काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले तेजाब हमला अन्त्यका लागि उनले गरेको कामको प्रशंसा गर्दै यो अवार्ड प्रदान गर्न लागेको जनाएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा २४ फागुनमा यो अवार्ड प्रदान गरिने भएको छ।
अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री टोनी ब्लिङ्कनले भर्चुअल कार्यक्रमको आयोजना गरी यो अवार्ड प्रदान गर्ने अमेरिकी दूतावासले जनाएको छ।
यो अवार्ड प्रायः ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानवअधिकार, लैङ्गिक समानता र महिला सशक्तिकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मानमा प्रदान गरिँदै आएको छ। यसअघि यो अवार्ड पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि मलाला युसुफजाईलाई प्रदान गरिएको थियो। उनी नोबेल पुरस्कार विजेता हुन्।
दुई वर्षअघि एक किशोरको प्रेम प्रस्ताव अस्वीकार गर्दा मुस्कानमाथि तेजाब आक्रमण गरिएको थियो। अहिले पनि उनको उपचार जारी रहेको छ।
तेजाब आक्रमणमा परेकी मुस्कानले हिम्मत हारिनन्। उनले तेजाब आक्रमणविरुद्ध कडा कानुन र सजायका लागि प्रयास गरिरहिन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेपछि तेजाब हमलाविरुद्धको कानून ल्याउन आग्रह गरिन्। सरकारले अध्यादेशमार्फत कानुन ल्याएको छ।
यसका लागि मुस्कानले गरेको नेतृत्वदायी भूमिकाका लागि यो अवार्ड प्रदान गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। “नेपालस्थित अमेरिकी दूतावास मुस्कान खातुनलाई तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिने घोषणा गर्न पाउँदा हर्षित छ,” अवार्डको घोषणा गर्दै नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, “नेपालस्थित अमेरिकी दूतावासलाई उनको समर्थन र नेपालमा महिला तथा किशोरीहरूको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्नमा गर्व छ।”
नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पनि आज बिहान ट्वीट गर्दै खुशी जनाएका छन्। उनले मुस्कानलाई बधाई दिएका छन्।
Discussion about this post