काठमाडौं । मलेशियाको क्वालालम्पूर शहरमा सुरक्षा गार्डको रुपमा काम गर्ने नेपाली युवकमाथि हातपात र दुर्व्यवहार भएको भिडियोको दुवैजना व्यक्ति सम्पर्कमा आएका छन्।
सुरक्षा गार्डमा काम गर्ने एक युवकमाथि हातपात भइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको व्यापक आलोचना भएको थियो।
त्यसपछि मलेशियास्थित नेपाली दूतावासले उक्त भिडियोमा रहेका दुवै जनाको बारेमा थप विवरण भए उपलब्ध गराउन सार्वजनिक अपिल गरेको थियो।
दूतावसले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मोबाइल भिडियोमा देखिएको घटनाका पीडित र पीडक दुवैजना सम्पर्कमा आएको जानकारी दएको छ। दूतावासले दुवैजना नेपाली नागरिक रहेको र पुष्टि भएको जनाएको छ।
“दूतावासले आह्वान गरे अनुसार उक्त घटनाका पीडित पीडक दुवैजना राजदूतावासको सम्पर्कमा आउनुभयो। दुवैजना व्यक्तिहरू नेपाली नागरिक भएको कुरा पुष्टि भएको छ,” दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, “पीडित ईस्लाम हुसेन नवलपसारीका र पीडक राम गोपाल मुराउ कपिलवस्तुका स्थानीय बासिन्दा हुन्। मलेशियाको अध्यागमन कानून अनुसार पीडित र पीडक दुवैजना मलेसियामा अवैधानिक अवस्थामा रहेको देखिएको छ।”
दूतावासले घटनास्थल मलेशियाको क्वालालम्पूरस्थित एम थ्री मल भएको र पीडित सेक्यूरिटी गार्ड र पीडक सुपरभाइजरको रुपमा कार्यरत रहेको जनाएको छ।
यस विषयमा क्वालालम्पूरको वाङ्सामाजुस्थित प्रहरी स्टेशनले थप अनुसन्धान गर्ने पनि दूतावासले जानकारी दिएको छ।
Discussion about this post