हजारौं पैतालाले
किचिएको-
कुनै एक चौडा सडकमा
मसिनो धुलोको कण जस्तो
म एक लाचार समय बाँचिरहेछु
हरेक ब्युझनमा
आँखा अगाडि पर्खिरहेछु
पेट टन्न अघाएर डकारेको पल
पृथ्वी टेक्न हतारिएको
एक भ्रुणको जस्तो-
म प्रत्यक यस्तै यी दिन बाचीरहेछु ।
ओहोर दोहोर गर्नेहरु
कोहि मोल बुझिदिन्छन कि सिक्कामा,
मेरो गरिबीको ?
थोत्रो कुच्चिएको
मेरो अनुहार जस्तै कचौरामा
म हरेक कोहि सङ
– आजको साझ मागिईरहेको छु ।
अँध्यारो बाच्नु पनि बडा भयावह हुने
रहेछ
म कुनै एक बिहान कुरिरहेछु
यसरी जन्मनुको उज्यालो पनि
झन डरलाग्दो हुनेरहेछ ।
म एक आरामदायी चिहान कुरिरहेछु
एक्लो छैन म यो दुनियाँमा
भोकले मलाई राम्ररी चिनेको छ
रोगले पनि –
बेला बखतमा हालखबर सोधिरहन्छ
दुःख पिडा त झन आफ्नै छिमेकि हुन
सधैं अंगालो हालेर बस्छन
अन्त नखोज मलाई मार्क्सवादीहरु हो
तिम्रै आलिसान घरका गेटहरुमा
मैलो च्यादर ओढेर –
म एक साम्यवादि समाज पढिरहेछु ।
(अर्जुन आर्चाय एक वाल साहित्यकार हुन )
Discussion about this post