के हो मार्क्सवादी दर्शन ?

7
SHARES
15
VIEWS

मार्क्सवादी दर्शनका आधारभूत मान्यताको मूल तत्व नै द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद हो । मार्क्स र एंगेल्सले सधैंभरि जोड दिएको पक्ष सबै दर्शन व्यावहारिक हुनुपर्छ र वास्तविक संसारसित जोडिएको हुनुपर्छ भन्ने हो । यसलाई मार्क्सले उनको सुप्रसिद्ध भनाइ ‘दार्शनिकहरूले सधैंभरि विभिन्न तरिकामा विश्वको व्याख्या गरेका छन्, मूल प्रश्न यसलाई कसरी बदल्ने हो’ ले स्पष्ट पार्ने काम गरेको छ ।

मार्क्स जबसम्म यसलाई प्रयोगात्मक विश्वसँग जोडिँदैन तबसम्म सोचाइ र गहन चिन्तनमा कुनै अर्थ छैन भन्ने गर्थे । उहाँको आधारभूत अनुसन्धान कसरी विश्व बदलिरहेको छ भन्ने बुझ्नका लागि कोसिस थियो र यसरी वास्तविक अभ्यासमा सहभागी हुन र वर्तमान विश्व र समाजलाई बदल्नु थियो । उनी यसरी दर्शनमा इच्छा राख्थे, जसलाई सामाजिक अभ्यासमा लागू गर्न सकियोस् । यसका लागि मार्क्सले सबै दर्शनमा आधारभूत विभाजनलाई-आदर्शवाद र भौतिकवाद बीचमा भएको विभाजनलाई ध्यानमा राखेर अडान लिएका थिए । यो विभाजनले केही आधारभूत प्रश्नहरू जस्तै- आत्मा अथवा प्रकृति कुन प्राथमिक हो भन्नेबारे केन्द्रित गर्दथ्यो ।

तिनीहरू जसले आत्मालाई प्राथमिकतामा राख्छन्, तिनीहरू अध्यात्मवादी क्याम्पमा पर्दछन्, जबकि तिनीहरू जसले प्रकृतिलाई प्राथमिकतामा राख्छन्, ती भौतिकवादी क्याम्पमा पर्दछन् । अध्यात्मवादी एक वा अर्को प्रकारले धर्मसित जोडिएका हुन्छन् । अभ्यासको मानिस हुनुको नाताले मार्क्सले पूर्णरूपले धार्मिक विश्वासको विरोध गर्छन् । यो स्वतः स्पष्ट छ कि मार्क्स र एंगेल्सले भौतिकवादको क्याम्पमा मार्क्सवादी दर्शनलाई दृढतासँग स्थापना गरे । यसो गर्दा उनीहरू निश्चितरूपले त्यस समयका फायारवाख र अन्य भौतिकवादी दार्शनिकका लेखहरूबाट प्रभावित र त्यसबाट मद्दत लिने गर्नुहुन्थ्यो ।

यद्यपि फायारवाख र अन्य भौतिकवादी दार्शनिकहरू यान्त्रिक भौतिकवादी थिए, जसले प्रकृति र समाजलाई मेसिन (यन्त्र) को रूपमा वास्तविक परिवर्तन अथवा कुनै विकासबिना मेसिनजस्तै बारम्बार दोहोरिइरहन्छ भन्ने मान्दथे । मार्क्सले यान्त्रिक भौतिकवादलाई इन्कार गरे । किनभने यसले ऐतिहासिक परिवर्तन र विकासको कुनै बुझाइ नै दिँदैनथ्यो । यसका लागि माक्र्र्सले द्वन्द्ववादमा फर्कनुपर्ने थियो, जो गतिका सामान्य नियमहरूको विज्ञान हो । द्वन्द्ववादको सार भनेको चीज वा वस्तुहरूलाई आपसमा जोडिएका र अन्तरविरोधपूर्ण रूपको बुझाइ हो । द्वन्द्ववादले यसरी विकासको विज्ञान प्रदान गर्न सक्षम भयो, जुन मार्क्सलाई विश्व परिवर्तन गर्न आवश्यक छ भन्ने थाहा थियो ।

त्यस समयमा हेगेलको दर्शन र द्वन्द्ववादका नियमहरू (जसलाई मार्क्सले गहिरो अध्ययन गरेका थिए) युरोपमा एकदमै अगाडि बढेको थियो । तर हेगेलले विचारको क्षेत्रमा तिनीहरू लागू गर्न सकिने बनाउने गरेर एउटा आदर्शवादी तरिकामा उनका दार्शनिक नियमहरू विकास गरेका थिए । उनी आदर्शवादको क्याम्पमा पर्दथे र यो मान्न इन्कार गरे कि प्रकृति र भौतिक सामाजिक प्राथमिक हुन् र आत्मा र विचारहरू दोस्रो हुन् । उनले यसकारण स्वीकार गरेनन् कि उनको सोचको प्रणाली आफैंमा एउटा निश्चित चरणका लागि मानव समाजको विकासको उत्पादित वस्तु थियो, उनले यो बुझ्न चाहेनन् कि उनको सोचको नियम ती आफैंमा समाज र प्रकृतिको नियमहरूको परावर्तन थिए । यस प्रकार मार्क्सले भने ‘हेगेलको द्वन्द्ववाद, आदर्शवादी भएकाले टाउकाले टेकेर उभिरहेको थियो’ यसको अर्थ यो निरर्थक र अतार्किक थियो । मार्क्सले हेगेलको द्वन्द्ववादलाई ठीक दिशातर्फ माथि उठाए, खुट्टाले टेक्न लगाए ।

यसको अर्थ उनले यसलाई तर्र्कसंगत-भौतिकवादका आधारमा राखिदिए । मार्क्सले हेगेलको द्वन्द्ववादी नियमहरूलाई लिए र तिनीहरूलाई भौतिकवादी दर्शनको पद्धति दिए । यसरी उनले हेगेलको विचारको नियमहरूलाई पनि समाज र प्रकृतिका नियमहरूमा विकास गरिदिए । उनले यसरी द्वन्द्वात्मक भौतिकवादलाई सूत्रबद्ध गरे, जो मार्क्सवादी दर्शनको सारतत्व हो । द्वन्द्ववादलाई तर्कसंगत र भौतिकवादी आधार दिएर मार्क्सले यसलाई क्रान्तिको दर्शनमा बदलिदिए । मार्क्स र एंगेल्सले इतिहास र समाज अध्ययनका लागि द्वन्द्वात्मक भौतिकवाद अपनाए र यसरी इतिहासको भौतिकवादी अवधारणा पत्ता लगाए ।

इतिहासको भौतिकवादी अवधारणा-सामाजिक परिवर्तन र समाजलाई बुझ्ने एउटा नयाँ र क्रान्तिकारी मार्ग हो । यसले सामाजिक परिवर्तनहरू र राजनीतिक क्रान्तिहरूका आधार एउटा चलाख मानिसको दिमागको खोज नभई समाजभित्रका प्रक्रियाहरूका उपज हुन्छन् । यसले सबै क्रान्तिकारीलाई देखाउँछ कि सामाजिक परिवर्तन ल्याउने मार्ग परिवर्तन ल्याउने विचारहरू सूत्रबद्ध गरेअनुसार र समाजको बुझाइमा आधारित हुन्छ ।

इतिहासको भौतिकवादी अवधारणाको सुरुआत विन्दु भौतिक उत्पादक शक्तिहरू उदाहरणका लागि औजारहरू, मेसिनरी, सीप आदिको विकासको स्तर हो । मार्क्स भन्छन्, उत्पादक शक्तिहरूको विकासमा आउने चरणअनुसार हामी निश्चित उत्पादनका सम्बन्धहरू उदाहरणका लागि स्वामित्वका सम्बन्धहरू र उत्पादनका साधनहरूमाथि नियन्त्रण प्राप्त गर्दछौं । यसरी उदाहरणका निम्ति, पिछडिएको उत्पादन शक्तिहरू जस्तै- काठको हलो र हावा, हाते र पशुले चलाउने मिलहरूले हामीलाई सामन्ती सम्बन्धहरू दिन्छन्, आधुनिक उत्पादक शक्तिहरू जस्तै- टेक्टरहरू, हार्भेस्टरहरू आदिले जब तिनले व्यापकता लिन्छन्, उत्पादनको पुँजीवादी सम्बन्धहरू जनाउँछन्।

यी उत्पादनका सम्बन्धहरूले समाजको आर्थिक संरचना निर्माण गर्दछ वा समाजको आर्थिक आधार निर्माण गर्दछ भन्नेबारे मार्क्सको निम्न भनाइले स्पष्ट पार्छ । समाजको आर्थिक आधारको सबैभन्दा माथि सामाजिक चेतनाको निश्चित आकारसित एउटा कानुनी र राजनीतिक उपरी संरचनाको जन्म हुन्छ । अझ मार्क्सले जोड दिँदै भन्नु हुन्छ कि यो उत्पादनको रूप हो (उत्पादन शक्तिहरू र उत्पादनका सम्बन्धहरूको अस्तित्व) जसले सामान्यतः सामाजिक, राजनीतिक र बौद्धिक जीवन निर्धारण गर्दछ । यसरी उदाहरणका लागि उत्पादनको सामन्ती मोडले महिलामाथि र तल्लो जातिमाथि चर्को उत्पीडनको जन्म दिन्छ र एउटा अति गैरप्रजातान्त्रिक राजनीतिक प्रणालीलाई जन्म दिन्छ । उत्पादनको पुँजीवादी मोडले अर्कोतर्फ सामाजिक उत्पीडनलाई कम गर्दछ र केही पुँजीवादी प्रजातान्त्रिक अधिकारहरू प्राप्त गर्छ ।

उत्पादनका शक्तिहरूको विकासमा एउटा कुनै निश्चित चरणमा तिनीहरू विद्यमान उत्पादनको सम्बन्धहरूसित विवादमा आउँछन् । उत्पादनकामी पुराना सम्बन्धहरूले उत्पादन शक्तिहरूको विकासलाई रोक्न सुरु गर्दछन् । जबसम्म यी उत्पादन सम्बन्धहरू परिवर्तन हुँदैनन्, उत्पादन शक्तिहरूको विकास हुन सक्दैन । यो अवधि जब उत्पादनका सम्बन्धहरूले उत्पादक शक्तिहरूको विकासमा चेनहरूका रूपमा काम गर्न सुरु गर्न थाल्छन्, अनि यो नै सामाजिक क्रान्तिको युगारम्भको सुरुआत हो । क्रान्तिको आवश्यकता उत्पादनका सम्बन्धहरू परिवर्तनका लागि हो । त्यो भनेको समाजमा विभिन्न वर्गहरूबीचका सम्बन्धहरू हुन् । एकपटक जब यो हुन्छ र उत्पादनका सम्बन्धहरू अथवा धनसम्पत्तिका सम्बन्धहरू टुटेर जान्छन्, यो भनेको आर्थिक आधार परिवर्तन हुन्छ अनि सम्पूर्ण उपरिसंरचनामा हुने परिवर्तनले विल्कुलै छिटो मार्ग अपनाउँछ ।

इतिहासको यो भौतिकवादी अवधारणा मार्क्सवादको पहिलो महान् अन्वेषण थियो, जसलाई उहाँले १८४४-४५ मा सम्पन्न गर्नुभएको थियो । यो नै जग थियो, जसमाथि मार्क्सवादी सिद्धान्तका अन्य महान् खम्बाहरूको निर्माण गरिएका थिए । पछिका वर्षहरूमा मार्क्स र एंगेल्स र अन्य मार्क्सवादी शिक्षकहरूले मार्क्सवादी दशर्नलाई अझ बढ्ता विकास गर्दै जानुभयो । यद्यपि यसको सारतत्वमाथि भनिएजस्तै द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको आधारभूत सिद्धान्त नै रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित