साइपाल । वैशाख अन्तिम साता । साइपाल हिमाल बेसक्याम्पको मौसम धुम्म थियो । एकैछिनमा जोडले हावा चल्ने र हिउँ पर्ने । हावासँगैको हिमाली स्याँठले मुटु काम्ने गरी हिर्काउँछ । साइपाल आडैको औंलागाडमा लहरै टाँगिएका पालमा मानिसहरू फाट्टफुट्ट बाहिर निस्कन्थे । जाडो खप्न नसकेर एकैछिनमा फुत्त पालभित्रै छिरिहाल्थे ।
छेवैको चौरमा तीन केटाकेटी बेपर्वाह खेलिरहेका थिए । कठ्यांग्रिने जाडोले उनीहरूका गालामा राताराता डाम बसेको परैबाट देखिन्थ्यो । एकैछिनमा फेरि वेगको हावासँगै हिउँ पर्न थाल्थ्यो । सानी बालिका अत्तालिएर रुन थालिन् । केहीबेरमा दुवै हातमा पानीको बाल्टी बोकेकी एक महिला आइपुगिन् । बच्चाहरूलाई गाली गर्दै पालभित्र लगिन् । अँगेनाछेउ राखेर सानी छोरीको गाला र हात आगोले सेकिदिइन् । ‘एकैछिन छोड्यो कि बाहिर निस्किहाल्छे । कति बेला चिसोले कठ्यांग्रिएर मरेको फेला पर्छे भनेर चिन्ता लाग्छ,’ साइपाल गाउँपालिका–३ कायाकी २५ वर्षीया काजल गुरुङ भन्दै थिइन् ।
माइनस डिग्री चिसोको पर्वाह नगरी खेलिरहेकामध्ये दुई जना उनका छोराछोरी रहेछन् । पति चक्र, तीन वर्षको छोरो कालु र १४ महिनाकी छोरी आयुसा किरा (यार्चा) टिप्न घरमा ताला लगाएर औंलागाड आएका हुन् । उनीहरूको घरबाट औंलागाड पुग्न तीन दिन पैदल हिँड्नुपर्छ । बिहान ३ बजे उठ्नु, खाना पकाउनु, झिसमिसेमै खाएर तीन वर्षको छोरालाई नजिकैको अर्को पालमा (जहाँ उनकै उमेरका दुई अरू बच्चा छन्) छोडेर यार्चा खोज्न निस्किनु उनीहरूको दैनिकी हो ।
बिहान उज्यालो नहुँदै खाना खाइवरी दिउँसोको नास्ता पोको पारेर उनका पति दौंतरीहरूसँग चौकी वन लाग्छन् । काजलसँग फिदंमा अर्नी (नास्ता) को पोको र पिठ्युँमा छोरी पनि हुन्छिन् । उनीचाहिँ आफ्ना महिला साथीहरूसँग आड्याखोला वनमा किरा खोज्छिन् । समुद्र सतहबाट करिब ४ हजार २ सय मिटरको उचाइमा पाल हालेर बसेका गुरुङ दम्पती यार्चाको खोजीमा ५ हजार मिटरभन्दा माथिसम्म पुग्छन् । दुई जना मिलेर कहिले दिनमै १५/२० वटा भेट्टाउँछन् । कहिले ४/५ वटामै चित्त बुझाउनुपर्छ । कहिले त बूढाबूढी रित्तो हात नै पालमा फर्कन्छन् । बिहान झिसमिसेमा हिँडेको यो परिवार साँझ मात्रै पालमा फर्कन्छ । आफू हिमालका पखेरामा किरा खोज्न व्यस्त भए पनि काजलको मन भने पालमै हुन्छ ।
‘छोरी त मसँगै हुन्छे । छोरोले के गर्दै होला ? कतै चोटपटक लायो कि ? खेल्दैखेल्दै खोलातिर गएर केही भइहाल्यो कि ? भनेर चिन्ता लाग्छ,’ काजलले सुनाइन्, ‘ज्यान वनमा भए पनि सुर्ता यसैको हुन्छ ।’ वैशाखको अन्तिम सातादेखि औलागाड क्षेत्रमा यार्चा संकलकका पालहरू थपिने क्रम जारी थियो । बझाङका विभिन्न पालिका र जिल्ला बाहिरका मानिसहरू पनि धमाधम यार्चा संलकन क्षेत्रतिर ओइरिन थालेपछि काजल दम्पतीलाई ‘कतै कारोना सर्ने त हैन’ भन्ने अर्को चिन्ता पनि छ । तर, जतिसुकै जोखिम उठाएर भए पनि उनीहरू अबका दुई महिना यहाँ बस्नुको विकल्प छैन । सिजनमा किरा टिपेर दिने सर्तमा यार्चा व्यापारीको स्थानीय एजेन्टबाट यो परिवारले एक लाख रुपैयाँ पेस्की लिएको छ । ५० हजार गत वर्ष र ५० हजार यो वर्षका लागि ।
कोरोनाले गर्दा अघिल्लो वर्ष यार्चा संकलनमा प्रशासनले रोक लगाएका कारण पेस्की फर्छ्योट गर्न पाएका थिएनन् । उनीहरूले गत वर्षको पेस्की पनि यही वर्ष तिर्नु छ । ‘अघिल्लो वर्ष त किरा टिप्नै पाइएन भनेर ठेकेदारले पनि माफी दियो,’ चक्रले भने, ‘यो साल पनि किरा दिएनौं भने खाएको पेस्कीको डबल तिर्नुपर्छ । अरू आम्दानी केही छैन । जसरी भए पनि पेस्की त कटाउनैपर्यो, कोरोनाका डर मानेर भएन ।’ कोरोना महामारीका बेला नाबालकहरूसहित मानिसहरूको भीडभाडमा जाने रहर नभए पनि खाएको पेस्की तिर्ने आम्दानीका अरू स्रोत नभएकाले बाध्य भएर यार्चा टिप्न आएको उनले बताए ।
औलागाडबाट दुई दिनको पैदलबाटो पूर्वउत्तर हिँडेपछि साइपालकै अर्को यार्चा संकलन क्षेत्र माजा पुगिन्छ । चारैतिरबाट हिमालले घेरिएको यो सुन्दर उपत्यका यतिबेला यार्चा खोज्नेले टाँगेका पालले रंगीचंगी छ । आँखाले हेरी नभ्याउने बुकी पाटनहरू मानिसले भरिएका छन् । चारै हातखुट्टा टेकेर हराएको सियो खोजेझैं यार्चा खोजिरहेका मानिसहरू देखिन्छन् । पाँच वर्षका बालकदेखि ७० वर्षसम्मका वृद्धवृद्धा यहाँ भेटिन्छन् ।
सयौंको संख्यामा रहेको यो हुलमा तल्कोट गाउँपालिका–४ मल्लो स्याँडाकी ६५ वर्षीया जुना बुढा पनि मिसिएकी छन् । ११ वर्षको छोरा र ७ वर्षकी छोरीलाई साथै ल्याएर चार दिनको पैदल यात्रापछि उनको परिवार माजा आइपुगेको हो । उनका छोरी र छोरा पहिला पनि यहाँ आइसकेका छन् । जुना भने यस पटकमात्र संकलन क्षेत्रमा पुगेकी हुन् । माजा पुगेको आठ दिन भइसक्दासम्म उनले एउटा पनि यार्चा भेट्टाएकी छैनन् । खासमा उनी माजामा यार्चा पाउने आसाले भन्दा पनि नाबालक छोराछोरीको सुरक्षाका लागि आएकी रहिछन् । वसन्तप्रताप सिंहले कान्तिपुर दैनिकमा खबर लेखेका छन् ।
Discussion about this post