काठमाडौं । नेपाली खेलाडीलाई आफ्नो क्षमता प्रमाणित गर्न सबैभन्दा ठुलो प्लेटर्फम दक्षिण एशीयाली खेलकुद साग हो । किनभने एशियाली खेलकुद र ओलम्पिक यात्रा नेपालका लागि अझै सहज भैसकेको छैन् । त्यसैले पनि करियरको महत्वपुर्ण उपलब्धिका रुपमा सागमा पदक जित्ने खेलाडीले राम्रो पुरस्कार पाउने गरेका छन् । सरकार, निजी क्षेत्र र संघले दिने आर्थिक पुरस्कार हेर्ने हो भने अरु देशको भन्दा नेपालमा बढी छ । त्यसमाथि जीवनभर प्राप्त हुने सम्मान त छँदैछ ।
१३ औं दक्षिण एशीयाली खेलकुद सकिएको एक वर्ष पुग्नै लागिसक्यो । तर अहिले पनि पदक विजेता खेलाडीले विभिन्न क्षेत्रबाट सम्मान पाइरहेका छन् । सागमा जित्दा आर्थिक उपलब्धी राम्रै हुने र सम्मान पनि भैरहने भएकोले नेपाली खेलाडीले सागलाई करियरको टर्निङ प्वाइन्ट मान्ने गर्छन् । त्यसो त दक्षिण एशियामै नेपाल ठूलो पुरस्कार दिने मुलुकमा पर्छ । मान–प्रतिष्ठासंगै दाम कमाउने सौभाग्यकै कारण खेलाडीहरु साग खेल्ने सपना देख्छन् ।
ठूला र विकसित राष्ट्रले खेलाडीका लागि राष्ट्रिय पुरस्कार जति राखेपनि त्यो खासै मतलब हुँदैन । किनकी त्यहाँ खेलाडीले फ्रेन्चाइजी प्रतियोगिताबाटै नाम र दाम कमाइरहेका हुन्छन् । तर नेपालमा भने त्यो तहको व्यवसायिकता विकास हुनसकेको छैन्। त्यसैले पनि खेलाडीले नाम र दाम कमाउन दक्षिण एशियाली खेलकुदकै भर पर्छन्। जसले गर्दा यसको महत्व बढेको हो ।
सरकारले १३ औं सागमा समूहगत तर्फका स्वर्ण विजेतालाई जनही पाँच लाख र एकल विधामा स्वर्ण जित्नेलाइ नौ लाख पुरस्कार दिएको थियो । नेपालभन्दा ठूलो र सम्पन्न छिमेकी देश भारतले भने स्वर्ण विजेतालाई एक लाख पचास हजार दिने घोषणा गरेका थियो। यस्तै श्रीलंका, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र भुटानले पनि नेपाल भन्दा धेरै दिएनन् । किनभने त्यहाँ पनि खेलाडीका लागि आयस्रोतका धेरै विकल्प छन् । नेपालका लागि भने साग नै खेल क्षेत्रको अहिलेसम्मको सबैभन्दा ठुलो प्लेटर्फम हो । त्यसैले खेलाडीहरु सागको आयोजना समयमै होस र जित्न सकियोस् भन्ने चाहन्छन् ।
Discussion about this post