नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानको ‘रजत जयन्ती-२०३९’ को प्रकाशन माला नं. ३ मा प्रकाशित ‘आफैलाई पढ’ भन्ने कविताको माथिका पङ्क्ति पढेपछि नेपाल देश, बाहखरीका सबै अक्षर र मात्राहरूको संयोजन मिलाएर बसेको एउटा खुला पुस्तकको रूपमा भेटिन्छ।
अहिले प्रज्ञा-प्रतिष्ठान स्वर्ण जयन्तीको सङ्घारमा पुग्दा ती थुम्का, गाउँ र बेंसीहरू एकपल्ट पढी हेर्ने रहर पलायो। यही बेला कवि कालीप्रसाद रिजालले ‘हेलिकोप्टर उडेको रात’ राष्ट्रिय कविता महोत्सव-२०६२ को सन्दर्भमा ८ असारका दिन प्रज्ञा भवनमा वाचन गरे।
उनको त्यो कविता सुन्दा मेरो जस्तै धेरैको हंस उड्यो होला। तैपनि ‘आफ्नो छातीलाई उत्खनन् गरेर’ एकपटक पढी हेरौं नेपाललाई।
साँच्चै नै नेपालको भूस्वरूपलाई नियालेर हेयौं भने विशाल हिमालयको कान्नानीको रूपमा महाभारत पर्वतलाई पाउँदछौं। पहाड-पर्वतलाई फेरो मार्दै बग्ने नदी र नालाहरू तर्कल्ले र बर्धन्ने झैं विभिन्न दिशामा छन्। टाढा क्षितिजमा देखिने धौलागिरि, मकालु र सगरमाथाको शिखरहरू कुनै अक्षरमाथि टाँगिएका मात्राहरूजस्तै डिकमारी बसेका छन्।
साँझ-बिहान यिनै क्षितिजबाट अस्ताउने र उदाउने सूर्यका शिरबिन्दुहरू बाह्रखरीकै अक्षरजस्ता छन्। तर यी बाह्रखरी विभिन्न विद्वानले विभिन्न किसिमले पढ्दछन्। फलस्वरूप आफ्ना रैथाने शब्द र स्थानीय सोचहरू विकृतिको भूमरीमा पर्न जान्छन्। जस्तो, डा. हर्कबहादुर गुरूङको ‘भोट प्रदेश’लाई गुरूयोजनाले उच्च हिमालभित्र गाभेको छ। त्यस्तै, मधेस र चुरेलाई सिवालिकमा रूपान्तर गरिदै छ।
भूस्वरूपका आधारमा जिल्ला छुट्याउँदा डोल्पा, मनाङजस्ता हिमालपारिका भोट प्रदेश पनि दार्चुला, कालीकोट र ताप्लेजुङजस्तै पर्वतीय जिल्लामा गनिन पुगेका छन्। पहाडी जिल्लाका श्रेणीमा पर्ने ३८ जिल्लाहरू पनि एकआपसमा बहुतै भिन्न छन्।
पर्वतबिना विश्वको तिर्खा मेट्न सम्भव छैन, स्वच्छ जलको मूल स्रोत पर्वत नै हो। पर्वत नै जलशक्तिको मूल कारण हो। जैविक विविधताको प्रमुख कारण पान पर्वत नै हो। पर्वतले नै विश्वको जलवायुलाई सुनियोजित गरेको छ।
तथापि सुर्खेत र सिन्धुली पहाडी जिल्ला बन्न पुगेका छन् भने उस्तै दाङ तराईमा वर्गीकृत छ। (२०७२ सालमा नयाँ संविधान जारी भएपछि नेपालमा ७७ जिल्ला बनाइए जसमध्ये २० हिमाली, २९ पहाडी, १८ तराईका, ७ भित्री मधेसका र ३ उपत्यकाका गरी वर्गीकरण गरिएको छ।)
नेपालजस्तो जटिल पर्वतीय देशको भूभागलाई स्थानीय पहिचान र रैथाने परिभाषामा आधारित विकास अवधारणा आवश्यक हुन्छ। नौलो परिभाषा र नयाँ वर्गीकरण प्रत्युपादक हुन सक्छ किनभने प्रकृतिले रचेको पर्वतीय भूस्वरूपको सर्वग्राह्य र सर्वव्यापी परिभाषा नै छैन।
सन् २००० को जून महीनामा फ्रान्सको आल्पस् पर्वतको अट्राँ र ग्रिनोबल शहरमा सम्पन्न विश्वभरिका पर्वत विशेषज्ञहरूको भेलाले पनि पर्वतको परिभाषा जुटाउन सकेन। उक्त गोष्ठी पर्वतको सर्वसम्मत परिभाषा सम्भव छैन भन्ने निष्कर्षमा पुगेर टुङ्गिएको थियो।
पर्वतको पहिचान त्यसको अस्तित्वमा निहित हुन्छ। सगरमाथा आरोहणका अथक आरोही जर्ज मेलोरीले बारम्बार एभरेस्ट आरोहण गर्न खोज्नुको रहस्य खोल्दै भनेको ‘किनभने त्यो त्यहाँ छ’ भन्ने वाक्यांश ‘त्यो’ को पूर्ण रहस्य, कहिल्यै उजागर भएको छैन। सायद हुँदैन पनि।
तर, एउटा कुरा भने निश्चित छ, पर्वतबिना विश्वको तिर्खा मेट्न सम्भव छैन, स्वच्छ जलको मूल स्रोत पर्वत नै हो। पर्वत नै जलशक्तिको मूल कारण हो। जैविक विविधताको प्रमुख कारण पान पर्वत नै हो। पर्वतले नै विश्वको जलवायुलाई सुनियोजित गरेको छ।
दक्षिण एसियाको सन्दर्भमा जलवायको चर्चा गर्दा सर्वाधिक महत्त्व मनसुनले पाउँछ। मनुसन के हो ? कहाँबाट आउँछ ? कहाँ जान्छ ? कसरी पानी बर्साउँछ ? धेरैका मनमा यस्ता प्रश्न खेल्दा हुन्। हुन पनि, मनसुनबिना सबै प्यासी नै बस्नुपर्ने हुन्छ।
जेठको खडेरी र घामले रॉकिएको जमिन, वर्षाको प्रतीक्षामा धैर्य गुमाएर छटपटिएका किसान, प्यासी उडानमा थकित काकाकुल, सुख्खाले स्वरै बसिसकेका भ्यागुता, सुकेका घाँसअगाडि टोलाएका मृग- सबै-सबैको प्रतीक्षामा मनसुन नै हुने गर्छ। मधेस, तराई र पहाडमा चारैतिर ‘हर हर महादेव पानी देऊ’ भन्दै किसानहरू चिच्याउँदछन्।
पूर्वी तराईमा पानी माग्नेहरू भ्यागुताको बिहे रचाउन विशेष कार्यक्रम सञ्चालन गर्छन् भने पश्चिम तराईमा वस्त्र फालेर नारीहरू बाँझो जमिन जोत्न होम्मिन्छन्। काठमाडौं उपत्यकामा मत्स्येन्द्रनाथको भोटो जात्रापछि पनि पानी नपरेमा इन्द्रको अनेक आराधना गरिन्छ। डडेलधुरा र डोटीतिर किसानहरू घटालबाबाको पुकार घन्काउँदै डाँडा-पाखा चहार्दछन्।
जेठको खडेरी र घामले रॉकिएको जमिन, वर्षाको प्रतीक्षामा धैर्य गुमाएर छटपटिएका किसान, प्यासी उडानमा थकित काकाकुल, सुख्खाले स्वरै बसिसकेका भ्यागुता, सुकेका घाँसअगाडि टोलाएका मृग- सबै-सबैको प्रतीक्षामा मनसुन नै हुने गर्छ।
मध्यतराईका मुसलमानहरू आकाशमुनि नमाज पढेर पानी माग्छन्। अर्थात् मेचीदेखि महाकालीसम्मका किसानहरू पानी मागेको माग्यै गर्दछन् र मनसुन आइपुग्छ मेघ र वर्षा लिएर। अनि धान रोप्ने हतारो र चटारोमा मेचीमहाकाली जुर्मुराउँछ। धान रोपाइँ हाम्रो नेपालीको सबभन्दा ठूलो महोत्सव हो। काठमाडौंका नेवारहरू यस कार्यलाई ‘सिनाज्या’ भन्छन्, अर्थात् ज्यान फालेर गर्ने काम। हुन पनि के तराई, के पहाड सम्पूर्ण किसानहरू ज्यानै फालेर रोपार, बाउसे र हलीका रूपमा तैनाथ हुन्छन्।
विश्वकै सर्वोच्च धान क्षेत्र कर्णाली भेकमा भने धान रोपाई पर्खन मिल्दैन। त्यहाँ चैतको १२ गतेभित्र रोपाइँ थाल्नैपर्छ। त्यहाँ पहिलेपहिले चैत १२ गतेसम्म परदेशबाट घर नफर्कका आफन्तलाई मर्यो भन्ने विश्वास गरिन्थ्यो भनिन्छ, “नमरेका भए फर्कने नै थिए।”
यसैगरी नेपालका अन्य क्षेत्रमा पनि गाउँका लाठेहरू असारमा सकी नसकी गाउँ पुग्छन्। धान रोपाईंको परम्परा, त्यसभित्रका विश्वास र अन्धविश्वासका कुरा, ज्ञानविज्ञान र प्रविधिको कुरा आदि सबैलाई प्रभावित गर्ने मूल तत्त्व वर्षा हो। मनसुन हो। विश्व जल परिदृश्यमा मनसुन त्यस्तो महत्त्वको प्राकृतिक प्रणाली हो, जसले विश्वका सर्वाधिक जनसङ्ख्या बसोबास गर्ने एसियालाई वर्षा प्रदान गर्दछ।
मनसुन शब्दको मूल अरबी भाषाको ‘मौसिम’ हो भने त्यसको अर्थ बतासको बेला भन्ने हुन्छ। हाम्रो मौसम शब्द पनि त्यही ‘मौसिम’बाट बन्न गएको बृहत नेपाली शब्दकोशले जनाएको छ। आफ्नो समयमा आउने र आफ्नै समयमा जाने बतासलाई मनसुन भनिन्छ।
समुद्रबाट बहेर आउँदा यसले वर्षा ल्याउँछ। हिन्द महासागर र बङ्गालको खाडीबाट वर्षा बोकेर आउने मनसुनलाई हिमालय पर्वतमालाले दक्षिण एसियाको आकाशमै रोकेर पगालिदिन्छ।
धान रोपाईंको परम्परा, त्यसभित्रका विश्वास र अन्धविश्वासका कुरा, ज्ञानविज्ञान र प्रविधिको कुरा आदि सबैलाई प्रभावित गर्ने मूल तत्त्व वर्षा हो। मनसुन हो।
हामीकहाँ वर्षा ल्याउने मनसुनलाई वैज्ञानिक दृष्टिले हेर्दा चारवटा प्राकृतिक कारणलाई बिर्सन मिल्दैन। प्रथमतः हामी उत्तरी गोलार्द्धमा छौं र सूर्य उत्तरायणको सीमा, कर्कटरेखा पुग्ने बेला (जून २१) सम्ममा एसियाली भूखण्ड बेजोडले तातिसकेको हुन्छ। तर, जमिन जस्तो हिन्द महासागर, अरब सागर र बङ्गालका खाडीसहितका जलखण्डहरू त्यतिविधि तातेका हुँदैनन्। किनभने पानीभन्दा जमिन छिटो तात्दछ र छिट्टै सेलाउँछ पनि।
जमिनको हावा जतिजति तात्छ, त्यति हलुका हुन्छ र माथिमाथि उड्न थाल्छ। यस्तो हुँदा जमिनमा हावाको चाप घट्छ र समुद्र सतहमाथि रहेको हावा जमिनतिर खिँचिन्छ। त्यो हावा दक्षिणबाट उत्तरतिर अर्थात् समुद्रबाट जमिनतिर बग्न थाल्छ।
पृथ्वी निरन्तर पश्चिमबाट पूर्वतिर फन्को मार्दै घुमिरहने हुनाले दक्षिणबाट उत्तरतिर बग्ने हावा दक्षिण-पश्चिम दिशाबाट वहन थाल्छ र भारतको पश्चिमी तटबाट भित्र घुसेर वर्षा गराउँछ (हेर्नुहोस्, नक्सा)।
मनसुनको यस मूल धारलाई दक्षिण-पश्चिम मनसुन भन्ने चलन छ। यसको एक हाँगा श्रीलङ्कातिरबाट बङ्गालको खाडी हुँदै उत्तरतिर लम्कन थाल्छ। हिमालयको पूर्वी छेउमा पुगेपछि मनसुनको यो धार पश्चिमतिर बग्न थाल्दछ। त्यसैले नेपाल पस्ने मनसुन दक्षिण-पूर्वी मनसुन हो।
मनसुनले मेघालयको चेरापुन्जीमा अत्यधिक वर्षा गराउँछ। विश्व अभिलेखमा सर्वाधिक वर्षा हुने यस थलोमा लगभग वार्षिक २६ हजार मिलिमिटर पानी पर्छ। नेपालको सर्वाधिक वर्षा हुने ठाउँ पोखरा (चार हजार मि.मि.) को भन्दा त्यहाँ ६-७ गुणा बढी पानी पर्छ। एकै दिनमा नौ सयदेखि एक हजार मि.मि. पानी परेको तथ्याङ्क छ त्यहाँ।
यसरी घनघोर पानी वर्षाउँदै पूर्वबाट पश्चिमतिर लम्कने क्रममा मनसुनी वर्षाको परिमाण पनि कम हुँदै जान्छ। नेपालको मेची अञ्चल (प्रदेश १) मा अधिक वर्षा हुन्छ र महाकाली अञ्चल (सुदूरपश्चिम प्रदेश) पुग्दासम्ममा वर्षाको मात्रा निकै घटिसकेको हुन्छ।
सामान्यतया मनसुनको बादल समथर जमिनदेखि पाँच किलोमिटरसम्मको उचाइमा एकत्रित हुन्छ। त्यसैले ८ किलोमिटर अग्लो हिमालय पर्वतश्रेणी पार गरी त्यो हिमालपारिका भोट प्रदेशमा पुग्न सक्दैन।
यथार्थमा भोटमा मनसुनी वर्षा नहुनु र मध्यएसियाको अत्यन्त ठन्डा बतास, नेपाल अथवा दक्षिण एसियाको आकाशमा पस्न नसक्नुको एउटै कारण हिमालय पर्वतशृङ्खला हो। यसले दुवैतर्फको हावालाई जताबाट आउने हो त्यतै रोकिदिन्छ।
पोखरामा ३५ सय मि.मि. वर्षा हुँदा जोमसोममा ३५० मि.मि. पनि पुग्दैन। दक्षिण पूर्वबाट आउने वायु र बादल अन्नपूर्णा र धौलागिरिको काखमा ठोक्किएर यतै वर्षा गराउन बाध्य हुन्छन्। कुन ठाउँमा कति वर्षा हुन्छ भन्ने कुराको निर्धारणमा पहाड र मुख्य भूमिका रहन्छ। अनि त्यस्तो भूमिका निर्वाह गर्न पहाड-पर्वत वन, वनस्पति र परिस्थितिले विशेष महत पुर्याउने गर्छन्।
आफ्नो समयमा आउने र आफ्नै समयमा जाने बतासलाई मनसुन भनिन्छ। समुद्रबाट बहेर आउँदा यसले वर्षा ल्याउँछ। हिन्द महासागर र बङ्गालको खाडीबाट वर्षा बोकेर आउने मनसुनलाई हिमालय पर्वतमालाले दक्षिण एसियाको आकाशमै रोकेर पगालिदिन्छ।
म्याग्दी र कास्कीपछि नेपालमा अधिक वर्षा हुने स्थानमा सिन्धुपाल्चोकको उत्तरखण्ड, अरूण उपत्यकाको नुम इलाका र झापा-इलाम क्षेत्र उल्लेख्य छन्। नेपालको कुनै भूभागमा वर्षभरिमा जति पानी पर्छ त्यसको ८० प्रतिशत असार, साउन, भदौ र असोजभित्रै परिसक्दछ। मनसुनको यस्तो स्खलनले गर्दा बाढी, पैह्रो र भूक्षयको प्रकोप बेहोर्नुपर्ने बाध्यता नेपाललाई छ।
मनसुनको वर्षा वर्षैभरि बाँडिएर बर्सने हो भने हाम्रो देशको स्वरूप, वातावरण र अर्थ प्रणाली भिन्नै हुनेथियो। तर यसो हुँदैन। पृथ्वीले सूर्यलाई घुम्ने वार्षिकी प्रक्रियामा सूर्य उत्तरायणको चरमसीमा, कर्कटरेखा पुगेर २१ जूनपछि फेरि दक्षिणतिर फर्कन्छ।
सेप्टेम्बरको २३ सम्म भूमध्यरेखातिर पुग्न जान्छ। त्यति बेला एसियाली भूखण्ड चिसिँदै जान्छ र हिन्द महासागरको पानी न्यानो भइसकेको हुन्छ। फलस्वरूप जमिनतिरबाट समुद्रतिर हावा बग्न शुरू हुन्छ। त्यसैले हाम्रो वर्षा या मनसुनको आयु चार महिना मात्र हुन्छ।
वर्षाको यस वितरणलाई ग्राफमा उतार्दा पहाड र हिमालका जस्ता नक्सा बन्छन्। देशभरि वर्षा वितरणको नक्सा बनायौं भने फेरि बाह्रखरीका कान्नानी र तर्कुल्लेहरू देखा पर्छन्। मात्रा र शिरबिन्दुहरू ठाउँठाउँमा निर्माण हुन्छन्। यस्तै विचित्रता हाम्रो नेपालको वास्तविकता हो।
नेपालका यी वास्तविकताहरू पढ्न र बुझ्न हामीले नेपालमा बसोबास गर्ने मानिस, नेपालका पहाड, पर्वत, तराई र मधेसको मौसमलाई जीवन्त राख्ने मनसुन वर्षाबारे गहिरिएर चिन्तनमनन गर्नुपर्ने हुन्छ।
धेरै ठाउँमा भनिसकिएका तर थोरै ठाउँमा मात्र लेखिएको एउटा तथ्य फेरि दोहोऱ्याउन मन लागेको छ। त्यो हो, नेपालको विकास निर्माणमा लाग्दा अङग्रेजी अक्षरका तीनवटा ‘एम’ (M) मा सूत्रबद्ध गर्नु वाञ्छनीय हुन्छ।
पहिलो ‘एम’ ले म्यान अर्थात् मानिसलाई, दोस्रो (एम) ले माउन्टेन अर्थात् पहाड-पर्वतलाई र तेस्रो ‘एम’ ले मनसुनलाई बुझाउँछ। यी तीन ‘एम’ को गतिशील रहस्य बुझेरै नेपाललाई चिन्नुपर्छ र पढ्नुपर्छ।
(डा. श्रेष्ठको यो लेख उनको पुस्तक ‘नेपालः नखुलेका पाटाहरू’ बाट साभार गरिएको हो।)
Discussion about this post