ओली समुहमा आन्तरिक द्धन्द्धले उच्च रुप लिएपछि तनाव

7
SHARES
15
VIEWS

काठमाडौं । प्रतिनिधि सभा बिघटन गर्ने निर्णयपछि राष्ट्रिय राजनीतिबाट अलगावमा पर्दै गएको नेकपाको केपी शर्मा ओली समूहभित्र त्रिपक्षीय द्वन्द्व देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका अघिल्तिर खास बहस नभए पनि नेताहरुमा आन्तरिक रुपमा चर्को मतभेद देखिएको छ। यही मतभेदका कारण ओली समूहको द्वन्द्व क्रमशः सतहमा आउन थालेको छ।

नेकपा बिभाजित हुनुभन्दा अगाडि ओली समूहभित्र तीनथरि मत भए पनि मूलतः दुईवटा समूहबिच मतभेद रहँदै आएको थियो। तर, पार्टी बिभाजनपछि पूर्वमाओवादीको एउटा सानो समूह थपिएपछि ओली समूहको अन्तरसंघर्ष त्रिपक्षीय देखिएको छ। ओलीको दबदबासामु उक्त समूहको अन्तरविरोध सतहमा कम देखिए पनि भित्रभित्रै भुसको आगोझैं सल्किएको छ।

नेकपा एकीकृत रहँदा उक्त समूहभित्र नेता ईश्वर पोखरेल, विष्णु रिमाल र महेश बस्नेतहरु ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छोड्न नहुने र आवश्यक परे कठोर कदम चाल्नुपर्ने पक्षमा थिए। अर्कोतिर, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली लगायतका नेताहरु ओलीले एक पद छोडेर भए पनि पार्टी एकताको रक्षा र आफूहरुको राजनीतिक भविष्य सुरक्षित राख्न आग्रह गरेका थिए। तर, ओलीले ईश्वरको कुरा सुन्दै संसद बिघटन गरेपछि औपचारिक कार्यक्रममा बाहेक नेम्वाङ र ज्ञवालीहरु मौन रहँदै आएका छन्।

यता पूर्वमाओवादीबाट ओली समूहतिर लागेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साहहरु प्रचण्ड–नेपाललाई जतिसक्दो गाली गरेर ओलीको विश्वासपात्र बन्ने प्रतिस्पर्धामा छन्। उनीहरुले ओली समूहका पूराना नेताभन्दा धेरै अगाडि बढेर प्रचण्डको आलोचना गरिरहेका छन्, जुन आलोचनामा आफूहरुको राजनीतिक भविष्यको भय देखिन्छ।

ओली समूहका एक केन्द्रीय सदस्यले भने, ‘‘उहाँहरु (रामबहादुर, टोपबहादुर, मणि) २०७८ मंसीरमा हुने महाधिवेशनपछि अलगावमा पर्छौं कि भन्ने डरमा हुनुहुँदो रहेछ। महाधिवेशनपछि हाम्रो जिम्मेवारी के हुन्छ भनेर बारम्बार पिएम (प्रधानमन्त्री) लाई सोधिरहनुहुन्छ। महाधिवेशनपछिको कुरा अहिल्यै फिक्स हुने भए महाधिवेशन पो किन चाहियो, निर्वाचन किन गर्नुपर्‍यो ?’’

ती नेताका अनुसार पछिल्लो दिनमा पूर्वमाओवादीबाट गएका नेताहरु प्रधानमन्त्री ओलीसँग झस्किएका छन्। ओलीले अहिले महत्वपूर्ण जिम्मेवारी दिएर नेता–कार्यकर्ता आफूसँग तान्ने र महाधिवेशनमा चुनाव गराएर आफूहरुलाई सिध्याउन सक्ने भन्दै उनीहरु चिन्तित देखिन थालेका हुन्। ओलीले यसअघि नै निर्वाचनबाहेक अरु प्रक्रियाबाट आफूहरुले नेतृत्व नछान्ने स्पष्ट पारिसकेपछि पूर्वमाओवादी नेताहरु झस्किएका हुन्।

यता ईश्वर पोखरेल लगायतका नेताहरु भने ओलीले थापा, रायमाझी लगायतका नेताहरुलाई योगदान र क्षमताभन्दा बढी जिम्मेवारी दिएको भन्दै रुष्ट भएका छन्। ओलीले पार्टी कमिटीको जिम्मेवारीमा पोखरेलभन्दा माथि गृहमन्त्री थापा र विष्णु पौडेलभन्दा माथि टोपबहादुर रायमाझीलाई राख्न खोजेपछि ओली समूहको पूरानो टीम असन्तुष्ट बनेको छ। ‘‘मान्छे जति प्रचण्डतिर पठाउने, आफू एक्लै आउने, अनि ठूलठूला पद दावी गर्ने ?’’ पोखरेलको सचिवालयमा काम गरिसकेका एक नेताले आक्रोश पोखे।

नेम्वाङ–ज्ञवाली मौन

ओली समूहका नेता सुवासचन्द्र नेम्वाङ र प्रदीप ज्ञवाली भने पछिल्ला राजनीतिक घटनाका विषयमा मौन देखिएका छन्। परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवाली पछिल्लो राजनीतिक घटनाक्रमबारे बोल्न छोडेका छन्। यता आफै प्रदेश इञ्चार्ज रहेको प्रदेश–१ को भेलाबाहेक अरु कुनै पनि औपचारिक कार्यक्रममा नेम्वाङ देखिएका छैनन्। नेम्वाङले आफूनिकट नेता–कार्यकर्तासँग बाहिर मुख देखाउन सकिने अवस्था नभएको र आफूले उपर्युक्त समयमा मुख खोल्ने बताउने गरेका छन्।

नेम्वाङ र ज्ञवाली कुनै विन्दुमा फेरि प्रचण्ड–नेपालसँग एकता गर्नैपर्ने अन्यथा आफूहरुको राजनीतिक भविष्य संकटमा पर्ने विश्लेषणमा छन्। नेम्वाङनिकट एक नेता भन्छन्, ‘‘फुटले कसैको फाइदा गर्दैन। उहाँ (नेम्वाङ) अहिले पनि एकताकै पक्षमा हुनुहुन्छ। अहिले जे भइराख्या छ, यो समाधान होइन। एक्लाएक्लै हिँडेर कसैको पनि भविष्य छैन।’’

ती नेताका अनुसार परिस्थिति सामान्यीकरण हुँदै जाँदा फेरि एकताको प्रयास गर्ने सोंचमा नेम्वाङ छन्। ‘‘प्रधानमन्त्रीको कदमबाट पनि मुलूक पार लाग्दैन, नयाँ निकास चाहिन्छ’’ ती नेताले भने। उनका अनुसार सकभर प्रधानमन्त्री ओलीलाई ‘कन्भिन्स’ गरेर एकताको आधार तयार पार्ने र त्यसो हुन नसके उपर्युक्त समयमा प्रचण्ड–नेपालसँग बसेर निकास खोज्ने पक्षमा ओली समूहका मध्यमार्गी नेताहरु देखिएका छन्। पूर्वएमालेको आधा शक्ति र पूर्वमाओवादीको ९५ प्रतिशत शक्ति प्रचण्ड–नेपालतिर रहेकाले ओली समूहको राजनीतिक भविष्य जोखिममै रहेको उनीहरुको विश्लेषण छ।

संसद ब्यूँतिने डर

पछिल्ला दिनमा प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापना भए संकटकाल वा फेरि संसद बिघटनको बिकल्प रहेको भन्दै आफूनिकट नेता–कार्यकर्तालाई आश्वास्त पार्ने प्रयास गर्दै आएका छन्। पुस ४ गतेसम्म आफ्नो पक्षमा देखिएको भारतीय संस्थापन पक्ष संसद बिघटनपछि ‘दोधारे’ कुरा गर्न थालेको भन्दै ओलीले नेपालमा त्यसको सबैभन्दा असर पर्ने विश्लेषण गर्न थालेका छन्। उनले बाहिर कुनै हालतमा संसद पुनर्स्थापना हुँदैन भने पनि अदालतमा चलेको बहस र पाएका संकेतहरु संसद पुनर्स्थापनाको दिशातिर केन्द्रित भएका छन्। ओलीले अदालतको मानीहानी गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले एक साताभित्र आफै अदालत हाजिर हुन भनेपछि ओली थप गलेका छन्।

संसद बिघटनमा बलियो साथ दिएको भारतीय संस्थापन पक्ष पछिल्लोसमय टाढिएको, दुई दिन कुर्दासमेत परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट नदिएको र ओलीसँग सम्बन्धको निरन्तरतामा रुचि नदेखाएको, सत्ता साझेदारीमा समझदारी गरेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्ड–नेपालसँग नजिकिएको, अदालतको माहौल संसद बिघटनका विपक्षमा देखिएकोजस्ता कारण ओली थप गलेका हुन्। बाहिर निर्वाचनको कुरा गरे पनि निर्वाचनको परिणामसमेत चिन्ताजनक आउनसक्ने भन्दै जोखिम नमोल्न उनीनिकट नेताहरुले ओलीलाई सुझाइरहेका छन्, जुन कुराको आसय गृहमन्त्री थापाले केही दिनअघि कालिकोटको सार्वजनिक मञ्चमै व्यक्त गरेका थिए।

थापा–सुत्र निरर्थक

पार्टी बिभाजनपछि ओलीले आफूनिकट १०८ जना केन्द्रीय सदस्य बालुवाटार बोलाएर केन्द्रीय समितिको संख्या ११९९ पुर्‍याएको घोषणा गरे। त्यो संख्या बढेर अहिले २५ सयसम्म पुगिसकेको छ। तर, निर्वाचन आयोगले थपेका केन्द्रीय सदस्यलाई अवैध ठहर गरेपछि त्यसको प्रत्यक्ष असर ओली समूहमा देखिएको छ। अहिले ओली समूहभित्र कार्यकर्ता जोगाउन धौधौ पर्न थालेको छ।

ओलीलाई केन्द्रीय समिति बिस्तार गरेर कार्यकर्ता आफूतिर तान्न सल्लाह दिने नेता गृहमन्त्री थापा नै रहेको एक नेताले बताए। ‘‘गृहमन्त्रीज्यूको फर्मुला प्रधानमन्त्रीले प्रयोग गरेको देखियो। तर, त्यसले काम गरेन’’ ओलीनिकट युवा संगठनका एक नेताले भने। उनका अनुसार कमिटी ठूलो बनाएर कार्यकर्ता रोक्न सकिने सुत्र थापाले नै पेश गरेका थिए। थापा तिनै नेता हुन्, जसले २०७३ मा प्रचण्डसँग एकता गर्दा केन्द्रीय कमिटी संख्या बढाएका थिए। कमिटीको संख्या बढाउँदै जाँदा तत्कालीन माओवादीमा केन्द्रीय समितिको संख्या ४ हजार पुगेको थियो। तर, त्यो मोडेलले पार्टी संगठन ध्वस्त भएको भन्दै माओवादी विवादितसमेत भयो। अहिले थापाले त्यही मोडेल ओली समूहमा प्रयोग गर्न खोजे पनि त्यो निरर्थक भएको छ।

महाधिवेशनबाटै छिनोफानो

पूर्वमाओवादी नेताहरुलाई बढी जिम्मेवारी दिएको भन्दै रुष्ट बनेको पोखरेल समूह थापा–रायमाझी समूहलाई महाधिवेशनबाटै ठेगान लगाउने तयारीमा जुटेको छ। पूर्वमाओवादीका थापा–रायमाझी र साहहरु पनि एउटै धारामा देखिएका छैनन्, उनीहरु सबै ओलीको विश्वास कसरी जित्ने भन्ने प्रतिस्पर्धामा छन्, जसको प्रत्यक्ष फाइदा उठाउन सकिने विश्लेषणमा पोखरेल समूह देखिएको छ। पोखरेलले महाधिवेशनमा आफूलाई पार्टी अध्यक्षका रुपमा प्रस्तुत गर्ने तयारी गरिरहेको पोखरेलका सचिवालयका एक सदस्यले बताए।

‘‘दुईपटक पार्टी महासचिवमा निर्वाचित भइसक्नुभएको छ, सरकारको उपप्रधानमन्त्री हुनुहुन्छ, योगदान र क्षमताका हिसाबले पनि कुनै कमि छैन, स्वाभावैले उहाँको दाबी रहन्छ’’ ती सदस्यले भने।

यता मध्यमार्गी धारामा रहेको समूहमा पनि एकमत छैन। अर्थमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलबिचको शीतयुद्ध अहिले पनि चलिरहेको छ। ओलीलाई कन्भिन्स गरेर प्रदेश राजधानी दाङ सारेपछि अलिकति सुरक्षित महशुस गरेका मुख्यमन्त्री पोखरेल पछिल्लो दिनमा चिन्तित देखिन थालेका छन्। सामाजिक सञ्जालमा प्रधानमन्त्रीका कदमको राजनीतिक प्रतिरक्षा गरे पनि उनी राजनीतिक भविष्यको गहिरो चिन्तामा रहेको निकटस्थहरु बताउँछन्।

ओली समूहका धेरै नेताहरुले संसद पुनर्स्थापना भएपछि आफूहरु राष्ट्रिय राजनीति र संगठनमा थप कमजोर बन्ने भन्दै निरासा व्यक्त गरिरहेका छन्। यसले ओलीको एउटा मध्यमार्गी समूह निकट भविष्यमै प्रचण्ड–नेपालतिर सहकार्य गर्ने तयारीमा रहेको छनक मिल्छ।

#rajniti.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित