकमका प्रवक्त राजेशकाजी जोशीले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित