शिविर कुर्दै बुढेसकाल

7
SHARES
15
VIEWS

काठमाडाैं। छत्रमाया राईले भुटान छाडेको ३० वर्ष नाघ्यो। अनेक हन्डर खाँदै मोरङको पथरी शनिश्चरे शरणार्थी शिविरमा जीवनको उर्वर समय बिताइन्। यो बीचमा न भुटान फर्किन सकिन् न त नेपाली भन्न सक्ने कानुनी आधार प्राप्त गरिन्। भन्छिन्, ‘न यताको न उताको, बाटोको जुत्ताजस्तै हाम्रो जिन्दगी।’ छाडेर जाने आफन्त तेस्रो देश पुनर्वासमा गए। नौ जनाको परिवारमा शिविरको झुपडी कुर्ने राई दम्पती र वृद्धा आमा आशामती मात्रै छन्।

छत्रमायाका दुई छोरा अमेरिका भासिएको तीन वर्ष भयो। उनीहरू फोन गर्न समय मिल्दैन भन्छन्। मुस्किलले एक महिनामा सन्तानसँग बात मार्छ राई दम्पती। भन्छिन्, ‘छाडेर जानेहरूलाई छाडिनेको माया लाग्दैन सायद। छाडिसकेको गुँड सम्झेर को पो आउला र ?’

छत्रमाया चार वर्षअघि पति मनबहादुरसँग आफन्त भेट्न भारतको सरलपाडा पुगेकी थिइन्। फर्किंदा लाभरघोटे जंगलमा बम विस्फोटमा परे। उनीहरू नराम्रोसँग घाइते भए। मनबहादुरलाई त ६ महिना अस्पताल राख्नुपर्‍यो। बिरामी मनबहादुर र वृद्धा सासू आशामतीसँगै दिन काटिरहेकी छन् छत्रमाया।

भुटानको गाउँको माया लागिरहन्छ। त्यहाँ आफ्नै घर थियो। जग्गा थियो। पाखो नै भए पनि भकारीभरि अन्न फल्ने बारी थियो। गाउँ सम्झिँदै भन्छिन्, ‘कोदो, गहुँ, मकै खुब फल्थ्यो। पाखाभरि पहेंलपुर सुन्तला झुल्थे। यहाँ त एउटा रूखसमेत रोप्न पाइएको छैन। अर्काको ठाउँमा जति नै गरे पनि आफ्नो नभइने रहेछ।’

उनीहरूले असुरक्षा महसुस गरेपछि भुटान छाडेका थिए। काखे बच्चाहरू बोकेर कैयौँ दिन जंगलै जगल हिँडे। जीवनभरको कमाइ दुइटा डोकोमा बोके। गाउँ छाडेको २० आँै दिनमा मात्रै उनीहरू नेपाल आइपुगेका थिए।

यो ३० वर्षमा न कुनै आधिकारिक परिचय बन्यो आशामतीको न त प्रमाणित कुनै कागजात। ८१ वर्र्षीया आशामतीले वृद्ध भत्तासमेत पाउँदिनन्। उनीहरू आउँदा जंगल फाँडेर बनाएको स्याउलाको घर अहिले बाँसको चोयाले अड्याइएको छ। रातोमाटोले लिपपोत गरेर चिटिक्क बनाइएको छ। अलिअलि रकम जम्मा गरुँभन्दा बैंक खातासम्म खोल्न पाइँदैन। आफ्नो नाममा घरजग्गा जोड्ने रहर अधुरै छ। नागरिकता अभावमा जग्गा पास गर्न सक्ने अवस्था छैन।

आशामती भन्छिन्, ‘उमेर ढल्किँदै गएपछि आफ्नाहरूको रहर लाग्ने र’छ। आफ्नो घर, आफ्नो सन्तान, परिवार। सानो होस् आफ्नै घरमा मर्न पाए पनि हुन्थ्यो।’ उनीहरूजस्तै धेरै भुटानी शरणार्थीले आफ्नोपनको आभाष गर्न पाएका छैनन्।

मोरङको पथरी शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरका अधिकांश घरमा वृद्धवृद्धा देखिन्थे। बाँसबाट बनेका अधिकांश घरमा ताला लागेको थियो। धेरै भुटानी शरणार्थी तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत विदेश उडिसके। परिवारको माया, विदेश जान नचाहने, भुटान फर्कन चाहने र केही अपांगता व्यक्ति भने पुनर्वासमा जान सकेनन्। उनीहरू शिविरमै अलमलिए। टाढिएका आफन्त र सन्तानसँगको पुनर्मिलनको आसमा बसिरहेका उनीहरू केही उदास र हतास देखिन्थे।

शिविरको पल्लो कुनामा ढुंगा खात लगाउँदै गरेको अवस्थामा भेटिएकी थिइन्, खोटाङकी अनिता भुजेल। उनी बिहे नगर्दासम्म नेपाली थिइन्। तर, भुटानी शरणार्थी केदारनाथ भुजेलसँग बिहे गरेपछि नेपाली नागरिक रहिनन्। उनको नाम पछाडि ‘भुटनिज’ जोडिएको छ। तर, उनलाई अहिलेसम्म थाहा छैन भुटान कहाँ छ र कस्तो छ ? उनी त्यहाँको नागरिक बन्न पाउँछिन् वा पाउँदिनन् ?

विराटनगर आफन्तकहाँ गएको बेला केदारनाथसँग भेट भएको थियो २० वर्षअघि। उही उनीहरूले मन साटे। मायाले परिचय र देश खोजेन उनीहरू एक भए। बिहेपछि उनको नेपाली परिचर गायवजस्तै भयो। बाबुआमा सानैमा गुमाएकी उनी दाजुभाइ र आफन्तसँग पनि सम्पर्कमा छैनन्। जन्मेको घरमा केही बाँकी छैन। परिवार जस्तै छिन्नभिन्न भयो उनको नेपाली परिचय पनि। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित