हुम्ला। तीन वर्ष देखि ओछ्यानबाट उठ्न सकेका छैनन् ओमराज। घरको आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएको छ । प्यारालाइसिस भएर ३ वर्ष अगाडि ढलेका ताँजाकोट-३ रामा गाउँका ओमराज शाही उठेर हिंड्डुल गर्नु त के राम्रोसंग बस्न र बोल्न पनि सक्दैनन्, दिसा पीसाब गर्न पनि आमा बुवाको सहारा चाहिन्छ उनलाई ।
घरको आर्थिक अवस्था कमजोर हुँदा छोराको उपचार गर्न समस्या भएको ओमराजका बुवा काली बहादुर शाहीले बताए । छोरा बिरामी भएपछि घरमा भएका गाई गोरु बाख्रा र सम्पत्ति मात्र सकियो। छोरालाई सन्चो भएन, भएको सम्पत्ति मात्र सकियो। तीन वर्ष भयो ओछ्यानमा सुतेको यही बिरामीका कारण छोराले एसइई दिन नपाएको शाहीले बताए ।
आफूसँग छोराको उपचार गर्न बस्ने घर बाहेक केही नरहेकाले गाउँपालिकाकाले १० हजार रुपियाँ उपचारका लागि सहयोग गरेको भए पनि यसले केही नहुने भए पछि गाउँमा सहयोगी हातको याचना गर्दै बसेका छन् काली बहादुर ।
बाजुरा र मुगुसँग जोडिएको हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिका वडा नम्बर ३ को रामा गाउँका २० वर्षका युवक ओमराज शाही घरको आर्थिक अवस्था कमजोरीका कारण उपचार नपाएर घरको ओछ्यानमा पीडा सहेर बस्न बाध्य भएका छन्।
प्यारालाइसिसका कारण ओछ्यानबाट उठ्न र बोल्न नसक्ने शाहीलाई आर्थिक अवस्था कमजोर भएकै कारण उपचार हुन नसकेको कृष्ण मल्लले बताए । उपचारका लागि गाउँबाट नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरे पनि आवश्यक पैसा नभएकै कारण उपचार नगरेरै ओमराजलाई गाउँ फिर्ता ल्याएको मल्लले बताए । घरको आर्थिक अवस्था कमजोर भएकाले उपचार नपाएर उनको बिचल्ली भएको उनको भनाई छ ।
घरमा रहेका पशु बस्तु र भएको सम्पत्ति बेचेर छोराको उपचार गर्न नेपालगंज लगिएको भए पनि आर्थिक अभावकै कारण उपचार पूरा नभएर घर फिर्ता ल्याएको र विगत ३ वर्ष देखि खाना खुवाई दिने र बोकेर भित्रबाहिर गर्ने गरेको ओमराजका बुवा काली बहादुर शाहीले बताए ।
घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि कसैले पनि ऋण नदिने, घरको अवस्थाले उपचार गर्न सम्भव नभएपछि रुँदै सहयोगी निकायसँग आफ्नो छोराको उपचारका लागि शाहीले सहयोगको याचना गरेका छन् । ३ वर्ष देखि ओछ्यानबाट उठ्न नसकेका ओमराज शाहीलाई अहिले सहयोगी हातहरूको खाँचो रहेको छ ।
Discussion about this post