ओली रणनीति : नेपाललाई आए स्विकार्ने नआए मरिहत्ते नगर्ने

7
SHARES
15
VIEWS

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपालसहितलाई पार्टीभित्र ल्याउने गरी पुराना संरचना व्यूताउने निर्णय गरे पनि विवाद निरूपणमा शङ्का देखिएको छ ।

नेपाल समूहमा आएको विग्रह र प्याकेजमै सहमति गर्नुपर्ने नेपालभित्रको कट्टर समूहका कारण विवाद पुरै निरूपण हुनेमा शङ्का देखिएको हो ।नेपाल समूहका योगेश भट्टराईसहितको एउटा टोली यो निर्णयपछि एमालेको आगामी बैठकमा सहभागी हुने विश्वास ओली पक्षको छ ।

ओली पक्षको स्थायी कमिटीको बैठकको निर्णयपछि सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र घनश्याम भुसालसहित आन्तरिक गृहकार्यमा जुटेका भए पनि नेपाल पक्षले बुधवार राखेको स्थायी कमिटी बैठकमा ओलीले गरेको निर्णयबारे थप छलफल गर्ने गरी उठेका थिए ।

पार्टीका संरचनालाई जेठ २ अगाडिको अवस्थामा फर्काउने निर्णय गराएपछि नेपाल समूहभित्रका केही केन्द्रीय सदस्यहरूले यसलाई आफूहरूको जीतको रूपमा लिएका छन् । ‘मङ्गलवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय स्थायी कमिटी बैठकले पार्टी संरचनालाई २०७५ जेठ २ पूर्वको अवस्थामा फर्काउने निर्णय गरेर माधव नेपाल समूहलाई पार्टीभित्र आउने वातावरण तयार गरेको छ, यो हाम्रो समूहले उठाउँदै आएको मागलाई सम्बोधन गर्नु भनेको ओली झुकेको मान्नुपर्छ’, नेपाल समूहका एक नेताले भने ।

ती नेताका अनुसार पार्टीको पुरै संरचना फर्काउँदा पनि माधव नेपाल लगायतका केही नेताहरू पार्टीमा गएनन् भने नेपाललाई नै घाटा लाग्नेछ । नेता नेपाल पार्टीभित्र गएनन् भने घनश्याम भुसाल लगायतका केही नेताहरूले पार्टीबाट अलग भएर मार्क्सवादी स्कूल खोलेर बस्ने बताइरहेका छन् भने सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, छलफलमा रहेका छन्। गोकर्ण विष्ट, भीम आचार्यहरू जेठ २ मा पार्टी फर्काउने निर्णय स्विकार्दै पार्टीमै फर्कने विश्वास ओली समूहको रहेको छ । यस्तो अवस्थामा नेपालका सांसदहरू ओलीतिर जाने र नेपालसहित बनेको विपक्षी दलको गठबन्धनलाई आघात पुग्ने स्थिति सिर्जना हुनेछ ।

नेपाल समूहले पार्टीका संरचनालाई जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको थियो । २०७५ जेठ २ अगाडि फर्कने स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्न एमालेले पर्सि असार १८ गतेलाई केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको छ । तर बुधवार महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएर ओलीले औपचारिक रूपमा निर्णय गराउने भएका छन् । यसो गर्दा ओली पक्षले धेरै नेताहरू आफ्नो समूहमा आउने र नेपालले नयाँ दल बनाए पनि थोरै मात्रै नेता कार्यकर्ता जाने अनुमान गरेका छन् ।

खास गरी नयाँ वानेश्वरको संसद् भवनमा माधव नेपालले दिएको अभिव्यक्तिपछि ओली थप चिढिएका छन् । सञ्चारकर्मीहरूसँगको अन्तर्क्रियामा नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आइसकेको भए पनि आफूले शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता नलिने बताएका थिए । त्यसको प्रतिक्रियात्मक ओलीले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न आफूलाई बहुला कुकुरले नटोकेको बताएका थिए । दुवै नेताको अभिव्यक्तिले पार्टीको विवाद नमिल्ने सङ्केत देखिएको भए पनि सोमबार साँझ र मङ्गलवार दिउसो दुवै तर्फका नेताहरू बीच भएको छलफलपछि ओलीले साँझ आफ्नो समूहको स्थायी कमिटीको बैठक राखेर पार्टीलाई तीन वर्ष अघिको अवस्थामा फर्काउने  निर्णय गराएका हुन् । सो निर्णयपछि नेपाल समूहमा रहेका नेताहरूले पार्टीलाई विभाजित गर्नु हुँदैन भनेर भित्र भित्रै लबिङ सुरु गरेका छन् ।

अब बस्ने एमालेको केन्द्रीय कमिटी भने २ सय ६४ सदस्यीय नै कायम हुने भएको छ । २०७५ जेठ ३ गते बसेको एमालेको अन्तिम केन्द्रीय कमिटी बैठकले माओवादीसँग एकीकरण गर्नु पूर्व ४१ जना केन्द्रीय सदस्य मनोनीत गरेको थियो ।

ती केन्द्रीय सदस्यसहित एमालेका २ सय ४१ सदस्य र माओवादीको दुई सदस्य गरेर नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो । एमालेकै अन्तिम बैठकले थपेका सदस्य तथा सर्वोच्च अदालतको फैसलाबाट नेकपा भङ्ग भएपछि एकताको भावनाअनुसार एमालेमा समाहित भएका २३ जनासहितको केन्द्रीय कमिटी बैठक बस्नेछ । यद्यपि माओवादीबाट थप गरिएका २३ केन्द्रीय सदस्यलाई भने असार १८ गतेको बैठकमा बोलाइने नबोलाइने भन्ने बारे केही बताइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित