काठमाडौं। सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिक हकदार ऋषि कट्टेल भएको तथा एमाले र माओवादी केन्द्रलाई पूर्ववतः अवस्थामा फर्काएसँगै मोरङ र नुवाकोटको पार्टी कार्यालयमा नेकपा (एमाले)को बोर्ड राखिएको छ ।
पुनःस्थापित नेकपा एमालेले पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेको हो । यो क्रम अब देशैभर चल्ने एमालेसम्बद्ध नेताहरुले बताएका छन् ।
विराटनगर–११ पाञ्चालीमा यसअघि नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यालय रहेको मदन स्मृति भवनमा फेरि नेकपा एमालेकै कार्यालय बनाइएको हो । ओली समूहका नेता कार्यकर्ता भेला भएर नेकपा एमाले मोरङ जिल्ला कमिटीको आयोजनामा पार्टी कार्यालयमा बोर्ड फेरिएको हो ।
यस्तै नुवाकोटमा सोमबार ओली पक्षले पार्टी कार्यालयमा रहेको नेपाल कम्युनिष्ट पार्टीको बोर्ड हटाएर एमालेको बोर्ड राखेका छन् । एक कार्यक्रमकाबीच विदुर नगरपालिका–४ मा रहेको पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएको अनेरास्ववियूका नेता विष्णु दाहालले जानकारी दिए ।
उनका अनुसार प्रदेश सभा सांसद केशवराज पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सांसद बद्री मैनाली, बिन्दा ढुंगाना तथा पूर्व मेयर कमानसिंह लामा लगायतको उपस्थितिमा पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएको हो ।
यसअघि पार्टी एकीकरणपश्चात नेकपाको बोर्ड राखिएको थियो । सर्वोच्चको फैसललाई सम्मान गर्दै जिल्ला कमिटी नुवाकोटले एमालेको बोर्ड राख्ने निर्णय गरेको बताइएको छ ।
Discussion about this post