डोल्पा । नेपाली कांग्रेस डोल्पाका सभापति अंगदकुमार बुढाले पार्टी कार्यालयको साइन बोर्ड उखेलेर फालेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कर्ण बुढा, डोल्पा कांग्रेसका बहुमत पदाधिकारी र सदस्यहरूको विशेष पहलमा सदरमुकाम दुनैमा पार्टी कार्यालय स्थापना गरिएको थियो ।
२०७७ असोज ७ गते स्थापना गरिएको पार्टी कार्यालयको साइन बोर्ड सभापति अंगदकुमार बुढाले आफ्नै नेतृत्वमा २–३ जना ‘सुण्डमुण्ड’ लगाएर उखेलेर लगेको आरोप कांग्रेसका स्थानीय नेता कार्यकर्ताले लगाएका छन् ।
सोमबार एमालेको युवा संघका केन्द्रीय सदस्य तेजेन्द्रबहादुर रोकायलाई पार्टी प्रवेश गराउने ठूलीभेरी नगरपालिका– १ मा सबै नेता कार्यकर्ता गएका बेला मौका छापेर सभापति अंगदकुमार बुढाले साइन बोर्ड निकालेर लगेको आरोप छ ।
केन्द्रीय सदस्य कर्ण बुढासहितका जिल्ला नेताहरूले मासिक १० हजार रुपियाँ तिर्ने गरेर घर भाडामा लिएका थिए । डोल्पा जस्तो दुर्गम जिल्लामा स्थापना भएको पार्टी कार्यालयको साइन बोर्ड निकाल्ने सभापति अंगदकुमार बुढाको चर्तिकला कांग्रेसीले रुचाएका छैनन् ।
डोल्पा कांग्रेसमा अंगदकुमार बुढा सभापतिमा निर्वाचित भएर आएपछि जम्मा दुई पटक मात्रै जिल्ला कार्यसमितिको बैठक राखेका छन् । पार्टीमा एक्लिदै गएपछि उनले कांग्रेसलाई निकम्मा बनाएको चर्चा छ ।
सभापति अंगदकुमार बुढाले पार्टी कार्यालय समेत नराखेपछि केन्द्रीय सदस्य कर्ण बुढासहित जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरूले असोज ७ गते पार्टी कार्यालय स्थापना गरेका थिए ।
पार्टी कार्यालय स्थापना गर्दा सभापति अंगदकुमार बुढाले असहयोग गरेका थिए ।
पार्टी कार्यालयको साइन बोर्ड उखेलेर लगेको विषयमा सोधिएको जिज्ञासामा सभापति अंगदकुमार बुढाले भने, ‘साइन बोर्ड लगेको मिलेको थिएन । झण्डा पनि मिलेको थिएन ।
त्यसलाई मिलाउन निकालेर लगेको हुँ । साइन बोर्ड मिलाएर फेरि पार्टी कार्यालयमा ल्याएर राख्छु ।’ उनले आफ्नाविरुद्ध केही नेताहरूले गलत कुराको प्रचार गरेको आरोप लगाए ।
सभापति अंगदकुमार बुढाले साइन बोर्ड उखेलेर फालेको उजुरी डोल्पा कांग्रेसका नेताहरूले केन्द्रीय कार्यालय सानेपामा मौखिक रुपमा उजुरी समेत दिएका छन् ।
चौतर्फी दवाव परेपछि सभापति अंगदकुमार बुढाले साइन बोर्ड पार्टी कार्यालयमै लगेर राख्न तयार भएका छन् । उनले मंगलबार साइन बोर्ड राख्ने प्रतिक्रिया दिएका छन् ।
Discussion about this post