धर्म भनेको केहो ?
धर्म एउटा संस्कृति हो । धर्म एउटा अलौकिक शक्ति माथिको विश्वास हो । अलौकिक शक्ति मान्ने कुरा व्यक्तिगत हुन सक्छ तर संस्कृति मान्नु पर्छ भन्ने सवालमा मार्क्सदेखि माओसम्मले स्वीकार गरेका छन् । हामीले पनि स्वीकार गर्नुपर्छ । हाम्रो संस्कृति नै हाम्रो पहिचान हो ।
धर्म भनेको अन्तरनिहीत गुणलाई धारणा गर्नु । उत्तरदायित्व बहन गर्नु । सत्मार्गमा हिड्नु प्रकृतिको नियमको पालना गर्नु हो । अर्को अर्थमा धर्म भनेको व्यक्तिको मानसपटलमा स्थाइ रुपमा बास गरेको विस्वास अर्थात अलौकिक शक्तिमाथिको विस्वास हो । धर्म भन्नाले दैवि शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वास र त्यस्ता शक्तिहरू सँग सम्बन्धित नैतिक आचरण, व्यवहार, मूल्य तथा मान्यता, सङ्घ संस्था, तथा पुरातन बिधिहरू पर्दछन् । कहिलेकाँही आस्था अथवा विश्वास जस्ता शव्द पनि धर्मकै अर्थमा प्रयोग गरिन्छन् । बृहद अर्थमा कसैले धर्मलाई ब्रम्हाण्ड र मानवको सम्बन्ध बारे सम्पूर्ण उत्तर मान्ने गर्दछन्। धर्म भनेको जिव वा मानवको स्वभाविक गुण हो। मानव सँस्कृतीको विकाश सँगै धर्मको अर्थ समाज र ब्यक्ति अनुसार फरक फरक पाइन्छ ।
धर्मले व्यक्तिलाइ सामाजिक प्राणिको रुपमा उभ्याउन सघाउ पुगाउछ । धर्मको गुण वा दोषका आधारमा मानिस एक असल र सदगुण प्राप्तिका लागि तल्लिन रहन्छ¸ साथै उ समाजको एक हिस्सा बन्न पुग्दछ । कतिपय सामाजिक नीति नियम धर्मको आधारमा तय भएका हुन्छन र यसैका आधारमा लिखित कानूनी दस्तावेज बन्नेज गर्दछन् । कुनै पनि मूलुकको धर्मका आधारमा उक्त मूलुकको कानून प्रभावित हुने गर्दछ । यस प्रकार धर्मले मानिसलार्इ चेतना भर्ने र अनुशासित बन्न प्रेरित गरेको हुन्छ । खास गरि हिन्दु धर्ममा व्यक्तिले गरेको कर्मको आधारमा फल प्राप्त गर्ने कुरा लार्इ महत्वका साथ ३ लोकको व्यवस्था गरेको छ¸ जुन यस प्रकार छन् पृथ्वी¸ स्वर्ग र नर्क ।
यदि कुनै पनि व्यक्तिले असल कृयाकलाप आफ्नो जिवनकालमा गर्दछ भने उसलार्इ स्वर्गको ढोका खुल्लै रहने अर्थात उक्त मनुश्य आफ्नो देह त्याग गरे पश्चात स्वर्गमा जाने जहाँ देवी देवता सँग उसको वास हुने कुरा उल्लेख गरिएको पाइन्छ । यसले गर्दा व्यक्ति एक असल आचरण सहितको नैतिकवान बन्न अभिप्रेरित गरिरहेको हुन्छ । यसै प्रकार यदि व्यक्तिको खराब कृयाकलाप अर्थात पाप कर्म गरेमा उक्त व्यक्तिको लागि नर्कमा मात्र देह त्याग पश्चात स्थान हुने हुदा नर्कमा ज्यादै दुख हुने त्यहाँ उसले मृत्यु पश्चात अत्यन्तै दु:ख प्राप्त गर्ने कुरा उल्लेख गरिनुले यसले मानिसले गर्ने खराब काम र आचरणमा निरुत्साहित गर्दछ । यसरी धर्मले पनि समाजलाइ बाँधेको हुन्छ ।
के हो ? सनातन हिन्दु धर्म:
सनातनको अर्थ शास्वत सत्य वा जसको कुनै सुरुवात र अन्त नै छैन भन्ने हो । हिन्दू धर्म वा सनातन धर्म (धेरै समयदेखि चलिआएको धर्म) जुन हालसम्म चलिआएको छ। हिन्दू धर्मको विशेषता यस भित्रका बिभिन्न आस्था र विश्वासका स्रोत हुन्। ९० हजार वर्षभन्दा पहिला यो धर्मको प्रारम्भ भएको थियो । रामायण, महाभारत र पुराणहरूमा सूर्यवंशी र चन्द्रवंशी राजाहरूको वंश परम्पराको उल्लेख उपलब्ध छ । यसका अतिरिक्त अनेक वंशहरूको उत्पति र परम्पराको वर्णनमा पनि हिन्दु धर्मको उत्पत्तिका विषयमा कुराहरु आएका छन् । आर्यहरूको सभ्यतालाई वैदिक सभ्यता मानिन्छ । पहिलो दृष्टिकोण अनुसार लगभग १७०० ईसा पूर्वमा आर्य अफगानिस्तान, कश्मीर, पञ्जाब र हरियाणामा बसोबास गर्ने गर्थे । त्यस बेला देखि नै उनीहरूका विद्वान् ऋषिहरु आफ्ना देवताहरूलाई प्रसन्न गर्नलाई वैदिक संस्कृतमा मन्त्र रचना गर्न थाले । पहिला चार वेद रचियो, जसमा ऋग्वेद प्रथम थियो । त्यस पछि यजुर्वेद, सामवेद, अथर्ववेद उपनिषद जस्ता ग्रन्थहरू आए । हिन्दु धर्मको उत्पत्ति वैदिक संस्कृतिबाट इशापूर्व २००० वर्षभन्दा पहिला भएको मान्यता छ । सङ्ख्याको हिसाबले यो विश्वको तेस्रो ठूलो । हाल विश्वमा हिन्दु धर्म मान्ने मानिसहरु १ खर्ब ५ अर्ब छन् । जस मध्ये ९६% दक्षिण एसियामा छन्। हिन्दू शास्त्रहरूलाई दुई भागमा बाँडिएको छ श्रुति र स्मृति । श्रुति भन्नाले वेद बुझिन्छ जुन हिन्दूहरूको धर्मग्रन्थ हो अथवा हिन्दूहरूको संविधान हो । स्मृतिअन्तर्गत इतिहास, पुराण, रामायण, महाभारत तथा विभिन्न स्मृतिहरू पर्दछन् । वेदको सार उपनिषद हो भने उपनिषदहरूको सार गीता हो।
गीता:
भागवतगीता अनुमानत आज भन्दा लगभग ५००० हजार बर्ष पहिला अर्थात कलियुगको आरम्भमा कुरुक्षेत्र नामको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका थिए । यो संजय र धृतराष्ट्रको संवादमा प्रश्नोत्तर प्रकारले लेखिएको छ यसमा १८ अध्याय छन् भने ७०० सौ पद्यात्मक संस्कृतश्लोक छन् । यसमा अनुष्टुप छन्दको अधिक प्रयोग भएको छ । स्तुति आदि पद्यमा अन्य छन्दको पनि प्रयोग गरिएको छ यसको प्रथम अध्यायमा अर्जुनले खेद व्यक्त गरेको हुनाले अर्जुन विषादयोग अध्याय भनिएको छ । यस्तै प्रकारले अर्जुन र कृष्णको संवाद अनुसार अन्य अध्यायको पनि नाम राखिएको छ यसमा एकेश्वरवाद, कर्म योग, ज्ञानयोग, भक्ति योगको अध्याय क्रम अनुसार सुन्दर ढंगले चर्चा भएकोछ । यो ऐतिहासिक ग्रन्थ महाभारतको भीष्मपर्व अन्तर्गत दिइएको उपनिषद हो यसमा अनित्य देह भन्दा नित्य आत्माको निरूपण गरिएकोछ। यसलाई मोक्ष ग्रन्थ पनि भनिएको छ ।
गीता उपदेश:
श्रीमद्भगवद्गीताको पृष्ठभूमि महाभारतको युद्ध नै हो । जस्तो प्रकारले एउटा सामान्य मानिस आफ्नो जिवनको समस्यादेखि डराएर निरास भएर आफ्नो कर्तव्य देखि विमुख हुन्छ र त्यसदेखि भाग्छ । त्यस्तै प्रकारले महाभारत युद्धको महानायक अर्जुन आफ्नो अगाडि आईपरेको समस्यादेखि डराएर आफ्नो क्षेत्रिय धर्मदेखि विमुख भए यो समस्या हरव्यक्तिलाई आइपर्ने समस्या हो । यसलाई प्राचीन ऋषिमुनिहरुद्वारा गहन विचार गरेर जून ज्ञान प्राप्त गरे त्यसलाई वेद भनियो । त्यही वेदको अंतिम भागलाई उपनिषद भनिन्छ । मनुष्य जीवनको विशेषता मनुष्यमा रहेको बौद्धिक क्षमता नै हो र उपनिषदमा निहित भएको ज्ञान मनुष्यको उच्चतम अवस्था हो यसबाट मनुष्य आफ्नो बुद्धिको सीमा भन्दा परको अवस्थालाई प्राप्त गर्छ त्यहि ज्ञानलाई औपनिषदिय ज्ञान भनिन्छ । त्यही ज्ञानलाई सामान्य अर्थात उपनिषदको कठिन अर्थलाई सामान्यरूपले दर्शाउन वेद व्यासले भगवद्गीता संक्षिप्त रूपमा प्रस्तुत गरेका छन् ।
गीता सार:
– किन व्यर्थै चिन्ता गर्छौ ? कोदेखि व्यर्थै डराउदछौ ? तिमीलाई कसले मार्छ ? आत्मा न जन्म लिन्छ न मर्छ ।
– जे भयो, त्यो राम्रो भयो । जे हुँदैछ, त्यो राम्रै हुँदैछ । जे हुनेछ, त्यो पनि राम्रै हुनेछ ।
– तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर । वर्तमान चलिरहेको छ ।
– तिम्रो के गएको छ र तिमी रुन्छौ ? तिमीले के लिएर आएका थियौ र तिमीले हरायौ ?
– तिमीले के पैदा गरेका थियौ र नाश भयो ?
– तिमीले केही लिएर आएका थिएनौ । जे पायौ, यहीँबाट पायौ । जति दियौ, यहीं नै दियौ । खालि हात आएका थियौ, खालि हात नै गयौ, जे आज तिम्रो छ, त्यो हिजो अरु कसैको थियो र भोलि अरु कसैको हुनेछ ।
-तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहेका छौ । यहीं खुसी नै तिम्रो दुःखको मूल कारण हो ।
– परिवर्तन संसारको नियम हो । जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो ।
– एक क्षणमै तिमी करोडपति बन्दछौ, दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ ।
-मेरो, तिम्रो, सानो, ठूलो, आफ्नो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ । तिमी आफू आफै भगवानमा अर्पित हौ यही नै सबभन्दा ठूलो सहारा हो ।
– जसले ईश्वरको सहारालाई जान्दछ, त्यो डर, चिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ । मान्छे जन्मिन्छ केहि समय यहि रहन्छ र मर्छ । त्यसैले तिमी आसक्ती रहित भएर काम गर जसले गर्दा तिमी बन्धन बाट मुक्त हुनेछौ।
-तिमीले जे गर्दछौ, त्यो भगवानलाई अर्पण गर्दै जाऊ¸ यसो गर्नाले तिमीले सधैंभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ ।
भौतिकवादीका विचारमा धर्म:
“धर्म अफिम हो” भन्ने दार्शनिक कार्ल मार्क्सको पृष्ठभुमि हेर्ने हो भने, तिनका पिताजि यहुदी धर्म बाट क्रिश्चियन धर्मान्तरण गरेका थिए। जुन क्रिश्चियन सम्प्रदाय मार्क्सका पिताले ग्रहण गर्नुभएको थियो, त्यो सम्प्रदाय अल्पसंख्यक र सिमान्तकृत भएकाले त्यसको सम्मान जर्मनिमा थिएन। जीवन पर्यन्त आफ्नो धार्मिक आस्थाको वचाउ/स्पष्टीकरण गर्दै बित्यो।
अल्पसंख्यक/सिमान्तकृत क्रिश्चियन सम्प्रदायमा मार्क्सको जन्म र दर्शन शास्त्रको बिद्यार्थी भएकैले जीवन पर्यन्त उनले समेत धार्मिक आस्थाप्रती आलोचना गरेरै बिताउनु परेको पृष्ठभुमि नै धर्मप्रतिको फरक सोच थियो। क्रिश्चियन र मुस्लिम क्रुषेडी तथा जिहादी संग ठ्याक्कै मेल खाने गरेर मार्क्सवादी दर्शन पनि हस्तक्षेपकारी अधिनायकवादी रहेकैले, कम्युनिस्टहरुले सत्ताप्राप्तिको उपाय हिंसात्मक हस्तक्षेप र निरंकुश स्वेच्छाचारी परिकल्पना मार्क्सले गर्नुभएको हो।
जसरी क्रुषेदी तथा जिहादी सभ्यतामा फरकमत, बिचार, सिद्धान्त, अवधारणाहरुको निर्ममताका साथ दमन हुन्छ। कम्युनिस्ट तन्त्रमा पनि फरक मत, दर्शन, सिद्धान्त, अवधारणाहरु अस्वीकार्य छन् र तिनको निर्ममताकासाथ दमन गरिन्छ भन्ने तथ्यको प्रमाण रसियन, चाइनिज, क्युवा, तथा भेनेजुएलाका कम्युनिस्ट क्रान्तिबाट प्रमाणित हुन्छन्। हाम्रो नेपालको २१ औ सताब्दिको बैज्ञानिक जनवादी क्रान्तिमा पनि फरक दार्शनिक आस्था भएकै कारण भौतिक सफाय गरिएको प्रमाणिक इतिहास दर्जभएकै छ।
धार्मिक आस्था भनेको हरेक व्यक्तिलाइ सदगुणी बनाउनु हो¸ मानिसलार्इ समाजप्रति उत्तरदायी बनाउनु हो¸ नैतिकवान बनाउनु हो¸ हरेक समाजका व्यवस्थाहरु लाइ मानवहितप्रति जिम्वेवार र जवाफदेही बनाउनु नै धर्म हो । धर्म भनेको पुरातन खराब सोच हो भन्ने हालका कतिपय: पढेलेखेका टपर्टुइया विद्वानहरुको रहेको छ । खाष गरि धर्म भनेको अफिम हो भनेर भन्नेहरु नै सनातन धर्मलाइ अगालिरहेको पाइन्छ । किनकि धर्म भनेको एउटा सानो संस्था मात्र नभएर यो सिदान्त हो¸ परम्परा हो¸ संस्कृति हो¸ समाजको पहिचान हो र समग्र व्यवस्था निर्माणको एउटा आधारस्तम्भ हो ।
लेखक:दुदेसिल्लो मा. वि. पलाता ८बेर्सैनको, कालिकोट प्रधानाध्यापक हुुनु हुन्छ ।
Discussion about this post