हामी छम्, हामी पाल्छम् भन्नुहुन्थ्यो ? तर उहाँहरू सम्सदमा नपुगुञ्जेल मात्र रहेछ ? दिलबहादुरका आमा बुवा

7
SHARES
15
VIEWS

जनयुद्ध शुरु भएको २०५२ सालको फागुन १ गते थियो तर दिल बहादुर रम्तेलको फागुन १४ गते तत्कालिन सुरक्षाकर्मिले मारेका थिए । सो समयमा विद्यालयका गुरुलाई माओवादीको आरोपमा पक्राउ गर्न खोज्दा उनले हाम्रो गुरुलाई लिन पाइन्न भनेर प्रतिरोध गरेका थिए । जनयुद्धका पहिलो शहिद दिल बहादुर रम्तेलका आमा सरीमाया र बुवा सेते रम्तलाई अहिले भने कसैले हेर्न सकेका छैनन । उनि संग अन्नुपूर्ण दैनिकका शिव उप्रेतिले लिएको अन्तरवार्ताको सारसंक्षिप्त :

तपाईंको नाम ?

सेते रम्तेल।

 अनि तपाईंको नि ?

सरिमाया।

कति वर्ष हुनुभयो ?

सेते  : ७६ लाग्याँ।

सरिमाया  : बूढा र म सात वर्षको फरक हो।

 कति वर्षमा बिहे भएको ?

सरिमाया  : मेरो त १३ वर्षमा।

 पहिल्यै चिनजान भएर हो कि बाबुआमाले दिएर बिहे गर्नुभा ?

सरिमाया  : (अलिअलि हाँसेर) पहिले काँ त्यस्तो जमाना थियो र अहिले पो मोबाइलले बिहे गर्दिन्छ।

 तपाईंसँग मोबाइल छ त ?   

सेते  : मसित छैन। (सरिमायातिर देखाउँदै) ऊसित छ।

 कति हो यहाँको फोन नम्बर ?

सरिमाया  : नम्बर त आउँदैन मुखाँ।

तपाईंलाई थाहा छ कि ?

सेते  : अहँ, आउँदैन।

 कसैलाई फोन गर्नुपर्‍यो भने कसरी गर्नुहुन्छ त ?

सरिमाया  : नातिनीले चित्र राखिदिएकी छ, त्यही चित्र हेरेर गर्ने।

सेते  : म त हेर्न नि जान्दिनँ।

 कति जनालाई चिन्नुहुन्छ त चित्र हेरेर ?

सरिमाया  : मोबाइलमा चित्र भए जति चिन्छु।

एक महिनामा फोनमा कति पैसा जान्छ होला त ?

सरिमाया  : चार-पाँच सय चाहिन्छ।

तपाईंहरूको पार्टीको नाम के हो ?

सरिमाया  : माओवादी हो।

सेते  : अहिले त हैन केरे।

सरिमाया  : ए, अहिले त एमालेमा मिल्यो भन्थे। एमाले हो।

प्रधानमन्त्री को छन् त अहिले ?

सरिमाया  : प्रचण्ड त हैनन्, बाहिरै छन्। खै, कुन्नि ?

राष्ट्रपति नि ?

दुवै  : खै त्यो त।

घरमा रेडियो छ ?

सेते  : छ।

 समाचार सुन्नुहुन्छ  :

सुन्दैनम्।

 टेलिभिजन छ ?

सरिमाया  : छैन।

 हेर्न मन लाग्दैन ?

सरिमाया  : लाग्छ, तर कहाँ गएर हेर्नु ?

 किन आफैंले नराख्नु भएको त ?

सरिमाया  : त्यो पनि पैसै बोल्ने हो। खै र पैसा ? खपेटो मात्र किनेर नि भएन।

छिमेकीको घरमा छ ?

रिमाया  : को छ र हाम्रो छिमेकी ? यतातिर सबै वनै हो। उताको त्यो घर नि उठ्यो। त्यो तलको घर नि उठ्यो। बीचमा थियो एउटा, त्यो पनि उठ्यो। भूकम्पको पैसा लिएर घर बनाए। तर कोही पनि बस्दैनन्। अहिले त वनको छेउमा हामी मात्र हो। छिमेकी पनि टाढा छन्। डाँडा काटेर जानुपर्छ। को जाने त्यति टाढा टीभी हेर्न भनेर ?

 पार्टीको के पदमा हुनुहुन्छ ?

सेते  : पदमा त छैन। तर बेलाबेला काठमाडौं, गोरखामा बोलाउँछन्।

०बाटो खर्च दिन्छन् ?

सेते  : टाढाटाढा बोलाए भने दिन्छन्।

छोरा दिलबहादुरको सम्झना आउँछ ?

सरिमाया  : आउँछ, दिनकै आउँछ नि।

 छोरालाई गोली लागेको त्यो बेला तपाईंहरू के गर्दै हुनुहुन्थ्यो ?

(सेते भीरमा चरिरहेको बाख्रा धपाउन जान्छन्।)

सरिमाया  : बूढा गाममा बरामको घर बनाउने मेलामा गाथे। झरी परिरहेको थियो। डम्मै कुहिरो लागेको थियो। म बिरामी भएर घरमै सुतिराथेँ। बाहिर कता हो, गररर गररर आवाज आइराथ्यो। माहिली बुहारीलाई ‘बाहिर हेर् हेर् के भयो’ भनेँ। बुहारीले ‘अँ त नि के भयो होला’ भनी। म बाहिर निस्केर सकिनसकी मैलुङतिर हेर्न गएँ।

बुहारी बाख्रा हेर्न गई। म पनि फर्केर आएँ। ठूली बुहारीलाई पनि ‘नानी कता के भएको हो, हेर् हेर्’ भनेँ। फेरि डाँडातिर हेर्न गएँ। पाल्खुको सूर्यज्योति स्कुलका वीरबहादुर मास्टरलाई प्रहरीले समातेर ल्याका रहेछन्। अनि त्यहाँका विद्यार्थीहरू पछ्याउँदै आका रहेछन्। अघिअघि पुलिस, पछिपछि विद्यार्थी। पाखै कालै रहेछ। यहाँ गैरामा आइपुगेपछि ब्रह्मचारिणी स्कुलका विद्यार्थी पनि पछि लाग्न थालेछन्। मेरो छोरो पनि ब्रह्मचारिणीमा पढ्थ्यो।

म फेरि फर्केर घर आएँ। बुहारीलाई ‘लौन लौन बेस्सरी पुलिस र विद्यार्थी ग्वार्रग्वार्र दुकुर्दै आएका छन्, के हुन लाग्या हो’ भनेँ।

त्यतिखेर मास्टरहरूले सम्झाइबुझाइ गरेर विद्यार्थीलाई भित्रै थुनेको भए हुन्थ्यो। विद्यार्थी पनि केही गर्न भनेर निस्केका त होइनन्। हेर्न निस्केका हुन्। तर पुलिसले बुझेन। उताबाट पनि विद्यार्थीले लखेटेका छन्। यताका विद्यार्थीले पनि छेकार काटे भन्ने सोच्यो होला। हाम्रा छोराहरू टौवामा बसेर हेरेका रहेछन्। माथि बाटोबाट बबङ र बुबुङ गोली छोडे। मास्टरहरू मुला, रायोबारीमा सर्लक्क सुतेछन्। टौवामा बसेको मेरो बाबु र अर्को बाबुलाई लागेछ।

म भीरभीरै हाम्फाल्दै पुगेँ। (दुवै आँखाबाट बर्रर आँसु बहाउँदै) सबैले घेरा हालिसकेछन्। म छोराको मुख हेर्छु भनेर पुग्नासाथ ‘ए आमा, म मरेँ, लौन मलाई कहाँ लाने हो’ भनेर एक्कै बात भनेको थियो, त्यसपछि बोलेन। (भक्कानो फुट्यो। निकै बेर रोइन्। सरी, सरि आमा।)

बाबुलाई उठाएर गोरखा लाने भनेर लगेछन्। बाउ घर बनाउने काममा गा’थे। कोले खबर दियो कुन्नि, बा पनि गाथे भन्थे। म यहाँ घरमा आएर बुहारीलाई के भनेँ कुन्नि ! पछ्यौरा पनि ओढेँ कि ओढिनँ ! त्यत्तिकै हुर्रिएर पछिपछि वनवनै छाँटिएँ।

तालखोलामा पुगेपछि बेस्सरी ठूल्ठूलो गेडा असिना पर्न थाल्यो। असिनाले चुट्दा पनि थाहा पत्तो भएन। माइताँ पुगेछु। घ्याम्पेसाल अस्पतालमा लगेका रहेछन्। मलाई जान दिएनन्। अस्पतालले निधो दिएछ। त्यहाँबाट पनि गोरखा लगेछन्। त्यसपछि के भयो, मलाई था पत्तो भएन। तीन दिनपछि माइला दाइहरूले मलाई घरमा ल्याइदिएछन्। सँगै जान सकिएन। बाँच्नैपर्ने रहेछ।

(केहीबेर गला अवरुद्ध।)

त्यसपछि म तीन वर्षसम्म मूच्र्छा पर्ने, ब्युँतिने भइरहेछु।

तीन वर्षसम्म यो घरमा को आयो, को गयो म केही थाहा पाउँदिनँ।

सँगै जान नसकिने रहेछ। बाँच्नैपर्ने रहेछ। आफ्नो मनलाई आफैंले सम्झाएर हिँड्छु हिँड्न त। तर दिनमा एक पल्ट, दुईपल्ट, तीनपल्ट नसम्झेको दिनै छैन।

 हामी पत्रकारहरू यसरी आएर सोधिरहेको मन पर्छ कि पर्दैन ?

सरिमाया  : तपैंहरू आएपछि झन् बल्झिन्छ।

पार्टीका मान्छेहरू आउनुहुन्छ ?

आउनुहुन्थ्यो पार्टीका मान्छेहरू। हामी छम्, हामी पाल्छम् भन्नुहुन्थ्यो। तर उहाँहरू सम्साथमा नपुगुञ्जेल मात्र रहेछ। सम्साथमा पुगेपछि त हामी जाबो, यस्तो जाबोलाई कसले सम्झिने ?

हुन त ज्यानको क्षतिपूर्ति-राहत भन्ने नै हुँदैन, तैपनि केही पाउनुभयो कि ?

सरिमाया  : खै दिनलाई दिया पनि हो। एकफेर एक लाख। फेरि दुई लाख। पछि फेरि पाँच लाख। सबै गरी १० लाख दियो। एकै लाख अड्कलेर दिएको चाहिँ घरखर्च गरेर सकियो। एकैचोटि दिएको पाँच लाख चाहिँ चितवनाँ लगेर जग्गा किनेको छ। त्यहाँ माहिलो छोराले कमाएको पैसाले एउटा झुप्रो बनाएर बसेको छ। बूढा पनि बूढै हुनुभयो। बूढाबूढीको हातगोडा चलुञ्जेल यहाँ बस्ने हो। एउटा छोरा छेपेटारमा छ। बोलाइरहन्छन् दुइटैले।

 दुई छोराहरू त लाइनमै छन् ?

सरिमाया  : दुइटै छोरा ठिकै छन्, त्यस्तो बिलाइनमा छैनन्। दु :खबिमार हुँदा छोराहरू आउँछन्।

 पार्टीले कत्तिको सम्झिन्छ ?

दुईफेर काठमाडौं बोलायो। फुटबल कार्यक्रम रैच। हामी बूढाबूढीलाई अगाडि लगेर राखेर खेल हेराए। हामी ‘खेल’ हेर्न बाँचेका रहेछम्। त्यहाँ खाए-बसेको खर्च दिए। गाडीभाडा दिए।

 पार्टीले गरेको काम कस्तो लाग्छ ?

सरिमाया  : भन्नुपर्ने त धेरै छ। तर भने नि काँटा छैन। अब तपाईंको छोराको नाममा तपाईंको घरको छेउमा पारक (सहिद स्मृति पार्क) बनाउने, सालिक बनाउने भने। यो डाँडो भत्काएर यहाँ फुटबल खेल्ने ठाउँ बनाउने, यहाँ धेरै मान्छेहरू आउँछन्। आउने जाने मान्छे बस्नलाई ठूलो घर बनाउने। तपाईंको घरलाई तारबार गरेर जोगाउने भने। तीन घण्टासम्म हामीलाई केरेर, चाहिँदो भनेर गा’का तर फर्केर आएका छैनन्। बोल्न नसक्दा पनि हामीलाई क्यामराले खिचेर गा’का मान्छे। अहिले अहँ, बूढाको नम्बर, मेरो नम्बर पाँच सय जनाले हालेर लगेका होलान् तर वास्ताव्यस्ता छैन।

अहिले त सुन्छु, मेरो छोराको स्मृति (स्मृति पार्क) कहाँ कहाँ डाँडा कटाएर लाने रे। मेरो इच्छा यसै पूरा भएको छैन, उसै भएको छैन। अब पार्टीलाई दु :ख पोख्ने कुरा पनि केही छैन। के दु :ख पोख्नु छ र ? दु :ख पोखेर यहाँ कस्को के भएको छ र ? त्यही पार्टीले मेरो छोराको स्मृति ह्वाँ पुर्‍याइद्या हो। त्यही विष्णु भट्ट (गाउँपालिकाको अध्यक्ष), त्यही बाबुराम रम्तेलले यहाँबाट सरुवा गरेका हुन्।

कति बाँचिएला र ?  मेरो परान पनि यहीँ जान्छ। म बाँचुञ्जेल मेरो छोराको स्मृतिमै कुरेर बस्छु। म मरेर गए पनि छोरी ल्याएर राखेको छु। उसको भाइको स्मृति उसैले कुरेर बस्थी भनेको, त्यो पनि भएन। गुड (सक्खर-भेली) का डल्ला देखाएर इँटा डल्लाले हानेर गए।

फागुन लागेपछि अलिअलि खोज्थे। छोराको मृत्युशोक मनाउनलाई १४ गते, १४ गते खोज्थे। त्यही पनि दुई-तीन साल भो छोडेका। अहिले त पार्टी पनि फुट्यो भन्छन्। के-के भयो भयो। हुँदै जाँदा माओवादी त हराउँछ होला है ?

(माओवादी हराइसक्यो। नेकपा एमालेसित मिलेर नेकपा मात्र भाको छ। यसो भन्न सकिएन।)

(चिन्तित हुँदै) माओवादी सिध्दिएला ? जहाँ एउटै पार्टी भनेर लागे, अब माओवादी सिध्याउनलाई यस्तो गरेका हुन् जस्तो लाग्छ।

 माया लाग्छ है आफ्नो पार्टीको ?

सरिमाया  : लागिहाल्छ नि। मेरो छोराले त्यसमै रगत बगायो। मेरो छोराको हत्यापछि धेरैको ज्यान गयो। मेरो छोरो पहिलो भाथ्यो। र पो ए, म पनि त्यसैमा लाग्छु, म पनि त्यसैमा लाग्छु भन्दै पछि धेरै मान्छे पार्टीमा लागे।

हुन त नेताले पनि लाइन छाडेका छन्। लोभमा लागेका हुन् कि जस्तो लाग्यो।

तपाईं त पहिलो सहिदको आमा हो नि।

सरिमाया  : हजूर।

के भन्नुहुन्छ त ?

सरिमाया  : म केही पनि भन्दिनँ। यो भन्दा पहिला पनि अर्ती त मैले जत्ति पनि दिएको हो। नेताहरू सबै आउँथे यहाँ। आमा, आमा भन्थे। के छ, कसो छ भन्थे। भनुञ्जेल ‘ल ल ल ल हुन्छ हुन्छ हुन्छ’ भन्छन्। अहिले कुर्ची ठटाउने ठाउँमा पुगेका छन्। उतै रमाएर बसेका छन्। हामीलाई वास्ता गर्न छोडे।

 फोन पनि गर्दैनन् ?

सरिमाया  : अहँ। साँच्चै कहाँ-कहाँ छन् तिनीहरू अहिले ?  थाहा होला नि सरलाई ?

 मलाई पनि धेरै त थाहा छैन आमा।

सरिमाया  : फेरि लडाइँ चल्छ कि जस्तो लाग्छ मलाई त।

 विप्लवहरूले ?

सरिमाया  : को हो विप्लव भनेको ?

 नाम सुन्नुभको छैन ?

सरिमाया  : अहँ छैन !

 लडाइँ कस्ले किन गर्लान् त अब ?

त्यो त थाहा छैन। तर कताकता फेरि लडाइँ चल्छ कि जस्तो चाहिँ लागिरहन्छ। खुट्टा तान्ने धेरै छन्। उस्ले उसको खुट्टा तानेको छ, उसले उसको तानेको छ। न माओवादीले भन्या कसैले मानेको छ। न उनीहरू मिलेका छन्। फेरि लडाइँ चल्छ जस्तो लाग्छ मलाई त।

(बाख्रा धपाउँदै सेते रम्तेलको प्रवेश)

 अहिले पार्टी कस्तो लाग्छ त तपाईंलाई ?

सेते  : देश बनाउनुभन्दा आफ्नै ऊ (? ) बनाउन थाले। अहिले त वास्ता पनि गर्दैनन्। अरु त आएनन्। यै गाउँपालिकाको अध्यक्ष पनि नआको अहिले एक वर्ष भयो। वास्ताव्यस्त छैन। पहिले पहिले कत्रो दु :ख गरें, कति खटें म। अहिलेका नेताहरू आफैंआफंै ठेकेदार भएर आफैंआफैं पैसा कमाउन थाले। प्रचण्डले हाम्रो शासन आएपछि जनताका छोराछोरीलाई यहीँ रोजगारी दिन्छम् भने। अहिले खै त रोजगारी ?

 अनि तपाईंलाई कस्तो लाग्छ ?

सरिमाया  : विकास त गरेका छन् नि। तर तीन करोडमा दुई करोड आफ्नै खल्तीमा। हाम्रो यहाँ केही विकास भा’छैन। लोभ चाहिँ देखाउने, तर काम नगर्ने। अरू ठाउँमा गरेका छन् कि त्यो चाहिँ थाहा छैन। नमुना बनाउने हुम् भन्थे। तर केको नमुना, कहाँको नमुना ? हामी मरेपछि गर्छन् कि ? नेताकै भण्डार भरिएको छैन होला, जनतालाई के हुनी ? खाऊन् जति खान्छन्। आफ्नै घर बनाऊन्। आफ्नै इष्टमित्र बनाऊन्। आफैं बनून्। मलाई त फेरि लडाइँ हुन्छ जस्तो लाग्छ।

अन्नपूर्णपोष्टका लागि रम्तेलका बुबाआमासँग शिव उप्रेतीले लिएको अन्तर्वार्ता ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित