बुटवल। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा उल्लंघन गरेर प्रहरीसँग विवाद गरेको भन्दै तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ ।
निषेधाज्ञा अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक सय रुपियाँ जरिवाना तिर्न नसकेका तीन जना कारागार चलान भएका हुन् ।
कारागार चलान भएकाहरूमा रुपन्देहीको मायादेवी गाउँपालिका–४ का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।
निषेधाज्ञा उल्लंघन गरेको भेटिएपछि सम्झाई बुझाई गर्दा प्रहरी टोलीलाई ड्युटीमा बाधा अबरोध पुर्याएको भन्दै कारवाही गरिएको डीएसपी थापाले बताए ।
‘नियन्त्रणमा लिइएका ७ जना पुरुष र एक महिलामध्ये पाँच जना पुरुषले भने नौ हजार एक सय र एक महिलाले ६ सय रुपियाँ जरिवाना तिरेर छुटेका छन् । जरिवाना तिर्न नसक्ने तीन जना एक महिना थुनामा पठाएको उनले बताए ।
मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले जरिवाना तिर्न नसकेका सर्वसाधारणलाई एक महिना थुनामा राख्नु प्रशासनको ज्यादती भएको बताएका छन् ।
Discussion about this post